प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्नैप्रश्न

प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्नैप्रश्न

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने प्रश्नैप्रश्नले घेरिएका छन्। प्रमुख सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जानकारी पाउने संसद्को विशेषाधिकार हनन भएको बताएको छ। एमालेले भारत भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेको छ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर सोमबार बेलुकी स्वदेश फर्किएका हुन्। मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी दिने सङ्केत नदेखेपछि एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले भारत भ्रमणबारे संसद्मा जानकारी गराउनु र सांसदहरूले जान्न पाउने विशेषाधिकार भएको बताए। सांसद पन्तले भ्रमणका उपलब्धि मिडियाबाट थाहा पाउनु पर्ने हो? भनेर प्रश्न गरे।

उनले भारतको नेपाल नीति प्रस्ट भए पनि नेपालको भारत नीति प्रस्ट नभएको बताए। सांसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा सब ठिकठाकजस्तो देखिए पनि सीमा समस्या, इपीजी लगायत भारतसँग थाती रहेका समस्याहरू जस्ताको त्यस्तै रहेको सुनाए।

प्रतिपक्षी राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डलाई दिएको सम्मानमाथि प्रश्न उठाए। भारतीय प्रधानमन्त्रीलाई स्वागत गर्न नेपालमा तामझाम गरिएको तर नेपालका प्रधानमन्त्रीलाई भारतमा मुख्यमन्त्रीको हैसियत समेत नदिएकोमा उनले आक्रोश पोखे।

जीवी राई पक्राउ पर्ने कहिले?

सरकार भ्रष्टाचारका फाइल खोल्ने आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप पनि लागेको छ। वर्तमान सरकार गिरीबन्धु टी स्टेट, मेलम्ची, वाइडबडी, सहकारी प्रकरणका फाइल खोल्ने प्रतिबद्धताबाट पछि हटेको आरोप राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले लगाएका हुन्।

गिरीबन्धुमा एमाले र सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लागेको छ। फाइल खोल्दा सत्ता समीकरणमै गडबड हुने देखे पछि सरकार आफ्नै प्रतिबद्धतामा मौन बसेको छ। सर्वसाधारणको अर्बौँ बचत अपचलन गरेर फरार भएका गृहमन्त्री लामिछानेका बिजनेस पार्टनर जीवी राई अझै पक्राउ परेका छैनन्।

आकाशमा भए पनि पातालमा भए पनि पक्राउ गरेर ब्रेकिङ न्युज दिने बताएका गृहमन्त्री लामिछानेलाई प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद शाहीले जीवी राईलाई कहिले पक्राउ गर्ने हो? भनेर प्रश्न गरे।

अरूमाथि चोर औँला ठड्याउँदै आएका लामिछाने गृहमन्त्री बनेपछि प्रश्नबाट भाग्दै आएको आरोप लागेको छ। पहिलो पटक गृहमन्त्री बन्दा निर्मला पन्तका हत्यारालाई पक्राउ गरेर कारबाही गर्ने पहिलो निर्णय गरेका लामिछानेले दोस्रो पटक गृहमन्त्री बन्दा पहिलो निर्णय नै भुलेका छन्।

हरेक गृहमन्त्रीले निर्मलाको हत्यारालाई कारबाही गर्ने बताउँदै आएका छन्। तर हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्। राप्रपा सांसद शाहीले कति जना गृहमन्त्री फेरिएपछि निर्मलाको हत्यारालाई सजाय हुने हो? भनेर पनि सोधेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.