राजावादीहरू सक्रिय, प्रतिरक्षामा गणतन्त्रवादी

राजावादीहरू सक्रिय, प्रतिरक्षामा गणतन्त्रवादी

1.7k
SHARES

काठमाडौं : आगामी जेठ १५ गते राजा फर्काउने निर्णायक आन्दोलन गर्ने घोषणा गरेका राजावादीहरूको सक्रियता बढेको छ। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आइतबार काठमाडौँमा राजावादीहरूको भेला गरेर जेठ १५ गतेको प्रदर्शनमा सहभागी हुन देशभरका जनतालाई आह्वान गर्ने निर्णय गरेको छ।

समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले आन्दोलन पूर्णतया शान्तिपूर्ण रहने बताएको छ। त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगलाई आफूहरूको प्रदर्शनको अनुगमन गर्न आग्रह गर्ने निर्णय पनि भएको संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैठकले तीनकुने घटनाको सन्दर्भमा पक्राउ परेकाहरूलाई तत्काल रिहाइको माग गर्ने निर्णय पनि गरेको छ।

संसददेखि सडकसम्म राजतन्त्रको माहौल बनाउन राजावादीहरू सक्रिय भए पछि सरकार र गणतन्त्रवादी दलहरूले एकै स्वरमा चुनौती दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजा फर्काउने राजावादीहरूको सपना कहिल्यै पूरा नहुने दाबी गरे।

प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले कुनै पनि मितिमा राजतन्त्र नफर्कने जिकिर गरे। चैत १५ गते तीनकुनेमा हिंसा गर्ने कस्ता राजावादी हुन्? भनेर प्रधानमन्त्री ओलीले सोधे।

तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार मात्रै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ। अनुसन्धानका लागि बस्नेतविरुद्ध २ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तीनकुनेमा हिंसात्मक घटना गर्न उक्साएको अभियोग लगाएर राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेता कार्यकर्तालाई हिरासतमा राखिएको छ। राप्रपाका केही नेता छुटे पनि मिश्रलगायतलाई छोडिएको छैन।

त्यसैको विरोधमा राजावादीहरू झन् आक्रोशित भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कि राजा ल्याउने सहमति गर्नुपर्ने नभए देशबाट भाग्नुपर्ने भनी दिएको चेतावनीको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूहरू भाग्ने अवस्थामा नरहेको सुनाए।

धरान पुगेर लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राजतन्त्रको कुरा गर्नेहरूलाई नक्कली करार गरे।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भनेको सक्कली राजा वीरेन्द्र शाहको वंश नाश भएको नारायणहिटी राजदरबार हत्याकाण्ड छानबिनको प्रस्ताव अहिले संसदमै राजा फर्काउने कुरा गर्ने राप्रपाका नेताहरूले किन नगरेको भनेर सोधेका छन्।

समाचार शेयर गर्नुहोस्
1.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.