दलहरूका नीति र संरचना समावेशी बनाउन लैङ्गिक अल्पसङ्ख्यकले गरे आग्रह

दलहरूका नीति र संरचना समावेशी बनाउन लैङ्गिक अल्पसङ्ख्यकले गरे आग्रह

554
SHARES

झापा : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक, सामाजिक र आर्थिक समावेशिता तथा सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यले लिड नेपाल, झापाको आयोजनामा दमकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

लिड नेपालले राजनीतिक दलका प्रतिनिधि, दलित र सीमान्तकृत समुदायका अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर समावेशितामूलक विमर्शलाई अघि बढाएको हो।

कार्यक्रममा एसियाकै समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको राजनीतिक समावेशीका लागि निर्वाचन कानुन संशोधन गर्नुपर्ने बताए। उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री नीति निर्माण गर्नुपर्ने र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराए।

नेकपा माओवादी केन्द्रका गगन पुरी, भूमिका कोइराला र सन्तोष गौतमले दमक नगरपालिकाले रोजगारी सिर्जना तथा साना उद्यम प्रवर्द्धनमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिमा दाहालसहितको प्रतिनिधित्वले राजनीतिक दलहरूले आफ्ना नीति र संरचनामा समावेशिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपाली काँग्रेसकी गोमा बुढाथोकी र नेकपा एमालेका मदन बोहरालगायत प्रतिनिधिहरूले सार्वजनिक चेतनाको कमी अझै रहेको र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायप्रति सामाजिक स्वीकृति विस्तारका लागि थप प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का पदम कुमारी लिम्बू, लिम्बुवान पार्टीका विष्णु भट्टराईलगायतले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय राजनीतिमा सक्रिय हुनुपर्ने बताए।

उक्त परामर्श कार्यक्रमले सार्वजनिक शौचालयको पहुँच, बैङ्किङ सुविधा, रोजगारीमा कोटा र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय मैत्री बजेट जस्ता मुद्दाहरू पहिचान गरी समाधानको मार्गचित्र तय गर्ने लक्ष्य निर्धारण गरिएको लिड नेपाल झापाकी कार्यक्रम संयोजक नुमा लिम्बु (चञ्चला)ले जानकारी दिएन।

कार्यक्रमले समावेशी, समानतामूलक र मानवीय मर्यादामा आधारित दमक नगरको परिकल्पनातर्फ सकारात्मक कदम चालेको लिड नेपालले विश्वास लिएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
554
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.