काठमाडौं : विद्युतीय माध्यमको प्रयोग गरी व्यापार गर्नेहरू अब अनिवार्य रूपमा वाणिज्य विभागको प्लेटफर्ममा दर्ता हुनुपर्ने भएको छ। विभागको प्लेटफर्ममा दर्ता नगरी कारोबार गरेको पाइए दण्ड र सजाय भोग्नुपर्ने भएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पारित गरेको विद्युतीय व्यापारसम्बन्धी विधेयक प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन सहित पेस हुनेछ।
सामाजिक सञ्जालको प्रयोग गरी सामान किनबेच गर्नेहरूलाई तीन महिनाभित्र अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था विधेयकमा गरिएको समितिका सभापति अब्दुल खानले जानकारी दिए।
उपभोक्ता ठगिएको गुनासो आएपछि विधेयकमा यो व्यवस्था थप गरिएको सभापति खानले बताए।
अब सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गरी सामान विक्री गर्नेहरू अनिवार्य रूपमा वाणिज्य विभागमा दर्ता हुनुपर्नेछ। फेसबुक, ट्विटर,इमेल,टिकटक लगायतका सामाजिक सञ्जालमार्फत सामान बिक्री गर्नेहरूलाई कानुनी दायरमा ल्याउन यो व्यवस्था गरिएको सभापति खानले बताए।
यो व्यवस्थाले सामाजिक सञ्जालको प्लेटफर्मबाट ठगिनु परेको गुनासो अन्त्य हुने विश्वास समितिको रहेको सदस्य रमा पौडेलले बताइ।
सरकारी निकायमा सूचीकृत नभई विद्युतीय कारोबार गरेको पाइएमा दण्ड र सजायको व्यवस्था समेत गरिएको समिति सदस्य रेखा यादवले जानकारी दिइन्। विधेयकले कानुनको रूप लिए पछि विद्युतीय कारोबार गर्नेहरूले ३ महिनाभित्र विभागमा दर्ता हुनुपर्नेछ।
दर्ता नभई आफूखुसी सामाजिक सञ्जालबाट कारोबार गरेको पाइए २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना र ६ महिनादेखि ३ वर्ष सम्म कैद या दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको सभापति खानले बताए। समितिले उपभोक्ताको हितमा विधेयक आएको बताएको छ।
समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्त्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुसीको विषय भएको बताए।
विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.