काठमाडौँ : हनुमानढोका अगाडि कालभैरवसँगै गाडिने यसिं (इन्द्रध्वज) भोटाहिटीमा राखिएको छ। गत शुक्रवार गुठियारहरूले बिहानैदेखि यसिं (लिङ्गो)तान्न थालेका थिए। त्यसै दिन यसिं भोटाहिटीमा ल्याइएको हो।
काठमाडौँ महानगरपालिकाका अनुसार २६ गते बुधवार बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइनेछ। भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिनेछ।
असोज १ गते मङ्गलवार कुमारी रथ यात्रा सुरु हुन्छ। यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ। यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ। असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ। असोज ५ गते शनिवार नानिचायात्रा हुन्छ। यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन्।
इन्द्रजात्राका अवसरमा लाखेआजु, आकाश भैरव, हलचोक भैरव (सव भकु), पुलुकिसी, देवी लगायत तान्त्रिक बिद्यामा आधारित नाचहरू हुने महानगरपालिकाले जनाएको छ। दशअवतार लगायत पौराणिक कथामा आधारित नाटक प्रदर्शन हुनेछन्।
इन्द्रजात्रा सञ्चालनका लागि विगत वर्षमा खर्च भएको तर निकासा दिन बाँकी रकम र यस वर्ष जात्रा सञ्चालनका लागि रकम निकासा दिने निर्णय येयाँ ११४४ (इन्द्रजात्रा २०८१) महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले गरेको छ। समितिका संयोजक आशामान संगतको संयोजकत्वमा प्रवक्ता नवीन मानन्धर, समितिका सदस्य भुवन लामा, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सहित पदाधिकारीको बैठकले रकम निकासा दिने निर्णय गरेको महानगरले जनाएको छ।
महानगरले यो वर्षको इन्द्रजात्रा सञ्चालनका लागि २३ लाख ९२ हजार रुपैयाँ छुट्टाएको छ। इन्द्रजात्रा सञ्चालनका लागि विगत चार वर्षदेखि निकासा नभएको रकम नै ५३ लाख भन्दा बढी रहेको महानगरपालिकाले जनाएको छ।
मेयर बालेन शाहले यो पटक सम्पदा संरक्षण विभागका प्रमुखको संयोजकत्वमा इन्द्रजात्रा सञ्चालन मूल समिति गठन गरेका छन्। जुन समितिमा जनप्रतिनिधिलाई आमन्त्रित सदस्य मात्र राखिएको छ।
महानगरपालिकाले बजेट निकासाको प्रक्रियामा गइसकेको जनाएको छ। इन्द्रजात्राका लागि रकम निकासाको प्रक्रियामा गइरहेको संयोजक संगतले बताए। इन्द्रजात्रालाई व्यवस्थित बनाउन आवश्यक सहयोग भइरहेको उनले बताए।
बैठकले असोज ३ गते महानगरपालिकाको आयोजनामा विशेष पूजासहितको परम्परागत नृत्य प्रदर्शन गर्ने निर्णय गरेको छ। लाखे आजु, पुलुकिसी, आकाश भैरव (सव भकु), महाकाली (प्याखं) सहितका परम्परागत नृत्य प्रदर्शन हुनेछन्। ‘कार्यक्रमका बारेमा जानकारी दिँदै प्रवक्ता मानन्धरले भने,‘जात्रा भित्रका अन्तर पक्षको प्रवर्धन र यस्ता मौलिक पक्ष बचाइ राख्ने समुदायको प्रोत्साहनका लागि हामीले विशेष पूजासहितको नृत्य प्रदर्शन परम्परा बसाउन खोजका हौँ।’
समितिका संयोजक संगतले परम्परा चलाउने हरेक गुठियारसँग नजिक पुगेर समस्या सुन्ने प्रयास गरेको बताए। ‘यस्ता जात्रा पर्वहरूको संरक्षण गर्ने स्थानीय तहको दायित्व हो,उनले भने,हामी समस्याको गहिराइमा पुगेर दिगो समाधान गर्ने प्रयासमा छौँ।’
जात्रालाई विशेष बनाउन महानगरले तयारीलाई तीव्र बनाएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.