जरिवानाको चिर्कटोले एमाले-बालेन ‘आमनेसामने’

जरिवानाको चिर्कटोले एमाले-बालेन ‘आमनेसामने’

243
SHARES

काठमाडौं : सत्ता शक्तिको बलमा काठमाडौँको दरबारमार्गमा जागरण सभा गरेको नेकपा एमालेलाई काठमाडौँ महानगरले जरिवाना तिराएरै छाड्ने अड्डी कसेको छ।

राजनीतिक दलको सभा सम्मेलन, नारा जुलुस गर्न निषेध गरिएको दरबारमार्गमा एमालेले जागरण सभा गरेर फोहोर गरेको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना बुझाउन पत्र काटेको छ।

महानगर प्रमुख बालेन शाहले पत्र काटेर स्टनबाजी गरेको आरोप एमालेले लगाएको छ। तर, बालेन एमालेलाई जरिवाना तिराएर छाड्ने अडानमा छन्। बालेनले आइतबार एमाले पार्टी कार्यालयमा जरिवाना बुझाउन आउने पत्र पठाए। एमालेले जागरण सभाको आयोजक केन्द्रीय कार्यालय नभएको बताएर पत्र बुझ्न अस्वीकार गरेको छ।

सामान्य प्रशासनिक कार्यका लागि गाडीसहित महानगर प्रहरीको हुल हुज्जत एमाले पार्टी कार्यालयमा पठाएको बताउँदै एमालेले बालेनलाई प्रशासनको सामान्य सिद्धान्त समेत नबुझेको बताएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै बालेको पत्र बुझ्न अस्वीकार गरेर फिर्ता पठाइदिएको छ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताउँदै बालेनले कार्यक्रम अघि नै चिठी प्रिन्ट गरेर मिडियामा लगेको आरोप लगाए।

एमालेले गत शुक्रवार दरबारमार्गमा भएको जागरण सभामा फोहोर गरेको तर पछि कार्यकर्ताहरूले सफा गरेको दाबी गर्दै आएको छ। आयोजक नेकपा एमाले जिल्ला कमिटी काठमाडौं, ललितपुर र भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले भनेको छ।

महानगरपालिकाले सोमबार जिल्ला कमिटीको कार्यालयमा पत्र बुझाउन जाने तयारी गरेको छ। ‘पत्र बुझ्न अस्वीकार गरेको जानकारी बालेनको सचिवालयलाई गराएका छौँ,पत्र बुझाउन गएका नगर प्रहरीले पहिचानसँग भने,‘भोलि अर्को पत्र हुन्छ कि त्यही पत्र हुन्छ जिल्ला कमिटीमा बुझाउन जाने तयारी छ।’

जागरण सभाका क्रममा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एक लाख जरिबाना सहितको पत्र लेखेको थियो। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र मेयर बालेन शाहबीच तिक्तता बढिरहेको छ। एमालेले भने बालेन शाह एमाले विरुद्ध कसैबाट परिचालन भइरहेको आरोप लगाउँदै आएको छ।

जागरण सभा सकिएकै दिन एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने उल्लेख गरेका थिए।

निषेधित क्षेत्रमा एमालेको शक्ति प्रदर्शन : सुरक्षा निकाय रमिते, सिडिओ पन्छिए

समाचार शेयर गर्नुहोस्
243
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.