नारायणहिटी छाडेको दुई दशक, पूर्वराजामा बढ्यो बेचैनी 

नारायणहिटी छाडेको दुई दशक, पूर्वराजामा बढ्यो बेचैनी 

128
SHARES

काठमाडौं ; भुटानको राजकीय भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बेचैनी बढाएको छ। दरबार छाडेको दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेशमै हर्षका साथ रहने नेपाली जनाको आकाङ्क्षा पुरा नहुँदा बेचैनी बढाएको पूर्वराजा शाहले उल्लेख गरेका छन्। 

बडादशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै नारायणहिटी दरबार छाडेका भनेको छन्। ‘खुसी हुन र रमाउन दशै नै पर्खनु  पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुखप्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो,’शाहले निकालेको शुभकामना सन्देशमा लेखिएको छ,‘तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ।’ 

उनले नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको उल्लेख गरेका छन्। उनले निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको गाउँबस्ती र शहरी क्षेत्र क्रमशः“युवा शक्ति विहीन”बन्दै गइरहेको भनेका छन्। ‘आज मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन। युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ,’शुभकामना सन्देशमा लेखिएको छ,‘रोजगारीको निमित्त बिदेसिनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेतवारीमात्र बाँझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ।’

मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै नराखेको उनले उल्लेख गरेका छन्। ‘देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो,’शुभकामना सन्देशमा लेखिएको छ,‘बाह्र शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस् , यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ।’ 

एक्काइसौं शताब्दीको पहिलो दशक देखि नै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय तनाव झन् गहिरो हुँदै गएको उनले उल्लेख गरेका छन्। ‘यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन। राष्ट्र–राष्ट्रहरूको बीचमा विश्वासको सङ्कट चुलिँदै गएको परिदृश्य प्रस्ट नै छ। भू–राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन। महाशक्तिहरू बीचको तनाव र स्वयं घोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ,’शुभकामना सन्देशमा लेखिएको छ,‘यस्तो अवस्थामा नेपाल“शान्त राष्ट्र”को रूपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ। यस दिशातर्फ हामी सबैको राष्ट्रिय सङ्कल्प हुनै पर्दछ। नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखा परेको अन्योल र अराजकताले झन् पुष्टि गरेको छ।’ 

समाचार शेयर गर्नुहोस्
128
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.