प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

196
SHARES

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य हुने दिन सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको अडानका कारण प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो। हिंसा शब्दलाई लिएर माओवादीले संसद् चल्न दिएको छैन।

सरकारले आइतबारको बैठक चल्न नदिए पछि बेलुकी बसेको मन्त्रिपरिषद् बैठकबाट अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ।

अधिवेशन अन्त्यको सिफारिस भइसकेकाले माओवादीको टोन डाउन भएको छ। माओवादीले सोमबारको बैठकमा आफ्ना कुरा राख्ने र सरकारको धारणा माग गर्ने बताएको छ।

भदौ १२ गतेको बैठकमा माओवादीको सशस्त्र सङ्घर्ष हिंसा भएको एमाले सांसद योगेश भट्टराईको अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

अधिवेशन अन्त्यको सिफारिससँगै माओवादी दोधारमा, अन्तिम बैठक चल्न दिने सङ्केत

संसद्को सोमबारको बैठकमा सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन पेस गर्ने तयारी गरेको छ। संसद्को सम्भावित कार्यसूचीमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेस गर्ने भनिएको छ।

प्रधानमन्त्री ओलीले सोमबार नै संवैधानिक परिषद्को बैठक बोलाएका छन्। साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक बस्ने ओलीको सचिवालयले जनाएको छ। संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न शुक्रवार बसेको बैठक कुनै निर्णय नै नगरी सकिएको थियो।

समाचार शेयर गर्नुहोस्
196
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.