एकीकृत समाजवादी विवादै विवादको भुमरीमा

एकीकृत समाजवादी विवादै विवादको भुमरीमा

302
SHARES

काठमाडौं : अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी विवादै विवादको भुमरीमा परेको छ। कहिले पूर्वप्रधानमन्त्रीद्धय नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको टकराब, कहिले नेतृत्व परिवर्तनको खेल त कहिले आफूनिकटका नेताको पदलाई लिएर पार्टीभित्र विवाद, असन्तुष्टि र तुष मात्रै देखिन थालेको छ।

केन्द्रीय महाधिवेशन सम्पन्न गरेको ६ महिनापछि बसेको स्थायी कमिटी बैठकले बल्ल नेताहरूको जिम्मेवारी हेरफेर गरेर कार्य विभाजन गरेको छ। नेकपा एमालेमा पद नपाएका र असन्तुष्टहरू मिलेर बनेको यो पार्टीमा अहिले उस्तै असन्तुष्टि सुनिन थालेको हो।

पार्टी गठनपछि बनेको शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ६–६ महिने म्यादी मन्त्री बनाएर नेतालाई थम्थमाएका अध्यक्ष नेपालले महाधिवेशनमा पद पुर्‍याउन नसक्दा अहिलेसम्म जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन।

वडा तहदेखि सांसदसम्म टिकट बाँड्ने र पार्टीमा पनि राम्रै जिम्मेवारी दिने आश्वासन दिएर केही नेतालाई एमालेमा जानबाट रोकेका अध्यक्ष नेपालले अहिले बामदेव गौतमलाई पार्टीमा स्वागत गर्ने निर्णय गराएका छन्।

अध्यक्ष नेपालसँग भेटेर निर्णय लिने तयारीमा रहेका गौतमले आफू बुहारी भित्रिएको जस्तो नभई आफूसँग रहेकाहरूलाई समेत उचित स्थानका साथ एकता गर्ने प्रतिक्रिया दिएका छन्। नेता विरोध खतिवडाले गौतम मात्र नभएर पूर्वकानुनमन्त्री प्रेमबहादुर सिंहदेखि देवी ओझासम्म पार्टीमा आउने तयारीमा रहेको बताए।

यो पार्टी बनाउन भूमिका खेलेका तर अहिले उचित जिम्मेवारी नपाएको भन्दै निष्क्रिय पूर्वमन्त्री प्रेम आले, किसान श्रेष्ठहरूलाई मनाउन भने पार्टीले कुनै पहलकदमी लिएको छैन। पूर्वमन्त्री खतिवडाले अर्को चुनाव आए पछि अहिले असन्तुष्ट बनेकाहरू फेरि सक्रिय हुने दाबी गरे।

समाचार शेयर गर्नुहोस्
302
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.