काठमाडौं : मनसुनी वर्षाले मानवीय र भौतिक क्षति पुर्याएको छ। शुक्रवार रातिदेखि निरन्तर पानी पर्दा आएको बाढी पहिरो र डुबानमा परी १४ जनाले ज्यान गुमाएका छन्। दुई दिनमा तीन जना बेपत्ता र १८ जना घाइते भएका छन्।
बाढीले ६ जना र पहिरोमा परी ९ जनाको मृत्यु भएको हो। स्याङ्जा, तनहुँमा तीन/तीन, पर्वत र काभ्रेमा दुई तथा काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक/एक जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार मनसुन भित्रिएदेखि आइतबारसम्ममा बाढी पहिरो र चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ। ९० जना घाइते भएका छन्। बाढी र पहिराले हालसम्म आठ करोड छ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
बाढी र पहिरोले मुख्य राजमार्गका २३ ठाउँमा सडक अवरुद्ध भएको छ। १७ स्थानमा एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पहिरोले ललितपुरको बागमती गाउँपालिका ३ स्थित कान्ति लोकपथ पूर्ण रूपमा बन्द छ भने रसुवा गोसाईंकुण्ड ५ स्थित बेत्रावती– हाकु –स्याफ्रुवेसी तथा स्याफ्रुबेसी–थाम्बुचेत सडक खण्ड पनि बन्द छ।
पूर्ण रूपमा बन्द रहेको सडक खण्डहरूमा नवलपुरस्थित कालिगण्डकी करिडोर, म्याग्दीस्थित बेनी–जोमसोम र बेनी–दरवाङ, मनाङको चामे–बेशिसहर रहेका छन्। बाढीका कारण सङ्खुवासभाको मकालुस्थित दक्षिण कोशी राजमार्ग र भोटखोलास्थित कोशी राजमार्ग, प्युठानको स्याउलीवा–बाग्दुला सडक वर्षाभरि नखुल्ने प्रहरीले जनाएको छ।
सोलुखुम्बुको सल्लेरी तामाखानी सडक पनि पहिरोले अवरुद्ध छ। रिडी–बागलुङ, कालीगण्डकी करिडोर, मदनभण्डारी, पाल्पा–अर्घाखाँची, शहीद राजमार्ग, सिमकोट–हुम्लाबाट नाम्खा जाने बाटो, सुर्खेत–दैलेख, जाजरकोट सडकखण्ड र साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा बन्द रहेका छन्।
प्रहरीका अनुसार बैतडीको बझाङ–खाड्पे –बैतडी, कालिकोटस्थित कर्णाली राजमार्ग, घोराही–तुलसीपुर, पाल्पा रामपुर र रम्भागास्थित काली गण्डकी करिडोर, सिद्धार्थ राजमार्ग, तम्घास–बुटवल र भालुवाङ–दाङ–प्युठान सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको छ।
सोमबारदेखि भने बर्खे झरी कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा मनसुनको सक्रियतामा कमी आउने र पानी कम पर्ने अनुमान विभागले गरेको हो। यद्यपि, सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।
सोमबारदेखि देशभर बाढीको जोखिमसमेत कम हुने विभाग अन्तर्गत बाढी पूर्वानुमान शाखाले जनाएको छ। यद्यपि, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाढीको जोखिम रहेको शाखाका हाइड्रोलोजिष्ट इन्जिनियर सुमित अधिकारीले बताए। बाँके र बर्दियामा पनि बाढीको जोखिम बढी रहेको उनले बताए।
अल्पमतको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढी पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका छन्। लगत्तै विपद्बाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरीले पनि नदी र खोलामा पानीको अत्यधिक बहाव बढेकाले नजिकै गएर फोटो तथा भिडियो नखिच्न अनुरोध गरेको छ। देशैभरि तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.