मुद्दा नचलाउने निर्णयसँगै पूर्वमन्त्री अधिकारी रिहा

मुद्दा नचलाउने निर्णयसँगै पूर्वमन्त्री अधिकारी रिहा

448
SHARES

काठमाडौं : मानव तस्करीको आरोपमा पक्राउ परेका सत्तारुढ नेकपा एमालेका निलम्बित नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लीला वल्लभ अधिकारीलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको छ।

प्रहरीले अधिकारीसहित १२ जनालाई तीन वटा कसुरमा मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलको कार्यालय काठमाडौँले पाँच वटा आधारमा अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।

अधिकारीबाहेक मानव तस्करी प्रकरणमा जोडिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। जापानमा मानव तस्करी प्रकरणका तीन जना आरोपी अझै फरार छन्। मानव तस्करीको आरोपमा अधिकारी कार्तिक २६ गते विराटनगरस्थित निवासबाट पक्राउ परेका थिए।

अधिकारी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका बेला जापानमा हुने एक कार्यक्रममा भाग लिन जाने क्रममा असम्बन्धित युवाहरू पनि गए पछि मानव तस्करीको आरोप लागेको थियो। त्यही प्रकरणमा मन्त्री पदबाट राजीनामा दिएका अधिकारीलाई नेकपा एमालेले निलम्बन गरेको थियो।

अधिकारीले जापान पुगेर सो प्रकरणबारे आफूले जानकारी दिएको बयान दिएकाले मुद्दा नचलाउने निर्णय गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ। पक्राउ परेका आरोपीहरूले पूर्वमन्त्री अधिकारीलाई विदेश पठाए बापत रकम दिएको भन्ने नखुलाएको सरकारी वकिलको कार्यालयले बताएको छ।

सरकारी वकिलले जापानबाट नेपाल प्रहरीका डिआइजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज,आफैँले अध्यागमनलाई जानकारी गराएको, विमानस्थलको सिसी टिभी फुटेजमा अन्य आरोपीसँग नदेखिएको, इन्कारी बयान दिएको लगायतलाई आधार मानेर मुद्दा नचलाउने निर्णय गरेको छ।

मुद्दा नचलाउने निर्णय गरेसँगै उनी सोमबार साँझ रिहा भएका छन्। प्रहरीले उनलाई श्रीमतीको जिम्मा लगाएको छ।

समाचार शेयर गर्नुहोस्
448
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.