पाथीभरा केबलकार निर्माणमा तनाव, विशेष सुरक्षा फोर्स तैनाथ

पाथीभरा केबलकार निर्माणमा तनाव, विशेष सुरक्षा फोर्स तैनाथ

436
SHARES

ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङमा केबलकार निर्माण गर्ने र निर्माण गर्न नदिने पक्षबीच घम्साघम्सी परेको छ। पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि शुक्रवार दिउँसो झडप भएको छ।

झडपमा चार जना घाइते भएका छन्। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले अवस्था सामान्य बन्दै गएको बताए। थप घटना हुनसक्ने भन्दै प्रशासनले विशेष सुरक्षा फोर्स तैनाथ गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

पाथीभरा दर्शन केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रम हुँदै गर्दा पाथीभरालाई मुकुम्लुङका रूपमा आस्था राख्दै आएकाहरूले अवरोध गरेका हुन्। केबलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएको बताएका छन्।

केबलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै उनीहरूले रोक्न माग गरेका छन्। यसले गर्दा विवादको निरूपण सहज हुने देखिँदैन। विगत ६ वर्षदेखि आन्दोलन गर्दै आएको बताउँदै मुकुम्लुङ संरक्षण सङ्घर्ष समितिका अभियन्ता राम मादेनले कुनै पनि हालतमा केबलकार बन्न नदिने चेतावनी दिए।

आफूहरूको मुन्धुमी आस्था समाप्त पार्न खोजेकोले विकासको पनि विरोध गर्नु परेको उनले बताए।

आयोजना टोलीले निर्माण गरेरै छाड्ने तथा पहिचानवादीहरूले निर्माण कार्य रोक्ने अडान लिएपछि थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। प्रमुख जिल्ला अधिकारी शर्माले भने दुवै पक्षलाई मिलेर जान सुझाव दिए।

संविधानसभा सदस्य डम्बर ध्वज तुम्बाहाम्फे र फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको सुरुवाती विन्दु काफ्लेपाटीमा बिहान पूजा गर्दै संयुक्त रूपमा केबलकार निर्माणको शिलान्यास गरेका थिए।

समाचार शेयर गर्नुहोस्
436
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.