नक्कली भुटानी शरणार्थी : अन्तिममा पुग्छन् पूर्वगृहमन्त्री खाण

नक्कली भुटानी शरणार्थी : अन्तिममा पुग्छन् पूर्वगृहमन्त्री खाण

2k
SHARES
फायल तस्बिर

काठमाडौं : शुक्रवार ३ः२० मा पूर्वगृहमन्त्री बालकृष्ण खाण काठमाडौं जिल्ला अदालतमा प्रवेश गरे। मुख्य गेट बन्द भइसकेको थियो। पछाडि गाडी पार्किङ गर्ने तिरबाट एक जना सहयोगीका साथ अदालतमा पुगेका खाणले कुनै प्रतिक्रिया भने दिएनन्।

प्रश्न : के छ तपाईँको?

खाण : ठिकै छ।

प्रश्न : केही भन्नु छ कि?

खाण : केही छैन।

अदालतको ९ नौ नम्बर फाँटमा जान लिफ्टतिर लागेका उनले थप केही भनेनन्। उच्च अदालत पाटनको आदेशमा हिरासत बाहिर रहेर मुद्दाको पुर्पक्ष गरिरहेका खाण प्राय अन्य प्रतिवादीहरू अदालतमा हाजिर भएर निस्केपछि अन्तिममा पुग्ने गरेका छन्।

शुक्रवार सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सन्तोष कटवाल पनि अदालतमा थिए। बिहीबार १२ जनालाई बकपत्रका लागि उपस्थित गराइएकोमा १० जनाको सकिएको छ। २ जनाको बाँकी छ। घटना विवरण कागज र बकपत्र गर्ने दिन प्रतिवादीहरू अनिवार्य उपस्थित हुने गरेका छन्।

अरू बेला तारिखको दिन मात्र उपस्थित भए पुग्थ्यो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई सहितका प्रतिवादीहरू दिनभर अदालतमा बसेर साँझ पुन हिरासतमा फर्कन्छन्।

तर धरौटीमा छुटेका पूर्वगृहमन्त्री खाण सहितका प्रतिवादीहरू भने अदालतको अन्तिम समयमा मात्रै पुग्ने गरेका छन्। शुक्रवार अन्तिम समयमा पुगेका खाण आइतबारको तारिख बुझेर फर्किए।

२७ वैशाख २०८० मा चाबहिल मैजुबहालबाट पक्राउ परेका खाणमाथि गृहमन्त्री रहेको समयमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने निर्णय भएको अभियोग छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराध अभियोगमा खाण १ असार २०८० देखि केन्द्रीय कारागार सुनधारामा थिए। काठमाडौं जिल्ला अदालतको आदेशमा हिरासत पुगेका खाण उच्च अदालतको आदेशले ३० मङ्सिर २०८० मा ३० लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारिखमा रिहा भएका थिए।

खाण गृहमन्त्री र पाण्डे गृहसचिव भएका बेला तत्कालीन सहसचिव बालकृष्ण पन्थी संयोजक रहेको शरणार्थीसम्बन्धी प्रतिवेदनको अनुसूची नै किर्ते गरेको खुलेको थियो। काठमाडौं अदालतका न्यायाधीश प्रेमप्रसाद नेउपानेको इजलासले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न र खाणसहित थुनामा रहेका बाँकीलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।

नक्कली भुटानी शरणार्थी : टेकनाथले गौशाला प्रहरीमा दिएको निवेदनको प्रति झिकाउन आदेश

२०८० मङ्सिर १५ मा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा खाणको पुनरावेदनमा राय बाझिएको थियो। पाण्डेले धरौटीमा रिहा गर्न राय दिएका थिए भने न्यायाधीश खरेलले रिहा गर्नुपर्ने आदेशविरुद्ध राय दिएका थिए।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। पूर्वउपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, पूर्वसांसद आङटावा शेर्पा तथा बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द चौधरी, सन्देश शर्मा पाटन उच्च अदालतकै आदेशमा पुर्पक्षमा छन्। लक्ष्मी महर्जन, टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकी साधारण तारिखमा रिहा भएका थिए।

यही अभियोगमा सक्कली भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल पाटन उच्च अदालतको आदेशमा धरौटी बुझाएर खाण जस्तै अदालतमा हाजिर भइरहेका छन्। प्रतिवादीहरूका साक्षीको भने बयान सकिएको अदालत प्रशासनले जनाएको छ।

जिल्ला अदालतले तेस्रो पटक दिएको घटना विवरण कागज र बकपत्र गराउने (साक्षी बुझ्ने) आदेश दिएको छ। सरकारी वकिल कार्यालयले मुख्य उजुरीकर्ता गजेन्द्र बुढाथोकी, रामकुमार रेग्मी सहित उजुरीकर्ताको घटना विवरण कागज र बकपत्र भइसकेको अदालत प्रशासनले जनाएको छ।

अदालतले गत वैशाख २ गते यता तीन पटक साक्षी झिकाउने आदेश दिइसकेको छ। नक्कली भुटानी शरणार्थी मुद्दामा पछिल्लो पटक पक्राउ परेका बेचेन झा सहित ३१ जना प्रतिवादी छन्।

मुख्य जाहेरवाला ६१ जनाको तर्फबाट गजेन्द्र बुढाथोकीले अदालतमा बकपत्र गरिसकेका छन्। रामकुमार रेग्मीलाई पनि बकपत्रका लागि अदालत उपस्थित गराइएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए। अब १/२ जना जाहेरीकर्ता मात्र अदालतमा उपस्थित हुन बाँकी रहेको कटवालले बताए। ‘ती पनि हुन्छन्,’उनले भने।

पहिलो लटमा २६ जना र दोस्रो लटमा ५ जनाको बकपत्र भइसकेको छ। अदालतले ४ जेठमा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले शान्ति सुरक्षा माग्दै प्रहरी वृत्त गौशालामा दिएको जाहेरी झिकाउन पनि आदेश दिएको थियो। रिजालले निवेदन दिएपछि नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएको थियो।

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.