सन् १८४९ को शिशिर ऋतु। रुसी शहर सेन्ट पिटर्स्बर्गको कटक्क छाला काट्ने ठण्डी। आकाश कालो-मैलो छ। सिमेनोव्स्कीको विशाल चौरमा एक युवकलाई युद्धबन्दीझैं उभ्याइएको छ। उसलाई एउटा ठूलो खाँबोमा बाँधिएको छ। ऊ जाडोले थरथर काँपी रहेको छ। उसँग जम्मा २१ उजस्तै बन्दी छन्। उनीहरु सबै काँपीरहेका छन् जाडोले थोरै तर, मृत्युभयले धेरै। प्रश्न यहाँनेर के छ भने उनीहरुलाई किन मृत्युको डर भयो त? किनकि उनीहरुका सामुन्ने एककैदी बराबर एक सिपाही बन्दुक ताकेर उभिएका छन्। अब केही पलमा उनीहरुलाई सैन्य अधिकारीले आदेश जारी गर्नेछ र सबै कैदीलाई गोलीले भुटिनेछ। ती कैदीमध्येको एकजना नवजवान लेखक हो फ्योदोर दोस्तोएव्सकी। खासमा उसले के अपराध गऱ्यो र मृत्युदण्डको सजाय पायो? उसलाई चौरमा उभ्याएर गोली हान्ने आदेश किन दिइयो?
फ्योदोरले सानै उमेरमा ठूलो भएपछि एउटा गतिलो लेखक बन्ने सपना देखेका थिए। उनी संसार र मानवसभ्यताका बारेमा जे कुरा सोच्थे त्यो सोचाइलाई न्यायिक सरोकारमा केन्द्रित कथाहरुको माध्यमबाट सार्वजनिक गर्ने सपना देख्थे। आखिर सपना देख्नु त रहेछ निः कति सजिलो! सुन्नमा अति सहज यो कुरा यथार्थमा सजिलो कहाँ छ र! यसका लागि आफ्नै शरीरको खाल उतार्नुपर्छ। जहर पिउने हिम्मत गर्नुपर्छ। अरुका कथा लेख्नभन्दा पहिले किताबहरुको पढाइ, आफ्नै जीवन र आफूजस्ता अनेक मानिसहरुको भोगाइ अनुभूत गर्नुपर्छ। वेदनालाई हड्डीभित्रको मासी गलाएर बाहिर निकालेझैं पगाल्न सक्नुपर्दछ। जीवनका सारा अवयवको गहन अध्ययन जरुरी हुन्छ। अनि अनेकौं देशहरुमा, कुनै विशेष कालखण्डहरुमा मानिसले किताब पढ्नु पनि घोर अपराधको रूपमा परिभाषित गरिन्छ। त्यो दिन सिमेनोव्स्की चौरमा बाँधिएर मृत्यु कुरिरहेका फ्योदोरको अपराध पनि त्यही थियो जसले केही पुस्तकहरु पढेका थिए। केवल किताब पढेको र लेखक बन्ने सपना देखेको ‘अपराध’मा उनी (हरू)-विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको थियो।
मृत्युदण्डको पृष्ठभूमि रहस्य
सन् १८४० को दशकमा रुसको राजनीतिक परिस्थिति सहज थिएन। त्यहाँ जारको शासन थियो। त्यो बेला रुसका राजाहरुलाई जार भनिन्थ्यो। ल्याटिन भाषामा एउटा शब्द छः ‘सिजर’। यहाँहरुले रोमन साम्राज्यको इतिहासबारे केही कुरा सुन्नुभएको छ भने जुलियस सिजर नाम पनि सुन्नुभएकै हुनुपर्छ। ल्याटिन भाषामा सिजर भनेको सामान्य बोलीचालीको अर्थमा बडामहाराज अथवा सम्राट! ल्याटिन शब्द ‘सिजर’ रुसी भाषामा संक्रमित भएपछि बनेको थियो शब्द ‘जार’। जारहरु मनमौजी शासन गर्दथे। जार शासनमा भनौं खासगरी दमनमा जसलाई जतिबेला चाह्यो उतिबेला कैद गर्ने, बेपत्ता पार्नेदेखि मार्नेसम्मका उकुर्जी र अर्घेल्याइँहरु सामान्य चल्तीका नियम झैं थिए।
जार शसनका लागि फ्योदोर सामान्य बजारु साहित्यका लेखकमात्र थिएनन्। उनी पेत्रासेव्स्की मण्डलीका एक भरोसायुक्त सदस्य पनि थिए। पेत्रासेव्स्की मण्डली भनेको तत्कालीन रुसमा मिखाइल पेत्रासेव्स्कीको नेतृत्वमा संगठित विद्रोह र परिवर्तनका लागि समर्पित वुद्धिजीवी, लेखक र दार्शनिकहरुको भूमिगत समूह। जारहरुको दमनकारी शासनलाई चुनौती दिँदै पूर्ण नागरिक स्वतन्त्रता तथा सामाजिक हक-हतिको संघर्षमा क्रियाशील यो समूहदेखि शासकहरु त्रहीमाम थिए। शासकहरुका बीचमा यस समूहको नामले सधैं खैलाबैला पैदा गरिरहन्थ्यो। यस समूहको विचार प्रवाह हुने लक्षणका हरेक पुस्तक र पत्र-पत्रिकामाथि जारहुकूमको प्रतिबन्ध लागू थियो।
यही नतिजास्वरूप १८४९ को अन्त्यतिर एकदिन जारशासकले पेत्रासेव्स्की मण्डलीका सबै सदस्यको गिरफ्तारीका लागि आफ्ना सिपाहीहरुलाई आदेश जारी गऱ्यो। जार सिपाहीहरु हरेक बुद्धिजीवीका पछि लाग्नथाले। कसैलाई ओछ्यानबाट उठाएर घिस्याए, कसैलाई विद्यालय कक्षाबाट कठालो समातेर घिसारे। सिपाही चहल-पहल देखेर लुकेकाहरु, आपत्कालीन गरिफ्तारीको खबर सुनेर विदेशतिर भाग्न लागेकाहरु सबैलाई ङ्याकेर एकैठाउँ भेला गरी कालकोठरीमा थुप्रो लगाइयो। फ्योदोरका घरमा पनि पेत्रासेव्स्की मण्डलीको विचार फैलाउने केही प्रतिबन्धित पुस्तकहरु भेटिए। तिनै पुस्तकहरु राखेको र पढेको अभियोगमा उनलाई पनि अपहरण गरियो र बन्दीसगृहमा पुऱ्याइयो। जारशाहीको औपचारिकता दर्शाउँदै उनीहरुलाई ‘देशद्रोह’-को अभियोग लगाएर मृत्युदण्डको घोषणा गरियो। त्यसबेला लेखक फ्योदोर २८ वर्षका मात्र थिए। अर्थात्, जारशाहीको परिभाषामा ‘देशद्रोही अपराधी’ बनेका पेत्रासेव्स्की मण्डलीका अन्य सबै बन्दीभन्दा कान्छो उमेरको ठिटो थिए फ्योदोर।
मृत्युदण्ड घोषणा भएको अर्को बिहान सबै कैदीलाई कालकोठरीबाट बाहिर निकालियो र सिमेनोव्स्की चौरमा ल्याई २१ वटा खम्बामा बाँधियो। त्यसपछि एउटा सैन्य अधिकारीले काशन गर्दै कैदीहरुलाई गोली ठोक्ने आदेश जारी गऱ्यो। एकदेखि २० अंक गन्यो। फेरि २० बाट उल्टा गन्दै एकमा आइपुग्दा गोली छोड्ने नियमानुसार हरेक कैदीका लागि गोली ठोक्न एक-एकजना सिपाहीहरु तत्पर थिए।
केही पलभित्र मृत्युको गर्भमा पुऱ्याउन लागिएका ती २१ कैदीमध्येका फ्योदोर दोस्तोएव्सकी चौरको पल्लो छेउमा एउटा गिर्जा घरको धूरीमा हेर्दै थिए। उनले एउटा प्रतिविम्ब देखे। त्यो विम्ब हेर्दै उनले कल्पना गरे-‘अबको निमेषभरमै त्यो गिर्जाघरको धूरीबाट एउटा दीव्य चमत्कारी ज्योति निस्कने छ। र, त्यही ज्योति आएर मलाई आफूमा समाहित गर्दै अर्को लोकमा, अर्थात् मृत्युलोकमा पुऱ्याउने छ।’
उता सैन्य अधिकारी २० बाट उल्टो गन्ती शुरु गर्दै’थ्यो। यता अन्य सिपाहीहरु कैदीका अनुहार ढाक्ने कालो बुर्का भिराउँदै थिए। यतिकैमा चौरको पल्लोछेउबाट एउटा सेतो रुमाल हल्लाउँदै अर्का सैनिक अधिकारी कराउँदै-दौडिँदै आए। उनी कैदीहरुलाई लाम लगाएर गोली हान्न ठिक्क पारेको ठाउँतिर दौडिँदै थिए। छेउमा आइपुग्दासम्म लामो लामो सास फेर्दै उनी भन्दै थिए-‘रोक रोक, यी अपराधीहरुलाई जारले मृत्युदण्ड फुकुवा गरिदिएका छन्; जीवनदानको क्षमा बक्सिएका छन्।’
चौरमा उभिएका सैन्य अधिकारी, कैदीबन्दी र सिपाहीहरु सबै एक-आपसमा मुखामुख गर्दै स्तब्ध भएर रोकिए। कैदीहरुमा पलभरको लागि भए पनि नयाँ जीवनको आशा पह्लायो। अधिकारीले नयाँ आदेशपत्र पढेर सुनाउँदा थाहा भयो कैदीहरुलाई मृत्युदण्डको सट्टा साइबेरियाको हिमपर्वतमा लगेर छोडिने छ। उनीहरुले त्यहाँ आठवर्षको कैद भुक्तानी गर्नुपर्ने छ। सामान्य मनोविज्ञानमा मृत्युभन्दा पनि मृत्युको भय अझ भयावह हुन्छ। केही क्षणअघिसम्म कैदीका शिरमाथि मृत्युको तरवार घुमिरहेको थियो-सबै डराइरहेका थिए। तर, नयाँ आदेशमा आकस्मिक मृत्युबाट मुक्ति मिल्यो। यद्यपि, त्यो आकस्मिकताले धेरैको मानसिक सन्तुलन गुम्यो। साइबेरिया पुऱ्याइएपछि पनि उनीहरुमध्ये अधिकांश केही दिनभित्र ठण्डाको प्रकोपले फोक्सो सुनिएर मरे भने कोही कानको जाली पाकेर जीवनभर बहिरा भए। तर, फ्योदोरले शारीरिक रूपमा कुनै कम्जोरी भोग्नुपरेन।
शारीरिक हिसाबले कुनै क्षति ब्योहोर्नु नपरे पनि मानसिक रूपमा फ्योदोरले एउटा कहालीलाग्दो वेदनाको भारी बोकेर हिँडिरहे। उनलाई अकाल मृत्युको त्यो सम्भावित घडीको स्मृतिले बार-बार घोचिरह्यो, चिमोटिरह्यो। सिमेनोव्स्कीको चौरमा उनको ज्यान त बँच्यो तर, व्यथाको चट्याङ उनले जिन्दगीभर भुल्न सकेनन्। पछि उनले जिन्दगी, मृत्यु, अपराध, न्याय, सजाय, दण्ड, प्रायश्चितजस्ता विषयहरुलाई गम्भीर विश्लेषण गर्दै महान कृतिहरुको रचना गरे।
यदि, सिमेनोव्स्कीको चौरमा गोली हान्न ठिक्क पारिएको बेला उनको मृत्युदण्ड रद्ध गरिएको आदेश नआएको भए, सिपाहीहरुले दौडिइरहेको सैन्याधिकारीको आवाज नसुनेका भए, सेतो रुमाल हल्लाएको नदेखिएको भए, ताकिएको बन्दुकबाट ड्याम्म गोली चलेको भए संसारले फ्योदोरजस्ता लेखक पाउने थिएन। लेखक मात्र किन र, सामान्य मानिसले पनि मृत्युसम्मुख पुगेर फर्किनु परेको दिनलाई कहाँ भुल्न सक्तैन! धेरै अध्येताहरु भन्छन्, आखिर फ्योदोरका कृतिहरुमा अत्यधिक अँध्यारो पक्षमात्र प्रष्फुटन भएको छ। हो निः। जीवन र मृत्युबीचको सुरुङमा पसेर निस्किएका थिए उनी। त्यो सुरुङभित्रको अन्धकारबारे जो बयान गर्नु’थ्यो, उनले गरे। भनौं मृत्यु देखेर फर्किएका लेखक थिए उनी। त्यसको अनुभूति आफ्ना कृतिमार्फत पाठकहरुलाई दिए।
अँध्यारो र उज्यालोको सन्तुलन
सारा जिन्दगी उनले अँध्यारोको भारी बोकेर बिताए। जबजब जीवनको उज्ज्वल प्रकाश हेर्न उनी कोशिश गर्दथे, सामुन्ने कोही उभिएर सिमेनोव्स्की चौरको सिपाहीले झैं उनको मुहारमा बुर्का ओडाइदिन्थ्यो। उनको साहित्यमा भएको अँध्यारो पक्षलाई राम्ररी बुझ्न उनको जीवनका आधारभूत सरोकारबारे पनि जानकार रहनु अनिवार्य हुन्छ।
फ्योदोरको जन्म सन् १८२१ मा मस्कोवासी एउटा मध्यमवर्गीय परिवारमा भएको थियो। उनका बाबु थिए मिखायल दोस्तोएव्स्की। अनेक नियम र काइदाहरुले मोहोरिएका एउटा कठोर तानाशाह थिए उनी, परोक्षरूपमा जारशासकका समर्थक। मिखायल एउटा सैन्य अस्पतालमा चिकित्सक काम गर्दथे। अस्पतालमा आउने सैनिकबाहेकका रोगी-बिरामीको पनि उपचार त गरिदिन्थे तर, कठोर शर्त र नियमहरुको पालना गरे-नगरेको आधार हेरेरमात्र। बाबुको कामले नै फ्योदोरलाई सानैदेखि गरीबहरुको पीर-व्यथासित साक्षात्कार गराइसकेको थियो। फ्योदोरकी आमा मारिया भने धेरै दयालु धार्मिक नारी थिइन्। आमाको ममता र दायलुपनले फ्योदोरलाई बाबुको कठोरता बिर्साइदिन्थ्यो। आमाको गहिरो भावनात्मक प्रगाढता र अनुशासनको नाममा बाबुको कठोर रुखोपनबीचको नैतिक द्विविधाले फ्योदोरलाई विभिन्न कृतिहरुको सृजनातर्फ प्रेरित गऱ्यो र तिनै दुइ भिन्न प्रवृत्तिले फ्योदोरको सृजनात्मक क्षमतामा सन्तुलन पनि गराइदियो।
फ्योदोर आफ्ना बाबुसित खास कहिल्यै नजिकिएनन् अथवा बाबु स्वयं फ्योदोरबाट दूरी कायम गरी बस्थे। बाबुको रुखो व्यवहारले फ्योदोर भावनात्मक रूपमा उपेक्षित, अवहेलित महसूस गर्दथे। असलमा उनका बाबु मिखायल पनि आफ्नै जीवनका तनाव, संकट र चुनौतीहरुका कारण त्यति कठोर बनेका थिए। तर, उनको त्यो सार्वजनिक जीवनको शैली घरभित्रै पस्यो र परिवारसम्म प्रभावित भयो।
फ्योदोर १५ वर्षीय किशोर छँदा उनकी आमाको निधन भयो। यो घटना फ्योदोरको जीवनयात्रामा ठूलो अर्थ राख्ने मोड साबित भयो। आमाको निधन भएलगत्तै दाजु मिखाइल र भाइ फ्योदोरलाई मस्कोको एउटा सैन्य-प्राविधिक (मिलिटेरी इञ्जिनियरिङ) कलेजमा भर्ना गराइयो। फ्योदोर न इञ्जिनियरिङमा आकर्षित थिए न त सैनिक सेवाप्रति इच्छुक नै! उनी केवल बाबुको आदेश पालनामा नाइनास्ती गर्न नसकेर त्यहाँ पुगेका थिए। होस्टलमा रहँदा उनलाई अनेक चीजहरुको अभाव हुन्थ्यो। घरमा बाबुलाई खर्चको अर्जी गर्दा १० रुपयाँ माग्यो भने उनका बाबुले २ रुपयाँमात्र दिन्थे। बाबुले पैसा प्रशस्त हुँदाहुँदै पनि आफूलाई अभावमा राखेर रमाउन चाहेको अर्थ फ्योदोरले लगाएका थिए। फ्योदोर कहिलेकाहीँ बाबुको मृत्यु भइदिए भलो हुने कल्पना गर्थे।
मारियाको मृत्युपछि मिखायल र उनको परिवारमा बर्बादी शुरु भयो। मिखायल श्रीमतीको वियोगमा अत्यधिक रक्सी पिएर धताउन थालेका थिए। एक्लै बात गर्ने, पहिले पुरुष आवाजमा प्रश्न गर्ने अनि स्त्री आवाजमा त्यसको उत्तर दिने गर्थे। अर्थात् उनको मानसिक सन्तुलन नै गडबड भइसकेको थियो। आफ्ना दुइ छोराहरु, मिखाइल र फ्योदोरलाई कलेज पठाइसकेपछि बाबुचाहिं दुइ छोरीहरुसँग याक्सा (फार्महाउस) मा बस्न थालेका थिए। उनी छोरीहरुले आफ्ना केटासाथी, अवैध लोग्ने ल्याएर कोठामा लुकाएको आरोप लगाउँथे। कहिलेकाहीँ आधारातमा उठी बन्दुक लिएर छोरीहरुको ढोका ढक्ढकाउँथे, भित्र पसेर पलङमुनि, आल्मारी र कुनाकाप्चातिर लुकेका मानिस खोजेझैं गर्थे र कोही नभेटेपछि मुर्मुरिँदै फर्किन्थे।
एउटा स्मरणयोग्य घटना, एकदिन उनी फार्महाउसमा टहल्दै गर्दा आफ्ना सबै दास-मज्दूरहरुले उनलाई अभिवादन (नमस्ते) गरे। तर, एकजना दासले उनीतर्फ ध्यान दिएन। मिखायलले आफ्नो अपमान गरेको आरोपमा त्यो दास-मज्दूरमाथि सयौं कोर्रा हाने। नमस्ते गर्ने बहानामा सबै काम छोडेर समय बर्बाद गरेको आरोपमा पनि उनी कहिलेकाहीँ दासहरुमाथि बेस्सरी जाइलाग्थे र मरणासन्न हुने गरी कुट्थे। यस्तैमा एकदिन फार्महाउसमा दासहरुको गन्ती लिइरहेका बेला आफ्ना केही दासहरु हराएका उनले थाहा पाए। सोधीखोजी गर्दा उनलाई तिनीहरु बिरामी छन् भन्ने समाचार मिल्यो। त्यसपछि हराएका दासहरुको खोजीमा उनी आफ्नो घोडामा चढी दास-झुपडीतिर दौडिए।
उनले हराएका दासहरु सडकमा डुलिरहेका भेट्टाए र, कोर्राले हान्नथाले। तर, त्यो दिन ती दासहरुले पनि यातनाको प्रतिक्रियास्वरूप जवाफ फर्काए। सडकबीचमै मिखायलको मृत्यु भयो। तर, सेन्टपिटर्स्बर्गमा यो खबर फैलिनभन्दा पहिले नै मिखायलकै परिवारले उनको मृत्युको खबर दबायो। मिखायलको मृत्यु दबाउनको एउटा कारणः दासहरुले मालिक मारेको भनेर बेइज्जती हुने त्रास थियो एकातिर। अर्को कारणचाहिं त्योबेला रुसमा दासहरुको खपत अत्यधिक भएकाले ठूलो मूल्यमा तिनीहरुको खरिद-बिक्री हुन्थ्यो। मिखायलको हत्या-अभियोगमा दासहरुलाई सिपाहीले बन्दीगृहमा पठाइदिए भने थप दासहरुको खरिदमा धेरै खर्च लाग्ने डरले पनि उनको परिवार त्यो खबर दबाउन बाध्य थियो।
आफ्ना बाबुको मृत्युपछि फ्योदोर अझ विक्षिप्त बने। समयको हिसाब गर्दा दासहरुले आफ्ना बाबुको हत्या गर्दैगर्दा आफूले कलेजमा बसेर बाबुको मृत्युकामना गरिरहेको बेला परेको ठिम्याएपछि फ्योदोरलाई आफैंले आफ्ना बाबुको हत्या गरेको अनुभूत भएको थियो। यो घटनामा पछुतो स्वरूप उनका कृतिमा त्यसको झल्को आएको छ।
फ्योदोरकृत ‘द ब्रदर्स करमाजोव’ उपन्यासको एउटा पात्र, इभान आफ्ना बाबुको मृत्युमा आफू कारक भएको भन्ठान्दछ। इभान प्रत्यक्षरूपमा बाबुको हत्यामा संलग्न थिएन। अर्कै व्यक्तिले हत्या गरिदिएको थियो। तर, इभानले सधैं आफ्ना बाबुको मृत्युकल्पना गरिरहेका कारण उसले आफैंलाई बाबुको हत्यारा स्वीकार गरेको थियो।
मृत्युसम्मुख पुगेर फुत्किएपछि आएका फ्योदोरका अनेकन कृतिहरुले उनको ख्याति आर्जन भइरह्यो। त्यसो त सिमोनोव्स्की चौरमा बाँधिएर मृत्युको प्रतीक्षा गर्नभन्दा पहिले नै ‘दरिद्रजन’ [Poor Folk] लेखेर फ्योदोरले साहित्यिक ख्याती पाइसकेका थिए। शासक र शासकीय दमनबाहेक उनको बड्दै गएको ख्याति देखेर पिरोलिएका उनकै मित्रहरु पनि बाटोमा काँडा ओछ्याउन व्यस्त थिए। नेपाली साहित्यमा जसरी लेखनाथ पौड्यालले डोलीमा बोकिएर तिर्थाटनमा भाग लिँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कुन मन्दिरमा जान्छौ यात्री’ शीर्षकीय आलोचनात्मक कविता रचेका थिए; त्यसरी नै इभान तुर्गेनेव र निकोलाई नेक्रासोवले पनि फ्योदोरको आलोचनामा सामूहिक कविताहरु रच्थे। तर, देवकोटाका तुलनामा यिनीहरुका रचनाचाहिं अलि भद्दा किसिमका थिए।
फ्योदोर जुवाडे किसिमका थिए। एकदिन उनी जुवाडेहरुकै एउटा भोजमा उपस्थित हुँदा स्त्रीसुन्दरताबाट मोहित भएर बेहोस् भई भुइँमा लडेको घटनालाई लिएर पनि तुर्गेनेव र निकोलाई दुइजनाले ‘द नाइट अफ् द डोल्फूल काउण्टिनेन्स’ शीर्षकीय सामूहिक कविता रचेका थिए। साहित्यकर्मले एकदिन न्याय गर्छ भन्ने भनाइ यिनीहरुको द्वन्दमा पनि देखिन्छ। फ्योदोरको जीवनीबाट प्राप्त हुने दृष्टान्त के हो भने कुनै पनि कठोर चुनौतीबेगर कोही व्यक्ति खास लेखक/साहित्यकर्मी बन्न सक्तैन।
शासकीय नजरमा फ्योदोर एउटा ‘नामुद अपराधी’ त थिए नै! माथि उल्लेख गरिएको कवितामा जसरी इभान र निकोलाईले फ्योदोरलाई एउटा कमजोर, आत्मबलरहित, दयालाग्दो निरीह प्राणीका रूपमा प्रस्तुत गरेका थिए कालान्तरमा त्यसको ठ्याक्क उल्टो, इभान र निकोलाईहरु सीमित हुँदै बिलाए तर, फ्योदोरचाहिं रुसी साहित्यबाट विश्वसाहित्यका तारा बन्न सफल भए।
पेन्सिलभेनिया/अमेरिका
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.