जसपा नेपाल काठमाडौँको पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित, प्रदेश अध्यक्षमा पौडेलको दाबी

जसपा नेपाल काठमाडौँको पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित, प्रदेश अध्यक्षमा पौडेलको दाबी

3.1k
SHARES

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला कार्यसमितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी पदाधिकारी बनेका छन्। शनिवार भएको जसपा नेपाल काठमाडौं जिल्ला अधिवेशनले पुनर्गठन गरेको नयाँ कार्य समितिको उपाध्यक्ष र सहसचिव पदमा तेस्रोलिंगी निर्वाचित भए।

निवर्तमान काठमाडौं जिल्ला अध्यक्ष विक्रम पौडेलले तेस्रोलिंगी सम्झना केसी र सहसचिवमा राजीव महर्जन मौनी निर्वाचित हुनु भएको जानकारी दिए।

अधिवेशनले भेष लाल दाहालको अध्यक्षतामा काठमाडौं जिल्ला कार्य समिति पुनर्गठन भएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए।

जसपा नेपालले पहिलो पटक जिल्ला कार्यसमितिमा तेस्रोलिंगीलाई पदाधिकारी बनाएको हो। निवर्तमान अध्यक्ष पौडेलका अनुसार इतिहासमै पहिलो पटक राजनीतिक दलहरूको कार्यसमिति पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित भएका हुन्।

अघिल्लो वर्षको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर र वडा अध्यक्षमा निवर्तमान अध्यक्ष पौडेल नेतृत्वको कार्यसमितिले इतिहासमै पहिलो पटक तेस्रोलिङ्गीलाई उम्मेदवार बनाएको थियो।

कीर्तिपुर नगरपालिकाको मेयरमा दीपक महर्जन (हनि) र वडा अध्यक्षमा राजीव महर्जन (मौनी) उम्मेदवार बनेका थिए। जसपा नेपाल नै तेस्रोलिंगीलाई उम्मेदवार बनाएर इतिहासमा नाम राख्न सफल भएकोमा निवर्तमान अध्यक्ष पौडेलले गौरवान्वित भएको बताए।

उनले तेस्रोलिंगीलाई उम्मेदवार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्थानीय तह उपनिर्वाचनमा साथ सहयोग दिने केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य लगायत अन्य केन्द्रीय सदस्यहरूलाई पौडेलले धन्यवाद दिए।

शनिवार सम्पन्न जिल्ला अधिवेशनको निर्वाचन अधिकारी मनोज वर्माका अनुसार २१ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा दाहाल, उपाध्यक्षमा केसी र सुरेश कुमार अधिकारी निर्वाचित भए। सचिवमा कमलेश निधि, सहसचिवमा राजीव महर्जन (मौनी) र विमला शाक्य निर्वाचित भए।

कोषाध्यक्षमा पछि मनोनीत गर्ने जसपा नेपाल काठमाडौं जिल्लाले जनाएको छ। कार्यसमितिको १४ सदस्यमा सरिता श्रेष्ठ, मैया भुजेल, रिलिज थापा, देवी कार्की, राधिका श्रेष्ठ, शकुन्तला श्रेष्ठ, रामकृष्ण फुयाल, सरोज कुमार मानन्धर, गङ्गा तामाङ, मीन प्रसाद दाहाल, कृष्णहरि कोइराला, अच्युत आचार्य, सरोज फुयाल, मनिष गुरुङ निर्विरोध निर्वाचित भए।

अधिवेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत् बज्राचार्य, केन्द्रीय सचिव एवं बागमती प्रदेशका अभियन्ता सोनी लामा, केन्द्रीय सदस्य ज्ञानु लामा, बिना सिन्हा, सरस्वती जैसवाल, लक्ष्मण गुरुङ, राजन केसी र सन्तोष सिलवालले शुभकामना मन्तव्य दिए।

अधिवेशनमा जनता समाजवादी पार्टी ,नेपालका तामाङ सङ्घका केन्द्रीय अध्यक्ष बाबुराम तामाङ, नेवा राष्ट्रिय तटस्थ समितिका सहसंयोजक राकेश श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनको अन्त्यमा निवर्तमान काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेलले काठमाडौँ जिल्लालाई अझ प्रगति पथमा लम्काउने जिम्मेवारी नयाँ कार्यसमितिको काँधमा आएको बताए। सबैलाई समेट्ने र सबैलाई मिल्ने खालको काम गर्दै पार्टीको काममा अझ मजबुत हुन उनले आग्रह गरे।

‘यो पार्टी घर हो। सबैको साझा हो। अब तपाईँलाई फेरि चुनौती आउने र विभिन्न प्रलोभन आउने नै गर्छ,’उनले भने,‘उक्त प्रलोभनलाई र चुनौतीलाई आफूले चिर्दै अगाडि बढ्दै जाने हो भने हाम्रो सफलताको गन्तव्य धेरै टाढा जानु पर्दैन।’

उनले नयाँ कार्यसमितिलाई वडा तहमा गएर अझ पार्टी विस्तार गर्न पनि आग्रह गरे। पार्टी चिरा भएको र काठमाडौँ जिल्लामा सबै अशोक राई नेतृत्व जसपामा विलय भएका थिए। त्यतिबेला सचिव थिए पौडेल।

सबैले छोडेर जाँदा एक्लै काठमाडौँ जिल्लाको कार्यवाहक अध्यक्ष बनेका पौडेलले पार्टीलाई झन् मजबुत बनाउनको लागि दिनरात नभनी लागेको सुनाए। उनले अब आफूले प्रदेश अध्यक्षमा दाबेदारी दिने जानकारी गराए।

समाचार शेयर गर्नुहोस्
3.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.