काठमाडौँ : काठमाडौँ फोटोग्राफर सङ्घले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’को आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष हरि प्रसाद घिमिरेले अवार्ड कार्यक्रमको महत्त्व र उद्देश्यबारे चर्चा गर्दै आगामी पुस १२ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम घोषणा हुने जानकारी दिए।
अध्यक्ष घिमिरेका अनुसार, सङ्घको स्थापना २०६५ सालमा भएको हो। स्थापनाकालदेखि फोटोग्राफरको हकहितका लागि विभिन्न कार्य गर्दै आएको सङ्घले जनाएको छ। ‘विवाह फोटोग्राफीमा लाग्न चाहने साथीहरूको मनोबल उच्च पार्नका लागि २०१२ देखि हामी विवाह फोटो प्रतियोगिता गर्दै आएका छौँ,’अध्यक्ष घिमिरेले भने,’हामी फोटोग्राफरहरूको क्षमता र सृजनशीलतालाई प्रोत्साहन दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्दैछौँ।’
अध्यक्ष घिमिरेको नेतृत्वमा काठमाडौँ फोटोग्राफर सङ्घले विवाह फोटोग्राफीलाई एक महत्त्वपूर्ण कला र व्यवसायको रूपमा प्रतिष्ठा दिलाउनका लागि काम गर्दै आएको जनाएको छ। उनले सङ्घको आगामी योजनाबारे बताउँदै अवार्ड कार्यक्रमको आयोजकका रूपमा फोटोग्राफरहरूको दक्षता विकास र प्रोत्साहनका लागि कडा पहल गरिरहेको बताए।
अवार्ड कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहने भन्दै अध्यक्ष घिमिरेले प्रायोजक लगायत संस्थामा आबद्ध भएका सम्पूर्णलाई विशेष धन्यवाद दिए।
कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरूलाई प्रोत्साहन र दक्षता विकासको उद्देश्यका साथका अवार्ड कार्यक्रम आयोजना गर्न जानकारी दिए।
उनले भने,‘अवार्ड फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीहरूलाई प्रोत्साहन र दक्षता विकासको उद्देश्यका साथ आयोजना गर्दैछौं।’अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफूले खिचेका विवाहका अधिकतम दुई वटा उत्कृष्ट फोटोहरू पेस गर्न सक्नेछन्।
विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्।
फोटो तथा भिडियो मङ्सिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ। अवार्डको मुख्य विधा अन्तर्गत प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कार स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रम संस्थाका सचिव रेशमराज पण्डितले सञ्चालन गरेका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.