हवाई दुर्घटना : जिम्मेवार निकाय नै गैरजिम्मेवार, मन्त्री पाण्डे एक्सनमा

हवाई दुर्घटना : जिम्मेवार निकाय नै गैरजिम्मेवार, मन्त्री पाण्डे एक्सनमा

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विवादमा परेका छन्। दुई साताको अन्तरालमा दुई वटा हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको अभिव्यक्ति दिएर मन्त्री सुब्बा विवादमा तानिएका हुन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सिंहदरबारमा मन्त्री गुरुङ्गले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली आकाश सुरक्षित नभएको सन्देश गएको बताए।

नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा बुधवार हेलिकप्टर दुर्घटना हुँदा चिनियाँ पर्यटकसहित ५ जनाको मृत्यु भएको थियो। दुई साता अघि मात्रै त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक विदेशी सहित १८ जनाको मृत्यु भएको थियो। पाइलट भने बाच्न सफल भएका छन्।

सरकारले दुवै हवाई दुर्घटनाको जाँच गर्न आयोग गठन गरेको छ। पछिल्लो हवाई दुर्घटना एयरलाइन्स र पाइलटको हेलचेक्राईका भएको देखिएको छ। बादल लागेका बेला उडान गर्न कानुनले वर्जित गरे पनि पाइलटले जबरजस्ती उडान भर्दा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए।

महानिर्देशक अधिकारीको यो भनाइले नियमनकारी निकाय कानुन कार्यान्वयन गराउन अक्षम देखिएको पुष्टि भएको छ। जिम्मेवार पदमा रहेका महानिर्देशक अधिकारीले अरूलाई दोष थुपार्ने काम उचित नहुने क्याप्टेन प्रचण्डजंग शाह बताउँछन्।

क्यानको आर्थिक चलखेलका कारण दुर्घटना बढेको विज्ञहरूको दाबी समेत छ। नागरिक उड्डयन प्राधिकरण र विमान चालकले मिलेमतो गरेर इन्जिनको पार्टपुर्जा फेर्न पर्ने विमानलाई पनि आकाशमा उडाउने गरेकाले दुर्घटना बढेको क्याप्टेन प्रचण्डजंग शाहले बताए।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी यसअघिका मन्त्रीको समेत तारोमा परेका थिए। शक्तिकेन्द्र धाउन खप्पिस अधिकारीलाई पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुईदुई पटक स्पष्टीकरण सोधेका थिए। उनले मन्त्री किरातीको स्पष्टीकरण दिएनन्।

एकपछि अर्को हवाई दुर्घटना हुन थालेपछि जिम्मेवार निकाय क्यानका महानिर्देशक अधिकारी अहिलेका पर्यटन मन्त्री बद्री पाण्डेको पनि निशानामा परेका छन्। मन्त्री पाण्डेले नैतिकताका आधारमा राजीनामा दिन महानिर्देशक अधिकारीलाई भनेका छन्।

संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधानका लागि विज्ञहरूको छानबिन समिति बनाइ १५ दिन दिनभित्र सुझाव पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकले नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरूप कार्यान्वयन भए/नभएको सम्बन्धमा छानबिन गर्न भनेको सभापति राजकिशोर यादवले बताए।

हरेक हवाई दुर्घटनापिच्छे नै छानबिन समितिहरू बन्ने गरे पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार नआएको समितिको निष्कर्ष छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.