"/>
काठमाडौं : मान्छेले सुविधा खोज्छ। सुविधाभोगी मान्छेको अर्को परिचय बनेको छ। गाउँ र सहरको तुलना गर्दा सहरमा सुविधा धेरै छ। सुविधा खोज्दै मान्छे गाउँबाट सहर पस्छ। दाइको गाउँमा भाइको घर बेसीमा, अझ केहीको काठमाडौँमा पनि हुनसक्छ।
गाउँमा भन्दा सहरमा मृत्युदर बढी देखिनुको कारण नै सुविधा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधु सुदन बुर्लाकोटी बताउँछन्।
स्वास्थ्यका सुविधा सहरमा बढी छ। बिरामी भइसकेपछि सुविधा कम भएको ठाउँबाट बढी भएको ठाउँमा झर्ने ट्रेन्ड छ। लामो समय गाउँमा बिताए पनि मृत्युको हुँदाको अवस्थामा सहरमा पुग्छ मान्छे। मृत्युको गणना सहरबाट काउन्ट हुन्छ।
जन्म गाउँमा मृत्यु सहरमा हुने गरेको देखिएको छ। गाउँमा बसेको स्वस्थ मान्छेको मृत्यु गाउँमै हुन्छ। उसको गणना गाउँमै हुन्छ।
पुरुषमा भन्दा महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी देखिएको छ। संसारकै इतिहास हेर्दा महिलाको औसत आयु बढ्दो गतिमा रहेको प्रमुख तथ्याङ्क अधिकारी बुर्लाकोटी बताउँछन्।
‘जसको घर जहाँ छ, त्यही गणना गरेको भए ग्रामीण भेगकै मृत्युदर बढी देखिन्थ्यो होला,’उनी भन्छन्। दुर्घटनामा मृत्यु हुनेको जनसङ्ख्या सहरमा उच्च छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.सं. २०७७ कार्तिक २५ देखि २०७८ कार्तिक २४ सम्मको विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गर्दै सडक र अन्य दुर्घटनाबाट हुने मृत्यु ५.९ प्रतिशत रहेको जानकारी दिएको छ।
सम्पन्नताको वर्गीकरणको आधारमा सबैभन्दा तल्लो पञ्चमक अर्थात् अति विपन्न वर्गमा जीवनप्रत्याशा ७१.३ वर्ष छ। अति सम्पन्न वर्गमा यस सूचकको मान ७३.१ वर्ष रहेको छ। गरिब भन्दा धनी धेरै बाच्ने तथ्याङ्क छ कार्यालयको। एक्लै बस्ने परिवारको जनसङ्ख्या बढेको देखिन्छ। अब वृद्धवृद्धाहरु घरमा एक्लै बस्न सक्ने अवस्था आउन सक्ने देखिएको छ।
अब वृद्धहरूलाई हेरचाह कसरी गर्ने? वृद्धहरूको सङ्ख्या १९५२-५४ देखि १९८१ सम्म लगभग ९१ सम्मै पाँच प्रतिशत रहेकोमा त्यो दोब्बर भएर १० प्रतिशत पुगेको छ। सय जनामा १० जना वृद्ध छन्।
अब २१ वर्षमा दोब्बर बढेर २० प्रतिशत पुग्ने पूर्वानुमान तथ्याङ्क कार्यालयले गरेको छ। बच्चाहरू र १५ देखि ५९ वर्ष उमेरका घट्दै जाने देखिएको बतायो तथ्याङ्क कार्यालयले। कार्यालयका सूचना अधिकारी लोकबहादुर खत्रीका अनुसार सय जनामा १६ जना ६० वर्ष माथिको जनसङ्ख्या देखिन्छ।
गोरखा जिल्लामा वृद्धको सङ्ख्या बढी र डोल्पामा कम देखिएको छ। ५० वर्षभन्दा माथिको जनसङ्ख्या सहरमा पस्ने गरेको देखिएको छ।
परिवारको संरचना तल पनि घर, माथि पनि घर, अझै काठमाडौँमा पनि घर। मृत्यु हुँदा फरक घरमा हुन्छ। त्यसको रेकर्ड सहरमा हुन्छ। त्यसले पनि सहरमा मृत्यु हुने जनसङ्ख्या बढी देखिएको बताउँछन्, तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने। सेवा, सुविधाको पहुँचका कारण बसाइसराइ पनि सहरमा बढी छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.