गृहमन्त्रीको आदेशमा मन्त्रालयका कर्मचारी पक्राउ

गृहमन्त्रीको आदेशमा मन्त्रालयका कर्मचारी पक्राउ

354
SHARES

काठमाडौं : भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। गृहमन्त्री र गृह सचिवको नाम लिएर विदेश पठाउन दबाब दिने विष्ट मन्त्रालयबाटै पक्राउ परेका हुन्।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रवार) थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका मन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृह सचिव अर्यालले उनलाई असार २५ गते सेवाबाट हटाएका थिए।

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्री लामिछानेले बिहीबार मन्त्रालयबाटै पक्रन लगाएका उनको सचिवालयले जनाएको छ।

भिजिट भिसामा गैरकानूनी रूपमा मान्छे पठाउने काम गरिरहेको आशङ्कामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रूपमा गृह मन्त्रालयमा कार्यरत थिए।

समाचार शेयर गर्नुहोस्
354
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.