७१ पालिका विपद् सङ्कटग्रस्त घोषणा, करिब ५० अर्बको क्षति

७१ पालिका विपद् सङ्कटग्रस्त घोषणा, करिब ५० अर्बको क्षति

104
SHARES

काठमाडौं : सरकारले २० जिल्लाका ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठककै मितिको निर्णयअनुसार सङ्कटग्रस्त पालिकाको सङ्ख्या ७१ पुर्‍याइएको हो। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् सङ्कटग्रस्त पालिका ५९ भए पनि बढ्न सक्ने बताएका थिए।

क्षतिको लेखाजोखा गर्न बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा बनेको समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। यो समितिले एक दुई दिनमा सरकारलाई रिपोर्ट बुझाउने तयारी समेत गरेको छ।

प्रारम्भिक रिपोर्टअनुसार सोमबारकै मन्त्रिपरिषद् बैठकको निर्णयमा केही पालिका थपेर ७१ पुर्‍याइएको हो। असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट करिब ५० अर्ब बराबरको आर्थिक क्षति भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए।

सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न मात्रै करिब दुई अर्ब ८८ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। सहरी विकास मन्त्रालयले विपद्बाट भत्किएका संरचना सुधार तथा पुनः निर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ।

मन्त्रालयकी प्रवक्ता बिनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिइन। स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झोलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ।

गृह मन्त्रालयको विवरण अनुसार दुई दिनको अविरल वर्षाले २४६ जनाको ज्यान लिएको छ। अझै १८ जना अझै बेपत्ता छन्। उद्धार र राहत वितरणको काम चलिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले विभिन्न निकाय मिलेर राहत र उद्धारमा काम भएको बताए।

नेपाली सेनाले बाढी पहिरो प्रभावित काभ्रेपलान्चोकका विभिन्न स्थानहरूमा उद्धार तथा राहत सामग्री ढुवानी गरेको छ। सेनाले बुधवार खानीखोला गाउँपालिका वडा नम्बर ५ बाट २ जनाको हवाई उद्धार गरेको छ।

२ हजार ८७७ किलो राहत सामग्री ढुवानी गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रोशी गाउँपालिका वडा नं. १०, रोशीखोलामा २ हजार ७९५ किलो र रोशी गाउँपालिकाकै वडा नं. १२, रोशीखोलामा थप २ हजार ८ सय किलो राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ।

काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका वडा नं. १४, बेथानचोकमा २७५० किलो र सोही ठाउँमा थप २७९२ किलो राहत सामग्री ढुवानी गरेको छ।

असोज दोस्रो साता आएको बाढी पहिलो प्रभावित क्षेत्रमा ६ हजार जनाको सैनिक टोलीले राहत, उद्धारको काम गरिरहेको नेपाली सेनाले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
104
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.