काठमाडौं : भिजिट भिसा प्रकरणमा विमानस्थलबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराईको सोमबारदेखि बयान हुने भएको छ।
आइतबार मछिन्द्रनाथको भोटो देखाउने जात्राका कारण उपत्यकामा सार्वजनिक बिदा हुने भएकाले सोमबारदेखि बयान हुन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
गृहमन्त्री रमेश लेखक समेत मुछिएको आरोप लागेको भिजिट भिसा प्रकरणमा प्रारम्भिक बयान दिएका विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराईसहितका आरोपीहरू सोमबार अख्तियारमा हाजिर हुनुपर्नेछ।
भिजिट भिसामा खाडी मुलुक जानेसँग ५० हजार र युरोपियन देश जानेसँग ३ लाख रुपैयाँ रकम असुली भएको उजुरी अख्तियारमा परेको छ। त्यही उजुरीका आधारमा सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेर छाडेको अख्तियारले आइतबार उपस्थित हुन भनेको थियो।
आइतबार सार्वजनिक बिदा भएकाले सोमबारबाट बयान सुरु हुने अख्तियारका एक उच्च अधिकारीले जानकारी दिए। ‘सामान्य सोधपुछ गरेर छाडेकाहरूसँग बयान सुरु हुन्छ,’ती अधिकारीले पहिचानसँग भने।
अख्तियारले विस्तृत अनुसन्धान गर्ने तयारी गरे पछि गृहमन्त्री लेखकले भिसा प्रकरणको अनुसन्धानमा रहेका डिआइजी हिमालयकुमार श्रेष्ठको सरुवा गर्ने निर्णय गरेका थिए। तर, चौतर्फी आलोचना पनि डिआइजी श्रेष्ठको सरुवा फिर्ता गरेका गृहमन्त्री लेखकको संसद्मा राजीनामा माग भइरहेको छ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अवरोध जारी रहने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ काँग्रेस र एमालेको संरक्षण पाएका लेखक राजीनामा नदिने अडानमा छन्।
भिजिट भिसामा दुबई जाने र त्यहाँबाट युद्ध ग्रस्त देशमा पुगेका नेपाली युवाले ज्यान गुमाएका छन्। विमानस्थलमा रकम बुझाएर गएका नेपाली युवाहरूको गन्तव्य मुलुकमा बिचल्ली भएको छ। तर, अनुसन्धानलाई नै प्रभावित पार्न लागेको सरकारमाथि आरोप छ।
प्रधानमन्त्री ओलीले एक कर्मचारीमाथि प्रश्न उठेकै भरमा गृहमन्त्रीको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन्।
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने तर्क गरेका ओलीले काँग्रेसलाई घरभित्रको झगडा बाहिर नल्याउन पनि भनेका छन्। घरभित्रको झगडा बाहिर ल्याएर छिमेकीलाई तमासा नदेखाउन ओलीले सुझाव पनि दिए।
गृहमन्त्री लेखकले स्वीकारे अध्यागमनमा सरुवा, रविले गृहमन्त्री बन्नु अघि नै कसरी बनाए सिडिओ?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.