ग्लोबल आइएमई बैङ्कले शेयरधनीहरुलाई साढे ५ प्रतिशत बोनस शेयर लाभांश दिने

ग्लोबल आइएमई बैङ्कले शेयरधनीहरुलाई साढे ५ प्रतिशत बोनस शेयर लाभांश दिने

406
SHARES

काठमाडौँ : ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना शेयर धनीहरूलाई ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने भएको छ। बिहीबार सम्पन्न बैङ्कको १८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट आफ्ना शेयर धनीहरूलाई ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ।

बैङ्कले आर्थिक वर्ष २०८०।८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। प्रस्तावित बोनस शेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्ने बैङ्कले जनाएको छ।

साधारणसभामा अध्यक्ष ढकालले बैङ्कले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयर धनीहरूलाई उचित लाभांश प्रदान गर्न बैङ्क प्रतिबद्ध रहेको बताए।

साथै, बैङ्कले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।

ग्लोबल आइएमई बैङ्क “ग्लोबल फाइनान्स”को “बेष्ट बैङ्क अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित भएको छ।

बैङ्कले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ। ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो।

बैङ्कका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैङ्कले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

समाचार शेयर गर्नुहोस्
406
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.