काठमाडौँ : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार चयनमा लागेका छन्। केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।
उम्मेदवारी दर्ताका लागि दलहरू चुनावमा निर्वाचित हुने उम्मेदवार छनौट गर्न लागेका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
मङ्सिर १६ गते देशका ३९ वटा स्थानीय तहमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार सिफारिसको काम अन्तिम चरणमा पुगेको जसपा नेपालले जनाएको छ।
सबैको चासोको रूपमा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा नगरअध्यक्ष तथा वडा अध्यक्षमा उम्मेदवारको चयन अन्तिम चरणमा रहेको काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले जानकारी दिए।
उम्मेदवार छनौटमा भाषा र लैङ्गिक पहिचानलाई प्राथमिकता दिइएको उनले बताए। ‘नाम सिफारिस भएको छ, केही दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौ,’अध्यक्ष पौडेलले पहिचानसँग भने,‘अरू पार्टीको भन्दा फरक विजयी हुने उम्मेदवार पार्टीले चयन गर्नेछ।’ जसपाले सिफारिस भएका नाम गोप्य राखेको छ।
जनता समाजवादी पार्टी नेपालले पार्टीको विधान अनुसार समावेशी उम्मेदवार चयन गर्ने अध्यक्ष पौडेलले बताए। नेपालमा आदिवासी जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, खस, महिला, पिछडा वर्ग, अपाङ्गता भएको व्यक्ति, सीमान्तकृत अल्पसङ्ख्यक समुदाय, लोपोन्मुख उत्पीडित जात र जाति, श्रमजीवी वर्ग, किसान, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलगायत विभिन्न समुदायहरूमाथि शताब्दियौदेखि कायम रहेको विभेद, शोषण, उत्पीडन र असमानतालाई अन्त्य गरी जातीय समुदायगत जनसङ्ख्याको आधारमा राज्यको हरेक अङ्ग, निकाय र तहमा समानुपातिक सहभागिता तथा प्रतिनिधित्वको प्रत्याभूति गराउने पार्टी प्रस्ट नीति रहेको उनले बताए। पार्टी नीति अनुसार नै उम्मेदवार चयन हुने उनले बताए।
सबै प्रकारका गरिबी, भोकमरी, कुपोषण एवम् लैङ्गिक विभेद उन्मुलन गरी मर्यादा एवम् समता कायम गर्ने, ज्येष्ठ नागरिक, महिला र बाल अधिकारको संरक्षण गर्दै, आर्थिक, स्वास्थ्य, शिक्षा र अवसर प्राप्तिमा रहेका असमानता र अन्यायलाई अन्त्य गरी शान्तिपूर्ण, न्यायसङ्गत, समावेशी लोकतान्त्रिक एवम् समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प पार्टीको रहेको उनले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.