"/>

मन्दिरको छायामा दबिएका आवाजहरू…

मन्दिरको छायामा दबिएका आवाजहरू…

2k
SHARES

काठमाडौँ : नेपालको सांस्कृतिक र धार्मिक संरचनाले सधैँ महिलालाई देवी बनाएर पूजा ग¥यो। तर सजीव महिलाको चेतनालाई भने दबाउँदै आयो। यही विरोधाभासलाई प्रश्न गर्ने, विखण्डन गर्ने र पुनः पढ्ने एक प्रयास हो,सुनिलबाबु पन्तद्वारा निर्माण गरिएको वृत्तचित्र ‘अजिमा र ६ लैङ्गिक पहिचान।’

वृत्तचित्रको प्रदर्शनपछि देशका अग्रणी महिला अधिकारकर्मीहरूसँग भएको अन्तरक्रियाले सांस्कृतिक संरचना, पितृसत्ताको वर्चस्व र लैङ्गिक पहिचानबारेको विमर्शलाई नयाँ मोड दिएको छ। वृत्तचित्र अजिमा र ६ लैङ्गिक पहिचान एउटा मात्र चलचित्र होइन, यो एउटा सांस्कृतिक प्रतिबिम्ब हो जहाँ मन्दिरका मूर्तिहरू र मिथकहरूलाई पुनः पढ्न आग्रह गरिएको छ।

महिला अधिकारकर्मी बिन्दु पोखरेलको शब्दमा,“हामी मन्दिरमा जान्छौँ, मूर्ति हेर्छौँ, पूजा गर्छौँ। तर, जीवन्त महिलालाई ओझेलमा पार्छौँ। योनीशक्ति पूजा गर्ने समाजले यौनिकतामाथि घृणा किन राख्छ?“

उनको सवाल पितृसत्ताको मौन आक्रोश विरुद्ध एउटा सशक्त हस्तक्षेप हो। धार्मिक मन्दिरहरूमा देखिने आकृतिहरू-अश्लील होइनन्, उनीहरू सांस्कृतिक साक्षी हुन्, हामी कहाँबाट कहाँ आइपुग्यौँ भन्ने।

दलित महिला सङ्घ फेडोकी महासचिव रेनु सिजापति भन्छिन्, “जब मातृसत्ताको ठाउँमा पितृसत्ता आयो, त्यसले लिङ्ग, जाति, वर्ग विभेद जन्मायो।”

मातृसत्ताले कहिल्यै विभेदलाई बढवा दिएको थिएन। पितृसत्ताले भने धर्म, परम्परा र मूल्य–मान्यताको नाममा महिलामाथि नियन्त्रणको संरचना बनाइदियो।
अधिकारकर्मी निर्जला भट्टराईले श्रम, हेरचाह र सामाजिक योगदान अझै बेनाम रहेको बताइन। “कुमारीलाई सत्ता दिएको जस्तो देखिए पनि व्यवहारमा महिलाले आत्मनिर्णयको अधिकार पाएका छैनन्। शक्ति भए पनि अधिकार कुण्ठित छन्।“

ओरेक नेपालकी अध्यक्ष रेनु अधिकारी भन्छिन्, “परम्परादेखि नै महिला र पुरुष मात्र छैन। धेरै पुरुष गुण लिएका महिलाहरू छन्। धेरै पुरुषहरू महिला गुण लिएका पनि छन्। पुरुष गुण भएका महिलाहरूलाई पनि विभेद गरिन्छ। महिला गुण भएका पुरुषहरूलाई विभेद गरिन्छ। कस्तो आइमाई जस्तो? कस्तो लोग्ने मान्छे जस्तो?”

तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बुले महिला, पुरुषजस्तै उत्पत्तिको हिस्सा भएको बताइन। “फरक शारीरिक संरचनाले हामीलाई ’अलग’ बनाउँछ, ’अयोग्य’ होइन। हामी महिला, पुरुष भन्दा भिन्न छौँ। फरक तृतीय प्रकृतिको तेस्रोलिंगी भनिएको हो। म आफूलाई तेस्रोलिंगी महिला भनेर चिनाउँछु,”उनले भनिन्,“भगवानको पालदेखि, मातृसत्तात्मक उत्पत्ति भएदेखि महिला पुरुषसँग हामी पनि जन्मिएर आएको हो।”

कानुनकी विद्यार्थी विनीता पाण्डे यो विषय पश्चिमाले सिकाएको हो भन्ने बुझाइ गलत रहेको बताउँछिन्। यौनिकता पढेर मात्रै होइन, हेरेर पनि बुझिन्छ,मन्दिर वरपरको कला नै पर्याप्त पाठशाला हो।

ओरेक नेपालकी संस्थापक एवं महिला अधिकारकर्मी रेनु अधिकारी आर्टबाट हुने एक्टिभिजमले मान्छेको दिलै छुन्छ भन्छिन्। यही भावनाले भरिएको वृत्तचित्रमा इतिहास, मूर्ति, तन्त्र, यौनिकता र अस्तित्वको बहस एकै सन्दर्भमा जोडिएको उल्लेख उल्लेख गरिन्।

निर्माता एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले भने,“जसबाट सिर्जना हुन्छ, त्यसप्रति घृणा किन? त्यही यौन अभ्यासको सम्मान गर्ने अभियान हो यो।”

अन्तरक्रियामा सहभागी अधिकारकर्मीहरूले यो विषय विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाए। वृत्तचित्रले नेपाली परम्पराबाटै समलिङ्गी, तेस्रोलिंगी अस्तित्वको पुष्टि गरेको छ।

वृत्तचित्रको प्रदर्शन मायाको पहिचान नेपाल र ओरेक नेपालको संयुक्त आयोजनामा भएको हो। सहभागीहरूले यस्तो विमर्श विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने सुझाव दिएका छन्।

वृत्तचित्र अजिमा र ६ लैङ्गिक पहिचान अब बुधवार पोखरामा प्रदर्शन हुँदैछ। नेपाली समाजको चेतनामा पुरातन यौनिक विविधता पुनःस्थापना गर्ने यो एउटा सशक्त कला–आन्दोलन बनेको छ।

यो कला, यौनिकता, अधिकार र इतिहासबीचको सँगालो हो, जसले नेपाली समाजभित्र दबिइरहेका तेस्रोलिंगी, समलैंगिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको पहिचानलाई आफ्नै जरा र परम्पराबाट पुष्टि गर्न खोजेको छ।

महिलाको परिभाषा तयार गर्ने पश्चिमा डिबेट, नेपालबाट सिक्न चुनौती

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.