अध्यक्षमा माधवलाई रोक्ने झलनाथको दाउ

अध्यक्षमा माधवलाई रोक्ने झलनाथको दाउ

163
SHARES

काठमाडौं : नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले आइतबार महाधिवेशन गर्दैछ। प्रजा भवन कमलादीमा आइतबार साढे १२ बजे सुरु हुने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको समाजवादीले जनाएको छ।

त्यसअघि पार्टीका नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला भई जुलुससहित प्रज्ञा भवन पुग्ने कार्यक्रम रहेको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।

महाधिवेशनका लागि देशभरका जिल्लाहरूबाट आएका महाधिवेशन प्रतिनिधिले काठमाडौँका होटेल भरिभराउ भइसकेको उपमहासचिव डा गङ्गालाल तुलाधरले बताए।

महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुने भनिएको छ। समाजवादीले महाधिवेशनमा नयाँ मापदण्डअनुसार एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरूले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको छ।

महाधिवेशनको अघिल्लो दिन शनिवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले नेतृत्वको लागि दाबी रहेको आशय व्यक्त गरेका छन्। अध्यक्ष नेपालले पार्टीको महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने सङ्कल्प लिएको भन्दै सर्वसम्मत नेतृत्व चयन हुने बताए।

नेता नेपालले आफू सर्वसम्मत दोहोरिने आशय व्यक्त गरेपछि सम्मानित नेता खनालले सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने बताए। उनले नेतृत्वको विषयमा नेताहरुबीच छलफल चलिरहेको उल्लेख गर्दै चुनाव हुने सङ्केत गरे।

महासचिव भुसालले नयाँ वाम विकल्प दिने गरी पार्टीको नेतृत्व चयन हुने बताए। समाजवादी कार्यक्रम ल्याएर स्थापित गर्ने र मुलुकमा दशकौँसम्म वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिबद्धता उनले सुनाए। महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्ताबेजले कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने दाबी पनि गरे।

पार्टीको नामभन्दा माधवको नाम चलेपछि खनाल नेपाललाई अध्यक्ष बन्न नदिने मनस्थितिमा छन्। आफ्नो नाममा सहमति नजुटे चुनावमा घनश्यामलाई सघाउने रणनीति देखेपछि नेपालले सामान्य व्यक्तिले पार्टी चलाउन नसक्ने बताए।

समाचार शेयर गर्नुहोस्
163
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.