भन्सार रहित सुविधाको निरन्तरताका लागि अमेरिकासँग छलफल गर्ने

भन्सार रहित सुविधाको निरन्तरताका लागि अमेरिकासँग छलफल गर्ने

128
SHARES

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखी आगामी दिनमा बढाउनका लागि भन्सार रहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन्।

महासङ्घ, तयारी पोसाक सङ्घ, नेपाल अमेरिका चेम्बर अफ कमर्स, युएसएड र निर्यात महासङ्घले संयुक्त रूपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार, लगानी अवसर र चुनौती विषयक कार्यक्रम उनले भन्सार रहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका हुन्।

अमेरिकाले सन २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सार रहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धी सम्झौता (टिफा) परिषद्को बैठक महत्त्वपूर्ण रहेको उनले बताए।

बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरूप अमेरिकासँग छलफल गर्ने बताए।

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको उल्लेख गरे।

नेपाल तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए।

नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए।

निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष शङ्कर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए।

नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो। यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो। तर हालसम्म कुनै उपलब्धि हुन नसकेको सरोकारवालाहरूले बताए।

हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरे। अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य हो।

समाचार शेयर गर्नुहोस्
128
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.