रवि तत्काल रिहा नहुने, रास्वपाको आन्दोलन घोषणा

रवि तत्काल रिहा नहुने, रास्वपाको आन्दोलन घोषणा

208
SHARES

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार चौथो पटक म्याद थपका लागि अदालत लगिने भएको छ।

तेस्रो पटक थपिएको म्याद सकिएसँगै कास्की जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए।

यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र तेस्रो पटक १० दिन म्याद थपिएको थियो। कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ।

आइतबार म्याद थप भएमा रविलाई रुपन्देही लैजाने तयारी छ। रुपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारीको बचत रकम अपचलनबारे उनलाई पक्राउ पुर्जी जारी भइसकेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले रविलाई रुपन्देही ल्याउन प्रहरी तयारी अवस्थामा रहेको बताइन। कास्की जिल्ला अदालतले म्याद थप गरेमा आइतबार नै रुपन्देही ल्याउन सकिने उनले जानकारी दिइन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने पार्टीको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन सुनियोजित षड्यन्त्र गरेको आरोप लगाएको छ। शनिवार बसेको केन्द्रीय समितिको बैठकले वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न पक्राउ गरेको निष्कर्ष निकालेको छ।

संसदीय छानबिन समितिको प्रतिवेदनमा सहकारी प्रकरणमा संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए पनि सोही अभियोगमा पक्राउ गरिएको र पक्राउको वास्तविक उद्देश्य रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न खोजेको उल्लेख छ।

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनको घोषणा समेत गरेको छ। रविलाई अदालत उपस्थित गराइँदा आइतबार रास्वपाका नेता कार्यकर्ताहरूले पोखराको जिरो किलोमिटर घण्टी घरमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

रवि पक्षका वकिलहरूले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन्।

समाचार शेयर गर्नुहोस्
208
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.