मानव तस्करीले गृहमन्त्री लेखकलाई तनाव, अनियमितता प्रमाणित गर्न चुनौती

मानव तस्करीले गृहमन्त्री लेखकलाई तनाव, अनियमितता प्रमाणित गर्न चुनौती

2.1k
SHARES

काठमाडौं : गत मङ्गलवार विमानस्थल अध्यागमनबाट गृह मन्त्रालयमा सरुवा हुन नपाउँदै सहसचिव तिर्थराज भट्टराई पक्राउ परे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सूचना चुहिएकाले गृह मन्त्रालयले भट्टराईलाई बिहान मात्रै सरुवा गर्ने निर्णय गरेको थियो। रंगेहात पक्राउ गर्ने अख्तियारको प्रयास सफल हुन सकेन।

सूचना बाहिरिएकै कारण कतिपय प्रमाण समेत भट्टराई हटाएको अख्तियार स्रोतले बताएको छ। भट्टराईलाई गृहमन्त्री रमेश लेखकले गत २३ असोजमा विमानस्थलको अध्यागमन प्रमुख बनाइएको थियो। दिनमै ५० लाखसम्म रकम असुली भएको र त्यो रकम गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुग्ने गरेको अख्तियारले सूचना पाएको थियो।

अख्तियारले छानबिनका लागि भट्टराई नियन्त्रणमा लिएसँगै नौ जना नायब सुब्बा, तीन जना कम्प्युटर अपरेटर र एक जना सहायक कम्प्युटर अपरेटरको सरुवा भइसकेको छ। दरबन्दी बढी सङ्ख्यामा खटाइएका ती कर्मचारीलाई अध्यागमन कार्यालयबाट सरुवा गरिएको हो।

विमानस्थल अध्यागमनबाट दैनिक ५० लाख रुपैयाँसम्म असुल्ने गरिएको घटनामा गृहमन्त्री लेखकमाथि नै छानबिन हुनु पर्ने दबाब छ।

गृह प्रशासनकै संलग्नतामा मानव तस्करीको जालोले रकम असुली गरिरहेको आरोप बाहिरिएको चार दिन पछि मात्र गृह मन्त्रालयले विज्ञप्ति निकालेको छ। गृहमन्त्री लेखकले भिडियो सन्देश जारी गरेका छन्।

त्रिभुवन विमानस्थलको अध्यागमन प्रकरणमा आफू मातहतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको चार दिनपछि मन्त्री लेखकले गलत भएको दिन देखि राजनीतिमा देखा नपर्ने बताए।

बिहान धनुषामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले कुनै पनि पार्टीका साथीहरूको टाउको निहुरिने काम नगर्ने समेत सुनाए।

लेखकको रोजाइमा परेका सहसचिव भट्टराईलाई अख्तियारले बयान लिएर छाडेको छ। सहसचिव भट्टराईले भिजिट भिसामा विदेश जाने हरेकसँग ५० हजार देखि ३ लाख रुपैयाँ रकम असुली गरेको बयान दिएको अख्तियार स्रोतले बताएको छ।

तर, गृहमन्त्री लेखक र उनले कमान्ड सम्हालेको गृह मन्त्रालय भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीको खण्डन गरेर बसेको छ। गृहमन्त्री लेखकले पनि अनियमितता प्रमाणित गर्न चुनौती दिए।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिवार विज्ञप्ति निकालेर विमानस्थल अध्यागमन कार्यालयको कार्यसम्पादन सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अनुसन्धान गरिरहेको उल्लेख गरेका छन्।

मन्त्रालयले अनुसन्धान पश्चात् सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरेको छ। विमानस्थलबाट हुने गरेको मानव तस्करीबारे भने गृह मन्त्रालय मौन बसेको छ। आफू मातहतका कर्मचारी पक्राउ पर्ने र त्यो रकम असुली गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुग्ने गरेको आरोपमा मन्त्रालय खण्डनमा मात्रै सीमित बनेको छ।

गृहमन्त्री लेखकले विमानस्थलको भिजिट भिसा प्रकरणबारे जेठ १३ गते संसदमा जवाफ दिने र कर्मचारीको गल्तीमा मन्त्रीले राजीनामा दिनु नपर्ने जिकिर गरेका छन्।

गृहमन्त्री लेखकलाई भने राजीनामाको दबाबले तनाव भएको छ। उनी कर्मचारीको अनियमिततामा मन्त्री राजीनामा दिएको अहिलेसम्म नभएको बताउँछन्। ‘गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ। यसमा हजारमा होइन, लाखमा कर्मचारी छन्। लाखौँलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्षम निकायले कुनै बेला बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’गृहमन्त्री लेखकले भने,’कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ? मेरा विरुद्ध षडयन्त्रमूलक ढङ्गले झुटा प्रचारबाजी भइरहेको छ।’

सभापति रवि लामिछानेलाई हिरासतमै राख्ने सर्वोच्चको फैसला पछि आत्तिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। रास्वपाले नेपाली राजनीतिप्रति घृणाको कारक नबन्न आग्रह गर्दै गृहमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको हो।

विगतमा लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त प्रस्तुत गरेकाले सोही कुरा उनलाई रास्वपाले स्मरण गराएको छ। रास्वपाले गम्भीर प्रकृतिको यो आरोपबारे निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरेको छ।

रास्वपाले सरकारमा रहेका दुई ठुला दलहरूको १० महिने गठबन्धनले मुलुकमा निराशा थपेको र सुशासनको धज्जी उडाएको आरोप समेत लगाएको छ।

गृहमन्त्री लेखकको प्रतिपक्षी दलले मात्रै होइन, आफ्नै दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पनि नैतिकताका आधारमा राजीनामा दिन भनेका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले विमानस्थल अध्यागमनमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने सुझाव दिए।

विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा लेखककै नैतिकतामा सघाउ पुग्ने कोइरालाको भनाई छ।

गृहमन्त्री लेखकमाथि दैनिक ५० लाख असुली गरेको आरोपले खैलाबैला

समाचार शेयर गर्नुहोस्
2.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.