‘जसपा नेपाल काठमाडौँको पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित हुनु ऐतिहासिक’

‘जसपा नेपाल काठमाडौँको पदाधिकारीमा तेस्रोलिंगी निर्वाचित हुनु ऐतिहासिक’

2.1k
SHARES

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा), नेपालको काठमाडौँ जिल्ला कार्यसमितिमा तेस्रोलिंगी नेतृत्वको ऐतिहासिक समावेशितालाई मायाको पहिचान नेपालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

पार्टीको जिल्ला कार्यसमितिमा पहिलो पटक दुई जना तेस्रोलिंगी नेताहरू उपाध्यक्षमा सम्झना केसी र सहसचिवमा राजीव महर्जन ‘मौनी’ निर्वाचित भएका छन्।

उनीहरूको यो निर्वाचित नेतृत्व समावेशी लोकतन्त्रको ऐतिहासिक उपलब्धि भएको जनाउँदै एसियाकै पहिलो समलिङ्गी सभासद् तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बधाई दिएका छन्।

“यो नेपालको समावेशी लोकतन्त्रतर्फको यात्रामा एउटा महत्त्वपूर्ण उपलब्धि हो,” मायाको पहिचान नेपालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार, गरिमा र नेतृत्व क्षमताप्रति समाजमा बढ्दो मान्यता र सम्मानको प्रतिबिम्ब देखाएको छ।”

पन्तले केसी र महर्जनसहित सम्पूर्ण काठमाडौँ जिल्ला कार्यसमितिलाई हार्दिक बधाई दिँदै, पूर्व जिल्ला अध्यक्ष विक्रम पौडेलप्रति पनि प्रशंसा व्यक्त गरेका छन्। पौडेलको दूरदर्शी नेतृत्वमा स्थानीय तह उपनिर्वाचनमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारहरूलाई अघि सार्ने ऐतिहासिक कदम चालेको स्मरण गर्दै पन्तले यो उपलब्धि राजनीतिक साहस र प्रगतिशील सोचको उत्कृष्ट उदाहरण भएको बताएका छन्।

“नेपाल जस्तो विविधतायुक्त राष्ट्रमा समावेशी लोकतन्त्र सम्भव छ भन्ने सन्देश यो सहभागिताले दिएको छ। यसले देशभरका हजारौँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई प्रेरणा र आशा दिनेछ, जो अझै पनि राजनीतिक प्रक्रियाबाट वञ्चित छन्,” पन्तले भने।

मायाको पहिचान नेपालले आगामी दिनहरूमा पनि सबै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै नेपालमा समावेशी र सहभागी राजनीति सुनिश्चित गर्न निरन्तर अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

“हामी वडा स्तरदेखि सङ्घीय तहसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवाज उठाउँदै जानेछौँ। समावेशी राजनीति नै समावेशी नीति निर्माणको आधार हो। समावेशी नीतिले मात्र न्यायपूर्ण, समान र दयालु नेपाल निर्माण गर्न सक्छ,” विज्ञप्तिमा भनिएको छ।

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.