आदेश आएकै राति बैंक ग्यारेन्टी राखेर रिहा भए रवि

आदेश आएकै राति बैंक ग्यारेन्टी राखेर रिहा भए रवि

198
SHARES

काठमाडौँ : सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रातारात धरौटी रकम बुझाएर पक्राउ परेको ८४ दिन पछि हिरासत मुक्त भएका छन्।

काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी बुझाएर हिरासत मुक्त गर्न आदेश दिए लगत्तै लामिछाने प्रभु बैङ्कलाई ग्यारेन्टी राखेर रिहा भए।

पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात् प्रहरीले प्रक्रिया पुर्‍याएर परिवारको जिम्मा लगाएको हो। न्यायाधीश नीतिज राईको इजलासको आदेशपछि लामिछानेले प्रभु बैङ्कलाई ग्यारेन्टी राखेर आदेश आएकै दिन हिरासत छोडे।

लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा तीन करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा छ। ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैङ्कको खाता नम्बरबाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैङ्क खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैङ्क जमानत लिई छाड्नु वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू।’

न्यायाधीश राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो। अदालतले रविसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लीला पछाईसँग ३७ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग्ने आदेश दिएको थियो।

थुनामुक्त भएपछि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेले व्यक्त गरे खुसी

समाचार शेयर गर्नुहोस्
198
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.