चलचित्र ‘भूठान’मा नाङ्गिए हरिवंश, हरायो हाँसो

चलचित्र ‘भूठान’मा नाङ्गिए हरिवंश, हरायो हाँसो

आफूजस्तै अर्की छोरी साथी बनाएपछि आमा कन्सिरी तात्ने गरी रिसाउँछिन्। कल्चरले नस्विकार्ने बताउँछिन्। हप्काउँछिन्। गुनगुन शब्दले नै कडा प्रतिकार गर्छिन्।

1.9k
SHARES

काठमाडौँ : ‘तपाईँलाई देश फर्कन मिल्दैन भन्यो भने कस्तो हुन्छ?’ वरिष्ठ हास्य व्यङ्ग्य कलाकार हरिवंश आचार्य यो प्रश्नले खङ्ग्रङ्ग भए। यो प्रश्न आचार्यलाई अमेरिकामा सोधिएको थियो। ‘चिना हराएको मान्छे’ मात्रै होइन, ‘हाँसो हराएको भूमिका ‘गर्ने सोच थियो हरिवंशलाई।

मह जोडीका नामले चर्चित हरिवंशले अर्काको देशमा थुनिनु परेको पीडा व्यक्त गरे चलचित्र भूठानमा। देशको नाम भूठान भने होइन, भुटान नै हो। चलचित्रको नाम राखियो भूठान।

आचार्यले चलचित्रमा हजुरबाको रोल निभाएका छन्। भूठान, घर हराएको कथा हो। विष्णुबहादुर केसी भुटानको राष्ट्रिय खेलाडी हुन्। भुटान र भारतबीच फुटबल म्याच हुँदा पराजित भयो भुटान। थुप्रै गोल खायो।

विष्णुबहादुर नाममा अभिनय गरेका उनका दुई श्रीमती छन्। भारतसँग खाएको गोलको उपहारस्वरूप भुटान लगेकी भारतीय महिला र भुटानमै तामाङकी छोरीले रगत लतपतिएको पत्र दिए पछि घर भित्र्याएकी दुई श्रीमती छन् विष्णुबहादुरका।

भुटानले १ लाख भन्दा बढी नागरिक देश निकाला गर्दा विष्णुबहादुर पनि नेपालको शरणमा आउँछन्। दुई दशक शिविरको बास बसेर उनी परिवारसहित अमेरिका पुग्छन्। श्रीमती, छोराबुहारी र नातिनीसँगै अमेरिका पुगे पनि विष्णुबहादुरको मन भुटानमै दौडिरहेको हुन्छ। त्यही कथाको मुख्य पात्र हुन् विष्णुबहादुर।

भुटान राजालाई विष्णु बहादुर पत्र पठाउँछन्। ११४२ नम्बरको पत्र पन्जुसा खोलेर दुई पटक पत्र निकाल्छन्। ‘तर, त्यसमा के थियो? कथा बोल्दैन, मौन बसिदिन्छ’ विष्णुबहादुर मुरमुरिन्छन्,पत्र हातमा गुटुमुटु पार्छन्। उनले १० पटक भुटान जाने भिसा एप्लाई गरे। तर, सधैँ रिजेक्ट मात्र भयो।

विश्वको शक्तिशाली देश अमेरिकाको नागरिक हुन पाए। जन्मस्थान भुटान लेखियो। त्यही कारण उनी आफ्नो जन्मभूमि जान पाएनन्। भुटानी शासकको आफ्ना नागरिक स्वीकार नै नगर्ने लिडेढिपीलाई अमेरिकाले रेड जोनमा राखिदियो। यात्रा प्रतिबन्ध लगाउने भन्यो।

अमेरिकाको चेतावनी पछि अमेरिकी कानुन उल्लङ्घनको आरोप लागेका भुटानी शरणार्थीलाई स्वीकार गर्न तयार भएको भुटानले अहिले पनि विश्वलाई छक्क्याइरहेको छ।

अमेरिकाबाट डिपोर्ट भएका भुटानी शरणार्थीलाई भुटानले देश निकाला गरेपछि नेपाल आए। चार जना नेपाल प्रहरीको नियन्त्रणमा छन्। उनीहरूलाई वैशाख ११ गते इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। त्यसैको छेको पारेर चलचित्र भूठानको प्रिमियर भएको हो।

अमेरिकी नागरिक फिर्ता हुने बित्तिकै भुटानी शासकले आफ्नो देशका नागरिक स्वीकार गर्न इन्कार मात्रै गरेन, उसले भारतीय सीमा क्षेत्रमा ल्याएर फालिदियो। भुटानले अपनाएको अमानवीय हर्कतलाई विष्णुबहादुरले कथामा ढाल्न मेहनत गरेका छन्।

शरणार्थी शिविरबाट अमेरिका पुगेपछि धर्म परिवर्तनमा गरेकाहरूको अभिनय पनि हरिवंशले विष्णुबहादुर पात्र बनेर निभाएका छन्। हिन्दु धर्म मान्दै आएका विष्णुबहादुर परमात्मा परमेश्वरको शरणमा पुग्छन्।

धर्मका कारण भुटानले देश फर्कन नदिएको त होइन? उनी धर्म परिवर्तन गर्छन्। घरमा पूजापाठ चलिरहँदा विष्णुबहादुर परमेश्वरमा लिन बन्छन्। हरेक बोलीमा सबैलाई हँसाउने भूमिका वर्षौँसम्म कायम राखेका हरिवंश भूठान चलचित्रमा नाङ्गिएका छन्।

आचार्यले अभिनय गरेको चलचित्र भूठानको कथामा उनी मर्नु अगाडी नाङ्गिन्छन्, आफ्नै अर्धाङ्गिनीसँग। केही दर्शकहरू सिठी फुक्छन्। दुईचार सिट्ठी फुक्ने बाहेक दर्शकको केही साईसुई नै नभई एकाग्रतामै सकिन्छ चलचित्र भूठान।

चलचित्रको सिनमा मात्र नाङ्गिएका हुन् आचार्य। उनले कथालाई जीवन्त बनाउन कनी कोथ्री गरेको देखिन्छ। हँसाउने रोल त चलचित्रमा फिटिक्कै छैन भन्दा हुन्छ। उनकी नातिनी कडा स्वभावकी गुनगुन। उनी उतै अमेरिकामा नै जन्मिएकी हुन्।

उनले आफूजस्तै अर्की छोरी साथी बनाएपछि आमा कन्सिरी तात्ने गरी रिसाउँछिन्। कल्चरले नस्विकार्ने बताउँछिन्। हप्काउँछिन्। गुनगुन शब्दले नै कडा प्रतिकार गर्छिन्।

गुनगुनले आफू जस्तै अर्की छोरी साथीसँग किस खाएको सिन पछि बाबाआमाको छोरा जन्माउने इच्छा भएरै नै होला आमाले गर्भवती भएको सुनाउँछिन् श्रीमानलाई।

छोरीले आफू जस्तै अर्की छोरीसँग सम्बन्ध राख्दा स्वीकार नगर्ने समाजप्रति पनि चलचित्रले व्यङ्ग्य प्रहार गरेको छ। बाबुआमाले किन बुझ्दैनन्? कडा जवाफ दिने गुनगुनलाई हजुरआमाले समेत सम्झाउने प्रयास गर्छिन्।

गुनगुन लेस्बियन (समलिङ्गी महिला)को भूमिकामा देखिन्छिन्। ‘भाइ किन चाहियो?’ गुनगुन प्रश्न गर्छिन्। समाजले स्विकार्दैन भन्दै रिसले चुर भएको परिवारलाई गुनगुन पनि कडै जवाफ फर्काउँछिन्।

न त गुनगुनको विवाह हुन्छ, नत गर्भवती भएको भनेकी आमाले बच्चा नै जन्माउँछिन्। यो कथा यतिकैमा सकिन्छ। चुरो कुरो हजुरबाको भुटान फर्कने धोको पुरा हुँदैन। उनी रेलको लिगमा बुख्याचा जस्तै ठडिन्छन्। उनको निधन हुन्छ।

लास गाड्ने र जलाउनेमा बुबा एकै तर, दुई आमाका सन्तान झगडा गर्छन्। दाजु भाइको झगडामा दयाहाङ राईको प्रवेश हुन्छ। दयाहाङ पनि विष्णुबहादुरकै छोरा हुन्। ‘बाबाले तँलाई भनेको थियो कि मलाई? बाबाको इच्छा भुटान गएर मर्ने थियो।’ तर, जन्म भुटान र मरण अमेरिकामा भयो। उनीहरूको झगडा चलिरहँदा नै चलचित्र सकिन्छ।

भूठान चलचित्रमा सबै सिन अमेरिकाको छ। भुटानी शरणार्थी शिविरको सिन देखिँदैन। भुटान फर्कन पाउँ, श्रीसम्पत्ति फिर्ता पाउँ भनेर तेस्रोदेश पुनर्वास नभएका भुटानी शरणार्थीको भन्दा पनि अमेरिकामा पुगेका भुटानीको कथा बोलेको छ भूठान चलचित्रले।

चलचित्र भूठान हरिवंशको हाँसो हराएको र भुटानी नागरिकको घर हराएको कथा भने पक्कै हो। चलचित्रका निर्देशक विनोद पौडेलका अनुसार भुटानमा जन्म लिएको ६ महिनामात्रै भएको थियो,नारायण न्यौपानेको। भुटानी शासकले मध्यरातमा भाग्न विवश बनाए। आमाले बाँधिएका बस्तुभाउ फुकाएर छोडिदिइन। भएको अन्नपात आँगनमा छरिदिइन।

नारायणलाई काखी च्यापेर उनी शरणार्थी शिविर आइन। शिविरकै अङ्ग्रेजी माध्यममा पढाई हुने स्कुलमा नारायण भर्ना भए। सबैले किताबमा गाता हाल्थे। नारायणले पनि त्यही गरे। तर, नेपाली किताबमा भने नारायणले गाता राखेनन्। उनी ‘नेपाली नछोपियोस्’ भन्ने चाहन्थे।

दुई दशक शिविरमा बसेका नारायण अरूसँगै अमेरिका पुगे। उनीसँग संसारकै बलियो देशको पासपोर्ट छ। भुटान ओरिजनल भएका कसैलाई पनि भुटानमा प्रतिबन्ध छ। नारायण त्यही प्रतिबन्धमा परेका छन्। जहाँ आफू जन्मेको देश जानका लागि भिसा लाग्दैन।

नारायण जस्ता तेस्रोदेश पुनर्वास भएका भुटानीहरूको अरू कुनै इच्छा छैन। मर्नु भन्दा अगाडी भुटान पुग्न मात्रै पाए बाँचेको सार्थक हुन्छ भन्ने नै छ,चलचित्रको सन्देश।

समाचार शेयर गर्नुहोस्
1.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.