सर्वोच्चका सन्की अधिकृतको फेक पत्रले पक्राउ परेका रेशम रिहा, पत्र लेख्ने विष्ट थुनामा

सर्वोच्चका सन्की अधिकृतको फेक पत्रले पक्राउ परेका रेशम रिहा, पत्र लेख्ने विष्ट थुनामा

हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान

2.6k
SHARES

काठमाडौं : सर्वोच्च अदालतका सन्की शाखा अधिकृतको पत्रका आधारमा पक्राउ परेका रेशम चौधरी रिहा भएका छन्।

शाखा अधिकृत महिमान सिंह विष्टलाई सनक चढेकै भरमा अनाहकमा जेल गएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

गृहमन्त्री रमेश लेखकलाई समेत पत्तो नदिई सर्वोच्च अदालतकै लेटरप्याड प्रयोग गरी फेक पत्र लेखेर पक्राउ गर्न लगाउने विष्ट यतिबेला भने आफैँ प्रहरी हिरासतमा पुगेका छन्।

प्रहरीले विष्टलाई पक्राउ गरेर हिरासतमा राखेको छ भने सर्वोच्च अदालतले सच्याएर अर्को पत्र पठाएपछि चौधरी समर्थकहरूलाई हात हल्लाउँदै हिरासत मुक्त भएका छन्। उनले कुनै प्रतिक्रिया दिएनन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले अनधिकृत रूपमा पत्र लेख्ने विष्टलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले विष्टलाई थुनामा राखेर अनुसन्धान जारी रहेको बताए।

यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो।

विष्टले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन्। उनले आफूले होसमै पत्र लेखेको बयान दिएका छन्।

चर्चामा रहेको उक्त पत्र आधिकारिक नभएकोले त्यो कार्यान्वयन नगर्न अर्को पत्र पठाइएको सर्वोच्चका उपरजिस्ट्रार निराजन पाण्डेले जानकारी दिए। फेक पत्र लेख्ने विष्टलाई विभागीय कारबाही हुने उपरजिस्ट्रार पाण्डेले बताए।

शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएर पत्र पठाएपछि प्रहरीले चौधरीलाई नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा भएका थिए।

चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रूपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो। राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला शाखा अधिकृत विष्टले पत्र लेखेर चौधरीलाई पक्राउ गर्न लगाएका थिए।

विवादित छविका विष्ट

सर्वोच्च अदालतको लेटरहेडमा फेक पत्र लेखेर चौधरीलाई हिरासतमा पठाउने शाखा अधिकृत विष्ट काण्डैकाण्डमा मुछिएका विवादित व्यक्ति भएको पाइएको छ।

सिन्धुपाल्चोकको एउटा गाउँ विकास समितिमा सचिव हुँदा विष्टले गाविस अध्यक्षलाई नै सरुवा गरिदिने धम्की दिएको खुलेको छ।

विष्ट नुवाकोटमा स्रेस्तेदार हुँदा धम्क्याउन थालेपछि पुराना कर्मचारीले राजीनामा नै बुझाएका थिए। न्यायाधीश र अन्य कर्मचारीसँग विवाद बढेपछि विष्टको सरुवा भएको थियो।

नुवाकोटबाट कञ्चनपुर पुगेका विष्टले एक कानुन व्यवसायीको निवेदन दरपिठ गरेपछि बारले विज्ञप्ति निकालेर विरोध गरेको थियो। विवादमा परेका विष्टलाई सर्वोच्च अदालतले कञ्चनपुरबाट तानेर काजमा राखेको थियो।

यसअघि पटकपटक गल्ती गर्दै आएका विष्टले यो पटक भने जटिल प्रकृतिको र क्षेत्राधिकार नाघेर पत्र जारी गरेकाले कारबाही नै गर्ने तयारी भएको छ।

समाचार शेयर गर्नुहोस्
2.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.