‘छोमोलुङ्मा संवाद’ बनोस् मातृसत्तात्मक विरासत उजागर गर्ने अवसर

‘छोमोलुङ्मा संवाद’ बनोस् मातृसत्तात्मक विरासत उजागर गर्ने अवसर

1.8k
SHARES

नेपाल सरकारद्वारा आयोजना भइरहेको ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनसँग सम्बन्धित उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रम हो। १७५ विदेशी प्रतिनिधि, चीन र भारतका विशिष्ट वक्ताहरू, तथा कोप २९ का अध्यक्षको सहभागिताले यसको अन्तर्राष्ट्रिय महत्वलाई पुष्टि गर्छ। तर, यस संवादको नामकरणमै हामीले इतिहास, संस्कार र भूगोलप्रति उपेक्षा देखाएका छौँ।

‘सगरमाथा’ होइन, ‘छोमोलुङ्मा’

Moutnt Everest लाई ‘सगरमाथा’ नाम नेपाली भाषामा दिइएको अवश्य हो, तर यो अपेक्षाकृत नयाँ नाम हो। यसभन्दा पहिलेदेखि नै शेर्पा समुदाय तथा तिब्बती संस्कृतिमा यो पवित्र शिखरलाई छोमोलुङ्मा भनेर चिनिँदै आएको छ, जसको अर्थ हो — ‘पर्वतकी आमा’। ‘मा’ अर्थात् माता। यो केवल नाम मात्र होइन, मातृसत्तात्मक संस्कृतिको एउटा प्रमाण हो, जसले हिमाली समाजको विश्वास, आराधना र जीवनशैलीमा महिलाको स्थानलाई उच्च सम्मान दिएको छ।

नेपालले यदि साँच्चिकै आफ्नो मौलिक सांस्कृतिक सम्पदा र तान्त्रिक परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न चाहन्छ भने, ‘सगरमाथा संवाद’ होइन, ‘छोमोलुङ्मा संवाद’ नाम उपयुक्त र सार्थक हुनेछ।

मातृसत्तात्मक सम्पदा संरक्षण

नेपाल एक प्राचीन तान्त्रिक भूमि हो। हाम्रो भूगोल, देवीदेवता, नदी, पर्वत — प्रायः सबै मातृरूपमा चिनिन्छन्: अन्नपूर्णा, धवलागिरि, सेती, काली, छिम्केश्वरी, अजिमा… यिनीहरू शक्ति र ऊर्जाका प्रतीक हुन्। तर आज तीर्थस्थल, मठमन्दिर, धार्मिक प्रतिष्ठान पितृसत्तात्मक सञ्जालभित्र सीमित छन्।

अब समय आएको छ — यी मातृसत्तात्मक स्थलहरू महिलाहरूको नेतृत्वमा दिनुपर्ने, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूसँग सम्बन्धित सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै उनीहरूकै सहभागितामा सञ्चालन गरिनुपर्ने।

मातृसत्तात्मक पर्यटन विकास

हामीलाई हाम्रो इतिहास पुनर्लेखन गर्न आवश्यक छ — यस्तो लेखन, जसले मातृसत्तात्मक दृष्टिकोणलाई समेट्छ। देवी तीर्थ, अजिमा पदयात्रा, छोरीहरूको पर्व, महिला शिल्पकारहरूको कला — यस्ता विषयलाई पर्यटनको केन्द्रमा ल्याएर ‘मातृसत्तात्मक पर्यटन’को अवधारणा विकास गरिनुपर्छ।

‘छोमोलुङ्मा संवाद’लाई यस्तो बनाऔं:

जलवायु परिवर्तन र पर्वतीय जीवनशैलीसँग मातृसत्तात्मक संस्कृति कसरी गाँसिएको छ भन्ने विषयमा बहस गरौँ।

महिलाहरू र तेस्रोलिंगी समुदायको दृष्टिकोणबाट पर्वतीय संरक्षण र विकासको रणनीति तय गरौँ।

सांस्कृतिक अधिकार, धार्मिक समावेशिता, र आर्थिक सशक्तीकरणको एजेन्डालाई केन्द्रमा ल्याऔँ।

‘सगरमाथा संवाद’लाई केवल एक सरकारी औपचारिकता नबनाऔँ। यसलाई मातृसत्तात्मक गौरव, सांस्कृतिक पुनर्संरचना, र समावेशी भविष्यको निर्माणतर्फ उन्मुख गरौँ।

हाम्रा पहाडहरू आमा हुन्। तिनको सम्मान ‘छोमोलुङ्मा’ पुनः नामकरणबाट सुरु गरौँ।

समाचार शेयर गर्नुहोस्
1.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.