सि.वि. लामाको बयान : सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने, कारागारबाट निस्किन मागे सहयोग

सि.वि. लामाको बयान : सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने, कारागारबाट निस्किन मागे सहयोग

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिमा कान्तिपुर सहकारी संस्थाका पूर्वअध्यक्ष सि.वि.लामाले आफ्नो नाममा भएको सम्पत्ति बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने बयान दिएका छन्।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामाले ऋण उठाउने र आफ्नो नाममा भएको सम्पत्ति बिक्री गरेर सहकारीको समस्या समाधान गर्ने बयान दिएका हुन्। उनले आफूलाई पुर्पक्षमा नराखी बाहिर निकाल्न समितिको सहयोग पनि मागेका छन्।

सहकारी सम्बन्धी व्यक्तिहरूलाई पुर्पक्षमा नराखी जाहेरीकर्ताहरूको माग बमोजिम धरौटी वा बैङ्क जमानत लिई वा घर जग्गाहरू रोक्का राखी बचतकर्ताहरूको बचत भुक्तानी सम्बन्धी प्रक्रियाको लागि अघि बढाई सहकारीको समस्या समाधान गर्नु पर्ने बयान लामाले दिएका छन्।

२०८१ साउन २६ गते शनिवार समितिको कार्यालय सिंहदरबारमा सि.वि.लामाले दिएको बयान :

सवाल : सहकारी ऐन र प्रचलित कानुन बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो?

सहकारी ऐन र प्रचलित कानुन बमोजिम नै सहकारी सञ्चालन गरेको हो।

सवाल : सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेसा वा व्यवसाय पनि छ?

सहकारी संस्था सञ्चालन बाहेक अन्य पेसा अन्तर्गत जि.वि.स. काभ्रेमा प्राविधिक सहायकको रूपमा र सञ्चारकर्मी रही २०५२ सालदेखि सहकारीमा आबद्ध रही आएको र व्यवसायमा पनि आबद्ध थिए। कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्समा अध्यक्ष थिए।

सवाल : तपाईँ मुख्य सञ्चालक रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा को–को हुनुहुन्छ/हुनुहुन्थ्यो?

पशुपति बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्षमा म आफै (सि वि लामा), उपाध्यक्ष सौगात दाहाल, सचिव हनुमान लाल श्रेष्ठ, कोषाध्यक्ष जीवनाथ पोखरेल, सदस्य उद्धव पाण्डे हुनुहुन्थ्यो। अन्य बारे जानकारी भएन। कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको हकमा संस्थापक अध्यक्ष राजेश श्रेष्ठ त्यस पछि म र लगत्तै हिमालय विक्रम मल्ल ठकुरी, सचिव जोगलाल लामा, कोषाध्यक्ष र प्रबन्ध सञ्चालक प्रेम ध्वोज लामा, सदस्यहरूमा इन्दु थापा, देवराज पराजुली, नारायण प्रसाद रिमाल रहेका थिए।

सवाल : हाल उक्त संस्था सञ्चालनमा छ÷छैन? उक्त संस्था समस्यामा पर्नुको कारण के हो?

कान्तिपुर बचत तथा ऋण सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्था दुवै संस्थालाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हेरिरहेको छ। हाल सञ्चालनमा छैनन्।

सवाल : सञ्चालक समितिका सदस्यमध्ये तपाईँको आफ्नो परिवार वा नातागोताका व्यक्ति को–को हुनुहुन्छ/हुनुहुन्थ्यो?

कान्तिपुर बचत तथा ऋण सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्थामा मेरो परिवार र नातागोताका व्यक्ति कोही नभएको जानकारी गराउँदछु।

प्रश्न : अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाई आबद्ध सहकारीको सञ्चालक समितिमा पनि छन् वा छैनन् थिए वा थिएनन्? यदि थिए भने, उक्त कुरा कानूनसम्मत् हो, होइन? खुलाइदिनुहोस्।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्तिहरू म आबद्ध सहकारीको सञ्चालक समितिमा छैनन्। मेरो हकमा कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा पुर्वअध्यक्ष रहेको थिए भने पशुपति बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष पदमा रहेको छु। पशुपति सहकारीको सञ्चालन तथा व्यवस्थापक जुली श्रेष्ठ हाल अस्ट्रेलियामा हुनु हुन्छ।

सवाल : सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन्? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के–कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो?

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष संस्थाको कार्यकारी प्रमुख रहेका थिए। पशुपति बचत तथा ऋण सहकारी संस्थाको हकमा सञ्चालकहरू कर्मचारी रहेका थिएन। व्यवस्थापक वा कर्मचारी छनौट गर्दा विनियमावली अनुसार छनौट गर्ने गरिएको थियो।

सवाल : सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन, थियो वा थिएन?

सहकारी संस्थाका सदस्य बाहेक अन्य व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छैन। सहकारीको शेयर सदस्य भएको ३ महिना पछि व्यावसायिक क्षमता हेरेर मात्र ऋण प्रवाह गर्ने गरेको छ। सहकारीको कार्यक्षेत्र भित्र बसोबास गरेका र कार्यक्षेत्र भित्र नै व्यवसाय गरेका शेयर सदस्यहरूलाई ऋण लगानी गर्ने गरेको थियो।

सवाल : शेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो?

सहकारीको कार्यक्षेत्र भित्र बसोबास गरेका व्यक्ति मात्र शेयर सदस्य हुने भएकोले अन्यलाई बनाइएको छैन।

सवाल : सहकारी संस्थाको सम्पत्ति कहाँ–कहाँ के–कुन स्वरूपमा छ? छ भने आवश्यक कागज प्रमाण समेत पेस गर्नुहोस्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा विवरण सहित गएको छ। सहकारी बैङ्कमा धितोमा गएको छ। काठमाडौँ, तीनकुनेमा ४२ आना जमिन मध्ये ४८ हजार स्क्वायर फिटमा ६ तल्लाको कान्तिपुर हस्पिटल नामको भवन र काभ्रे जिल्ला धुलिखेलमा ७७ रोपनी जग्गा रहेको छ।

सवाल : अन्तरसहकारी कारोबार गर्नु भएको छ? छ भने कुन–कुन संस्थासँग? खुलाउनुहोस्।

अन्तरसहकारी कारोबार गरिएको छ। सहकारी बैङ्क र बचत ऋणको केन्द्रीय सङ्घमा बचत गरिएको छ र शेयर सदस्य पनि छ। कति छ थाहा भएन।

सवाल : विद्यमान अवस्थामा तपाइको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ? के–कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ?

विद्यमान अवस्थामा म आबद्ध सहकारीको समस्या समाधान गर्न सक्छु। ऋण उठाउँछु, आफ्नो नाममा भएको सम्पत्ति बेचबिखन गर्छु र सहकारीको समस्या समाधान गर्छु। जसको कार्ययोजना सहकारी विभाग, सहकारी मन्त्रालय र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा बुझाएको छु। सोही अनुसार भयो भने सहकारीको समस्या समाधान हुन्छ र सहकारी पुन सञ्चालनमा ल्याउन सक्छु।

प्रश्न : तपाईँ मुख्य सञ्चालक रहेको पशुपति बचत तथा ऋण सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारी संस्था समस्या समाधान गर्न तपाई, तपाईँको परिवार, सरकार, कर्जा लिएको बैङ्कले के–के गर्नु पर्ला?

पुर्पक्षबाट निस्किन सहयोग गर्नुपर्‍यो, नेपाल सरकारले बन्द गरेको सहकारी सञ्चालनमा ल्याउन सहजीकरण गरिदिनुपर्‍यो। बचत परिचालन, ऋण असुली, सम्पत्ति बेचबिखन गर्न समयावधि तोकी ऋण भुक्तानी गर्ने समय दिनुपर्‍यो। ऋण भुक्तानी नगर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखी सम्पत्ति रोक्का, बैङ्क खाता रोक्का र विदेश जान रोक लगाई ऋण असुली गर्न सहयोग गर्नुपर्‍यो।

प्रश्न : कान्तिपुर सेभिङ्ग एन्ड क्रेडिट कोअपरेटिभ लि. को तपाई अध्यक्ष रहेका बखत २०६६ माघमा भएको स्थलगत निरीक्षणबाट अमेरिकाको नेपालस्थित कूटनीतिक नियोगको नाममा एक करोड खर्च भएको देखाइएको रहेछ? त्यो के–कस्तो खर्च थियो? सहकारीको मूल्य र मान्यताले त्यस्तो खर्च गर्न मिल्छ?

अमेरिकाको नेपालस्थित कूटनीतिक नियोगको नाममा कुनै पनि खर्च भएको छैन। कुनै ऋणीले ऋण बापत लगेको हुन सक्छ। ऋणीलाई भुक्तानी दिएको जस्तो लाग्छ। यस विषयमा २ दिन भित्र जानकारी समितिलाई गराउनेछु।

प्रश्न : तपाईँले बचतकर्ताको बचत रकमबाट अस्पताल, फाइनान्स कम्पनी र विकास बैङ्कहरूमा लगानी गरेको देखिन्छ। साथै तपाईँ स्वयंलाई ३४ लाख र विभिन्न व्यक्ति तथा संस्थालाई पाँच करोड ९१ लाख पेस्की दिएको देखिन्छ, आर्थिक अपचलनको सुरुआत त्यतिबेलै भएको रहेछ भनेर बुझ्दा हुन्छ?

कार्यालय प्रयोजनको लागि आफ्नो नाममा गएको हुन सक्छ तर प्रत्येक वर्ष असार मसान्तमा फर्छ्योट भएको छ। अन्य कुरा मलाई थाहा छैन।

प्रश्न : संस्थाको सिस्टममा बचत कर्ताको निक्षेप तथा मुद्दती रु.७ अर्ब ९७ करोड ७५ हजार देखिए तापनि बचत कर्ताद्वारा माग दाबी मात्र रु.६ अर्ब ७८ करोड ५१ लाख बरावर मात्र गरिएकोले फरक रकम रु. १ अर्ब १९ लाख २४ हजार के कति कारणले भएको हो?

माग दाबी नआएको हुन सक्छ। सफ्टवेयर हेरेपछि थाहा हुन्छ। बचतकर्ताको मृत्यु भएको, अनलाइन फर्म भर्न नजानेको, कैफियतपूर्ण बचत रकम जम्मा गरेको कारण हुनसक्छ।

सवाल : संस्थाका सदस्यहरूबाट ठुलो मात्रामा बचत रकम जम्मा गरेको र सो मा व्याज समेत लेखांकन भएकोले सो बचत रकमको श्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्यता कसरी पुस्टी गर्नुहुन्छ?

३ किसिमका बचत कर्ता रहेका छन् : एकमुष्ट बचत गर्ने, थोरै थोरै बचत गर्ने एकमुष्ट लिने र दैनिक रूपमा बचत गर्ने र समय समयमा लिने। दैनिक सानो बचतकर्ताहरूसँग स्रोत खोज्ने गरेको छैन। एकमुष्ट १० लाख भन्दा माथि बचत गर्न आएमा बचतकर्ताको स्रोत खुलाउन लगाइएको छ।

सवाल : सदस्यहरूलाई (कम्पनी समेत) दिइएको कुल ऋण रकमको ६६.२२ प्रतिशत जति ऋण रकम ठुला ऋणीहरूलाई दिनु भएको छ, यो कानुन सम्मत छ कि छैन?

म हुँदासम्म ३ अर्ब ऋण थियो। त्यसपछि कसले कति लिए मालाई थाहा छैन। ६ अर्बको ऋणको विषयमा मैले जवाफ दिन सकिन। हामीले सहकारीको नीति नियम भित्र रहेर दिएको हो। ऋण अनुसारको धितो राखेर दिएको छ।

सवाल : एकै ऋणी चन्द्र बहादुर तामाङलाई २७ बटा फाइल खडा गरी जम्मा ऋण रकमको ८ प्रतिशत रु. ५४ करोड ७१ लाख बराबरको ऋण रकम के उद्देश्यले दिइएको हो? साथै सो ऋणको हाल अवस्था के कस्तो छ? ऋणीले साँवा र व्याज समय समयमा तिरी रहेको छ कि छैन?

यसको लागि मैले धितो राखेको छु। समय समयमा व्याज पनि तिरेको छु। २०५३ साल देखि २०७५ साल सम्म २२ वटा फाइल भएका होलान्। वर्षमा १ वटा ऋण लिए मात्र पनि यति फाइल बन्यो होला। पटक पटक ऋण लिएको छु। हरेक ऋणको नयाँ र छुट्टै फाइल हुन्छ। मैले तिर्नु पर्ने रकम म तिर्छु।

सवाल : ऋण रकम फिर्ता गर्न सक्ने धितो पर्याप्त रूपमा लिनु भएको छ कि छैन?

तत्कालीन समयमा ऋण रकम फिर्ता गर्न सक्ने धितो पर्याप्त रूपमा लिएको छु। सफ्टवेयरमा ऋणको विषयमा देखिएको विवरण शङ्कास्पद छ।

प्रश्न : व्याज रकम पुँजीकृत गर्नु भएको छ कि छैन ?

व्याज रकम पुँजीकृत गरेको छैन। एकाउन्टिङ सिस्टमबारे मलाई थाहा भएन।

सवाल : बचत र ऋणको ब्याजदरको अन्तर कति छ?

बचत र ऋणको ब्याजदरको अन्तर ४ देखि ७ प्रतिशतको फरकमा लिएको छ।

सवाल : गैर सम्पत्ति रु. १ करोड ५२ लाख बराबरको, आसामी रु. १० करोड ४१ लाख बराबरको र ५३ लाख बराबरको अन्य ऋण उठाउन किन पहल नगरेको?

म २०७६ सालसम्म मात्र अध्यक्ष भएकोले यसबारे मलाई जानकारी भएन।

प्रश्न : तपाईँको भन्नु पर्ने थप केही छ?

सहकारीको समस्या समाधान गर्न सम्पूर्ण सहकारी संस्थाबाट एउटा समिति गठन गरी सरकारले उक्त समितिले पेस गरेको कार्ययोजना अनुरूप गरेमा सहकारीको समस्या समाधान गर्न सकिन्छ। म लगायत समस्याग्रस्त सहकारीहरूका सदस्यहरूबाट तिन किसिमका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना नेपाल सरकारलाई दिन्छौँ। सोही अनुरूपको कार्य गरेमा सहकारीको समस्या समाधान गर्न सकिन्छ। सरकारले सहकारीहरूको समस्या समाधान गर्न र दीर्घकालीन रूपमा सहकारी संस्था सञ्चालनका लागि सहकारी ऋण कोष सरकारी स्तरबाट स्थापना गर्नु पर्‍यो। उक्त कोषमा सबै सहकारी संस्थाहरूले आफ्नो तरलताको मौज्दात रकम जम्मा गर्नु पर्ने व्यवस्था हुनुपर्‍यो। कुनै पनि सहकारी संस्थाका सञ्चालक सल्लाहकार कर्मचारी लेखा समिति लगायत सहकारी सम्बन्धी व्यक्तिहरूलाई पुर्पक्षमा नराखी जाहेरीकर्ताहरूको माग बमोजिम धरौटी वा बैङ्क जमानत लिई वा घर जग्गाहरू रोक्का राखी बचतकर्ताहरूको बचत भुक्तानी सम्बन्धी प्रक्रियाको लागि अघि बढाई सहकारीको समस्या समाधान गर्नु पर्ने।

कान्तिपुर सहकारी : जग्गामा लगानी, आफन्तको नाममा पास

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.