काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको आपराधिक मुद्दामा साक्षी झिकाएर बकपत्र गराउने प्रक्रिया चलिरहेको छ। काठमाडौं जिल्ला अदालतले सरकारी वकिलको कार्यालयमार्फत साक्षी झिकाएर घटना विवरण कागज, बकपत्र गराइरहेको छ।
अदालतले गत वैशाख २ गते यता तीन पटक साक्षी झिकाउने आदेश दिइसकेको छ। आइतबार जिल्ला न्यायाधीश रामचन्द्र खड्काको इजलासले पनि यसअघि जस्तै साक्षी बुझ्ने आदेश दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अब जेठ ८ गते बाँकी साक्षीको घटना विवरण कागज र बकपत्र गराउन अदालतमा उपस्थित गराउनेछ।
इजलासले भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले शान्ति सुरक्षा कायम गरिपाऊँ भनी गौशाला प्रहरीमा दिएको निवेदनको प्रति झिकाउने आदेश दिएको अदालतको प्रशासन शाखाका शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए।
रिजालले लक्ष्मी कोइराला, कृष्ण कोइराला, राम शरण के.सी. र प्रेम पन्थीका विरुद्धमा निवेदन दिएको बयान दिएका थिए। रिजालले निवेदन दिएपछि नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएको थियो।
नक्कली भुटानी शरणार्थी मुद्दामा पछिल्लो पटक पक्राउ परेका बेचेन झा सहित ३१ जना प्रतिवादी छन्। मुख्य जाहेरवाला ६१ जनाको तर्फबाट गजेन्द्र बुढाथोकीले अदालतमा बकपत्र गरिसकेका छन्।
रामकुमार रेग्मीको बकपत्र भएको छैन। वैशाख ९ गतेदेखि बकपत्र सुरु भएको हो। ११५ जनाबाट असुल गरेको २८ करोड, ८१ लाख ७४ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ। भुटानी शरणार्थी बनेर अमेरिका जान ६१ जनाले गजेन्द्र बुढाथोकी मार्फत सन्देश शर्मालाई ९ करोड ७८ लाख रुपैयाँ बुझाएको अभियोग पत्रमा उल्लेख छ।
जाहेरवाला रामकुमार रेग्मीले १६ जना मार्फत ३ करोड ६ लाख रुपैयाँ सन्देश शर्मालाई बुझाएको उल्लेख छ। रोशन खरेलले सागर राई, केशव प्रसाद दुलाल, सानु भण्डारी र अशोक पोखरेल, दिपा हुमागाञीलाई १ करोड ६२ लाख रुपैयाँ बुझाएको जाहेरीमा उल्लेख छ।
गोकुल भट्टराईले सागर राईलाई ५० लाख, सुनम दाहालले गोविन्द चौधरीलाई १ करोड १४ लाख बुझाएको उजुरीमा छ। रविन्द्र कार्कीले आशिष बुढाथोकी, केशव दुलाल, सागर राई, रूपक कार्कीले मोहन राई, कुमार खड्का, प्रदीप फुयाल, मिलन श्रेष्ठ, दिलीप गौतमले सागर राई, सानु भण्डारी र केशव दुलाललाई रकम बुझाएको उजुरीमा उल्लेख छ।
आङटावा शेर्पालाई जिमा सेपेर्नी समेत ६ जनाले ५४ लाख रुपैयाँ बुझाएको उजुरी छ। तेन्जी पुटी सेर्पिनी, जिमा सेर्पा, पेम्बा शेर्पा, लमडोमा शेर्पा र सोनी शेर्पा मध्ये ३ जनाले आफूहरूले अमेरिका जान रकम नबुझाएको बकपत्र गरेका अदालत प्रशासन स्रोतले बताएको छ। उनीहरूले जलविद्युत कम्पनीको सेयरमा लगानी गर्न रकम बुझाएको बकपत्र गरेका छन्।
जाहेरवालाहरू सरकारी साक्षीहरू झिकाउन सरकारी वकिलको कार्यालयलाई हम्मेहम्मे परेको छ। गजेन्द्र बुढाथोकीले ६० जना जाहेरवालाको तर्फबाट बकपत्र गरेका छन्। ‘अब बकपत्र गराउन बाँकी धेरै छैनन्,’अदालत प्रशासन स्रोतले भन्यो। पहिलो लटमा २६ जनाको बकपत्र भएको छ।
दोस्रो लटमा ५ जनाको बकपत्र भएको छ। वैशाख २८ गते पुरुषोत्तम थापा, निर्मला कार्की, भरत बहादुर बस्नेत, देवेन्द्र पराजुली र झप्पड बहादुर खत्रीको बकपत्र भएको हो।
तेस्रो लटको बकपत्र ८ जेठमा हुनेछ। प्रतिवादीहरूका साक्षीहरूको भने बकपत्र सकिएको अदालत प्रशासनले बताएको छ। प्रतिवादीहरूले मुख्य जाहेरवाला गजेन्द्र बुढाथोकीले जाहेरी दर्ता हुँदा आफू अमेरिका रहेको बयान दिएको बताए पनि त्यो सत्य नभएको अदालत प्रशासनले जनाएको छ। ‘उजुरी आफैँले दिएको भन्ने छ,आफ्नो होइन भन्ने झुटो हो,’अदालत प्रशासनका एक कर्मचारीले भने।
पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीले उजुरी गर्नेहरू अदालतमा उपस्थित भएर पनि बकपत्र नगरेको बताए। रायमाझीले मुख्य उजुरीकर्ता बुढाथोकीले नै आफ्नो उजुरी नभएको बकपत्र गरेको सुनिएको बताएका थिए। ‘दोषी भए दुख पाउनु नपर्ने रहेछ,निर्दोष भएर जेल परियो,’अदालतमा हाजिरी भएका रायमाझीले भने।
काठमाडौं जिल्ला अदालतले वैशाख २ गते सरकारका साक्षी जाहेरवाला लगायतका घटना विवरण गर्ने मानिस, प्रतिवादीहरूका साक्षीलाई उपस्थित गराई बकपत्रको कार्य सम्पन्न गर्न आदेश दिएको थियो। न्यायाधीश बलराम लम्सालको इजलासले बालकृष्ण पन्थी संयोजकत्वको समितिको प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट २०८० वैशाख २६ को पत्र मार्फत २०७८ मङ्सिर १७ मा समावेश प्रतिवेदनको छाया प्रतिको सक्कल प्रति झिकाउन पनि आदेश दिएको थियो।
नक्कली भुटानी शरणार्थी : बाँकी साक्षी बुझ्ने आदेश
नक्कली भुटानी शरणार्थी : अदालतमा प्रतिवादीहरुको दैनिक हाजिरी सुरु, १९ जनाको सकियो बकपत्र
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.