काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका ज्येष्ठ व्यक्तिहरूले गम्भीर भेदभाव र उपेक्षाको सामना गरिरहेका छन्। मूलधारका मिडिया, चलचित्र र प्राइड परेड/गौरव यात्राहरू जस्ता कार्यक्रमहरूमा, ज्येष्ठ व्यक्तिहरूलाई छायामा पारेर प्रायः युवा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूमा ध्यान केन्द्रित गरिँदा उनीहरू चिन्तित छन्।
युवा हुँदा सबैको हाइहाइ, बुढेसकालमा बाइबाई भने जस्तो अवस्था समुदायका ज्येष्ठ नागरिकले भोगिरहेका छन्। युवालाई मात्रै केन्द्रित गर्ने र ज्येष्ठ नागरिकलाई बेवास्ता गर्दा गलत धारणाले प्रश्रय पाइरहेको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक वृद्धवृद्धाहरु समुदायको एक महत्त्वपूर्ण र बढ्दो सङ्ख्यामा रहेको वर्ग हो। तीमध्येका एक हुन्, ६७ वर्षीया भोपाली चौधरी। उनी भन्छन्,‘हामी सधैँ त्यहाँ थियौँ।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारमा प्रगति भए पनि, धेरै वृद्ध सदस्यहरूले आफ्नो परिवार र समाजबाट गम्भीर भेदभाव, उपेक्षा र हिंसाको सामना गरिरहेका छन्। जसले, तत्काल यौनिक तथा लैङ्गिक अल्पसंख्यकमैत्री वृद्धाश्रम र आवासीय व्यवस्थाको खाँचो उजागर गरिदिएको छ।
भोपाली (पहिचान जोगाउन नाम परिवर्तन गरिएको) आफूलाई तेस्रो लिङ्गीको रूपमा आफूलाई पहिचान गर्छिन् र ‘उनी’ सर्वनाम मन पराउँछिन्। उनले जीवनभर कठिनाइको सामना गरिन्। मधेस प्रदेशको सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा पुरुषका रूपमा जन्मिएका भोपालीले १३ वर्षको उमेरमा आफू महिला जस्तै भएको महसुस गरिन्।
भोपाली पुरुषप्रति आकर्षित भए पनि १६ वर्षको उमेरमा उनको विवाह एक महिलासँग गराइयो। भोपालीको लागि, आफ्नो गाउँमा भेदभाव, घृणा, उपहास र नकारात्मक टिप्पणीहरू सामान्य कुरा जस्तै बनेको थियो। उनले आफ्ना दुई छोराछोरी र श्रीमतीको परिवार पाल्न कडा मेहनत गरिन्।
अन्ततः उनी तीन वर्षअघि आफ्नो पहिचानको बारेमा खुलिन्। त्यसपछि सबै कुरा बिग्रियो। उनको कान्छो छोरा लागुऔषध र मदिराको लतमा फसेको छ। उसले भोपालीलाई कुटपिट गर्न थाल्यो। गत वर्ष नोभेम्बर ३ मा आफ्नो जेठो छोरासँग मद्दत मागे, तर उनले मौखिक रूपमा दुर्व्यवहार सहनु पर्यो। उनलाई एउटी महिलाको जस्तो व्यवहार गर्न छाड्न भनियो।
दुर्व्यवहार एक दिन हिंसात्मक झगडामा परिणत भयो, जसले भोपालीलाई घर छाड्न बाध्य बनायो। निराश भएर, उनले कोशी नदीमा हाम फाल्ने विचार गरिन् तर उनको साथीले बचाए। भोपाली दुई महिना अस्थायी रूपमा एक अर्का समलिङ्गी पार्टनरसँग बसिन् तर सामाजिक दबाबका कारण उनलाई छाड्नु पर्यो।
अरू कुनै विकल्प नभएका कारण, भोपाली अनिच्छुक हुँदा हुँदै पनि आफ्नै घर फर्किइन्। साथीले उनका छोराहरूलाई एक क्विन्टल चामल र आवश्यक चीजहरू उपलब्ध गराइदिएका थिए तर अवस्था सुध्रिएन।
‘म फर्केको एक महिनापछि मेरी श्रीमतीलाई पूर्णरुपमा पक्षाघात भयो। छोराहरूले आफ्नी आमाको जिम्मेवारी लिन अस्वीकार गर्दै, मलाई उनको हेरचाह गर्न र बचाउने उपाय खोज्ने जिम्मा दिएर छाडी गए। मसँग कुनै काम छैन र मेरो पहिचानको कारण काम पाउन पनि गाह्रो भइरहेको छ। म ६८ वर्षको नभएसम्म बुढेसकालको सामाजिक सुरक्षाको लागि योग्य हुनेछैन। छोराहरूले कुनै सहयोग गर्दैनन्’ भोपालीले दुखेसो गरिन।
भोपालीको टाउकोमा अहिले छत छ, तर उनलाई जुनसुकै बेला छोरा वा घरधनीले आएर निकालिदिने डरले सताइरहेको छ। दशकौँअघि उनका हजुरबुवाले जग्गा किनेका थिए, तर जग्गाको स्वामित्वको प्रमाणपत्र नदिइएका कारण अहिले जग्गा बेच्ने व्यक्तिका सन्तानले आएर हालको मूल्य अनुसार पैसा नदिए उनीहरूलाई त्यहाँबाट निकालिदिने धम्की दिइरहेका छन्।
‘म एक्ली भएकी श्रीमतीको लागि यहाँ बसिरहेको छु। वास्तवमा मलाई बुझ्ने र समर्थन गर्ने उनी मात्र थिइन्’ भोपालीले भनिन्। उनी आफ्नी श्रीमतीको मृत्युपछि वृद्धाश्रममा जाने योजना बनाइरहेकी छिन्, तर उनको पहिचानका कारणले वृद्धाश्रममा पनि आफूलाई स्वीकार नगर्ने चिन्ताले सताइरहेको छ।
यस्तो चिन्ता खपिरहेका भोपाली मात्र होइनन्। उनको जस्तै दुर्दशा नेपालका धेरै वृद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले भोगिरहेका छन्। कोशी प्रदेशको इटहरीकी ६१ वर्षीया सुधा चौधरी (नाम परिवर्तन) ले पनि यस्तै चुनौतीको सामना गरिरहेकी छिन्। ‘मेटी’ (महिला स्वभाव झल्कने पुरुषहरू र महिलाको पहिरन गर्न रुचाउने व्यक्तिहरू/नेपालको मेटी समुदायलाई तेस्रो लिङ्गी अन्तर्गतको एउटा समूह मानिन्छ) भनेर पहिचान गर्दै सुधाले आफ्ना छोरा र बुहारीबाट मौखिक र भावनात्मक दुर्व्यवहार सहेको बताइन्।
घुँडाको गम्भीर दुखाइका बाबजुद, बाँच्नको लागि सुधा, भारतीय सीमावर्ती सहर जोगबनीमा नेपाली खुद्रा बिक्रेताहरूका लागि कपडा बोक्ने काम गर्छिन्। व्यापारीहरूले भन्सार कर तिर्नबाट बच्न उनीजस्ता व्यक्तिहरूलाई भारतबाट थोरै मात्रामा सामान ढुवानी गर्न प्रयोग गर्ने गर्छन्। उनको काँधमा कान्छो छोराको विवाहका लागि लिएको ६ लाख रुपैयाँ ऋण छ, तर उनले छोराछोरीबाट कुनै सहयोग पाएकी छैनन्।
आफ्नै घर भए पनि सुधा सधैँको झगडा र दुर्व्यवहारजन्य शब्दका कारण छाड्न चाहन्छिन्। ‘म हरेक दिन मरेतुल्य हुन्छु। बिरामी पर्दा कसैले वास्ता गर्दैन। म यो घरमा फसेको महसुस गर्छु,यहाँ मलाई सधैँ महिला जस्तो व्यवहार नगर्न भनिन्छ’उनले भनिन्।
भोपाली जस्तै, उनी पनि वृद्धाश्रममा सर्ने विचार गरिरहेकी छिन्, तर उही दुर्व्यवहार र भेदभावको सामना गर्नुपर्ने डर उनमा पनि छ। ‘मेरो आफ्नै छोराछोरीले मलाई स्वीकार गरेनन्। त्यहाँका मानिसहरूले पनि घृणा गर्न सक्छन् भन्ने डर छ,’उनले भनिन्,‘म यस्तो सुरक्षित ठाउँमा बस्न चाहन्छु, जहाँ हामीजस्ता मान्छे सुरक्षित रहन सकौँ।’
सुधा विशेष रूपमा आफ्नो समुदायका मानिसहरूका लागि स्थापित वृद्धाश्रममा बस्ने सपना बुनिरहेकी छिन्। बहिष्कार एवं दुर्व्यवहारमुक्त, सुरक्षित र समलिङ्गीमैत्री वृद्धाश्रमको अभाव जस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक वृद्ध नागरिकहरूको आवश्यकतालाई सरकार र गैरसरकारी संस्थाहरूले सम्बोधन गर्ने सुधाको आशा छ।
सन् २०२० मा जन्डिस र कलेजोको समस्याबाट जीवनसाथीको मृत्यु भएपछि चितवन देवघाटकी ५५ वर्षीया सुकमाया मगरको जीवनले दुःखद मोड लियो। लेस्बियन (समलिङ्गी महिला) को हैसियतमा सुकमायाले तीन दशकसम्म आफ्नो साथी (पार्टनर) सँग व्यवसाय र जीवनको सहयात्रा गरिन्।
पार्टनरको मृत्युपछि, उनको जेठी बहिनीले सुकुमायाको संयुक्त सम्पत्तिमाथि दाबी गरिन्। सबै सम्पत्ति सुकुमायाको पार्टनरको नाममा मात्र थियो। ‘बैङ्क खातामा पहुँच नहुँदा मैले उहाँ (पार्टनर) बिरामी हुँदा उपचारको लागि पैसा समेत पाउन सकिन, किनभने बैङ्कलाई परिवारको सदस्य चाहिन्छ, तर म बैङ्क खातामा साथीको रूपमा मात्र उल्लेख भएकी थिएँ’ सुकमाया सम्झन्छिन्।
अहिले सुकमायासँग एउटा सानो फुसको घर मात्र बाँकी छ। जीविका चलाउन खेतहरूमा काम गर्दै आएकी उनी स्वास्थ्य समस्या, आर्थिक कठिनाइ र भावनात्मक थकानसँग जुध्दै सङ्घर्षपूर्ण जीवन बिताइरहेकी छिन्। ‘समलिङ्गी विवाहलाई कानुनी मान्यता नभएको कारणले, मेरो पार्टनरको सम्पत्तिमा मेरो कुनै दाबी थिएन र मलाई विपरितलिङ्गी विवाह गर्नेहरू जस्तो एकल महिला भत्ता दिन अस्वीकार गरिएको छ’ सुकमाया थप्छिन्।
सन् २०२३ नोभेम्बरमा नेपालले पहिलो पटक समलिङ्गी विवाहलाई मान्यता दियो। स्थानीय तहमा विवाह दर्ता गर्न पाउने सर्कुलर गरिए पनि अदालतमा गएर कोट म्यारिज गर्न असम्भव जस्तै छ। समलिङ्गी जोडीहरूका लागि एकल महिला भत्ता जस्ता मुद्दाहरू पूर्ण रूपमा नदेखिएको, नसुनिएको र एउटा टाढाको समस्या जस्तो बनाइएको छ। मैले आफ्नो हकका लागि नगरपालिका र अन्य ठाउँमा सहयोग मागेँ तर पाइनँ। मैले सबै कुरा गुमाएँ’ सुकमाया भन्छिन्।
नेपालको कानुनी ढाँचा, मुलुकी संहिता २०१७ को धारा १६० ले भेदभाव गर्न निषेध गरेको छ। यसअन्तर्गत दोषी ठहरिए, पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। ज्येष्ठ नागरिक ऐन २००६ ले ज्येष्ठहरूलाई आफ्नो परिवारदेखि अलग बस्न बाध्य हुनबाट जोगाएको छ र सम्मान बढाउनका लागि उनीहरूको सीप र अनुभवको प्रयोगलाई प्रोत्साहन गरेको छ।
तर यी सबै सुरक्षाहरूलाई प्रायः वृद्ध यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूसम्म विस्तार गर्न सकिएको छैन। यसले गर्दा उनीहरूले पारिवारिक अस्वीकृति र सामाजिक पूर्वाग्रहको सामना गर्नुपरेको छ।
लैङ्गिक अल्पसङ्ख्यकको माग : वृद्धाश्रम निर्माणदेखि पाठ्य सामग्री परिवर्तन गर्नेसम्म
मायाको पहिचान नेपालले २१ फागुन २०८० मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र बुझाएर समुदायका लागि वृद्धाश्रम निर्माण गर्न माग गरेको थियो। नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक ज्येष्ठ नागरिकहरूका लागि वृद्धाश्रम निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेको हो।
आफन्त विहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन मायाको पहिचान नेपालले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जो आफन्त विहीन छन् र अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेका छन्, उनीहरूका लागि वृद्धाश्रम निर्माण गर्ने,’मन्त्रालयमा कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बुझाएको पत्रमा लेखिएको थियो,’यौन पेसा छोड्न चाहने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका यौनकर्मीहरूलाई वैकल्पिक रोजगारी वा साना उद्योग व्यवसाय गर्नका लागि आर्थिक सहयोगका कार्यक्रम ल्याउने।’
तर, चालु आर्थिक वर्षको बजेटमा वृद्धाश्रमको माग सरकारले सम्बोधन गरे। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको वैवाहिक अधिकारका लागि कानुन बनाउन मात्र मन्त्रालयले बजेट विनियोजन गरेको छ।
भोपाली, सुधा र सुकमायाको दुर्दशाले समावेशी नीति र सहायता प्रणालीहरूको तत्काल आवश्यकता औँल्याएको छ। सुधा भन्छिन्, ‘हामी आफ्नो पेट भर्नका लागि कसैलाई गुहारिरहेका छैनौँ। हामी केवल एक सुरक्षित आश्रय र सम्मानपूर्वक बाँच्ने, कमाउने अवसर चाहन्छौँ।’
सुकमायाको साथी (पार्टनर) को मृत्यु कानुनी रूपमा उनीहरूको विवाह हुनअघि नै भयो। उनले आफूहरूको मिलनलाई आधिकारिक रूपमा मान्यता दिने दिन कहिल्यै देख्ने छैनन्। ‘अहिले, मलाई एक्लै मर्ने र मेरो शव नगाडी बेवारिसे छाडिदेलान् भन्ने डर छ। म सामाजिक सुरक्षा र समलिङ्गीमैत्री वृद्धाश्रमहरूमा समान पहुँचको आशा गर्दछु, ताकि म जस्ता मानिसहरू न्याय र भेदभावबाट टाढा बस्न सकुन्। अन्तिम क्षणहरूमा हेरचाह गर्ने कुनै व्यक्तिसँग साथ रहन सकियोस्’ उनले भनिन्।
काठमान्डु पोस्टमा प्रकाशित सामग्रीलाई स्रोतका रुपमा लिइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.