काठमाडौं : निर्वाचन आयोगले १८६ जना ‘अन्य’ लैङ्गिक पहिचानका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। १ करोड ८१ लाख ४८ हजार ६५४ मतदातामध्ये १८६ जना अन्य लैङ्गिक पहिचानका मतदाता रहेको जानकारी आयोगले दिएको हो।
विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएता पनि महिला मतदाता ७,६९९ र पुरुष मतदाता १२,१२४ थप भई जम्मा १९,८२२ जना मतदाता थप भएका छन्।
आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भए अनुसार महिला मतदाता ८९,१०,८९६, पुरुष मतदाता ९२,३७,५७२, अन्य मतदाता १८६ गरी तत्काल जम्मा १,८१,४८,६५४ को मतदाता नामावलीमा अन्तिम मतदाता नामावली कायम भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन।
२०८१ कार्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९,०३,१९७, पुरुष मतदाता ९२,२५,४४८, अन्य मतदाता १८७ गरी जम्मा १,८१,२८,८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो।
२०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगको वेबसाइटमा प्रकाशित गरी अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो।
साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने सम्बन्धित सरोकारवालाहरू सबैमा आयोगले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.