काठमाडौं : नारायणहिटी दरबारमा भीषण रक्तपात भएको दुई दशक पूरा भएको छ। राजा वीरेन्द्र वीर विक्रम शाहदेवसहित सम्पूर्ण शाही परिवारको निर्मम हत्यापछि विभिन्न अड्कलबाजी र षड्यन्त्रका चर्चा अझै सेलाएका छैनन्।
२०५८ साल जेठ १९ गते, शुक्रवार राति दरबारमा वीरेन्द्रको सम्पूर्ण परिवार सखाप भयो। घटनापछि उनका भाइ ज्ञानेन्द्र शाह गद्दीमा बसे। त्यो बेला देश माओवादी सशस्त्र द्वन्द्वमा होमिएको थियो।
छानबिन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबारमा ‘भट्टटटटट’ गोली चलेको बयान दिएका थिए। त्यस यता दरबारप्रतिको जनविश्वास क्रमशः घट्दै गयो। दाइको हत्या भएको शोकमा समेत ज्ञानेन्द्र गद्दीमा बसेपछि जनसमर्थन अझै कमजोर हुँदै गयो।
२०६१ माघ १९ गते बिहान १० बजे ज्ञानेन्द्रले शाही घोषणा गर्दै नागरिक स्वतन्त्रता खोसे, कर्फ्यु लगाए, दमनको नीति अपनाए। तर, अन्ततः सात प्रमुख दल र माओवादीबीच भएको १२ बुँदे ऐतिहासिक सहमतिले राजनीतिक समीकरण बदलियो। स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मागमा ज्ञानेन्द्र संसद् पुनः स्थापनाको घोषणा गर्न बाध्य भए। २०६३ वैशाख ११ गते संसद् ब्युँतियो। अन्तरिम संसद् गठन भयो। माओवादी बिना चुनाव संसदमा प्रवेश गरे।
२०६४ साल चैत २८ गते ‘एक युगमा एक पटक आउने’ नारासहित संविधानसभा चुनाव सम्पन्न भयो। संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गर्यो। राजतन्त्रको औपचारिक अन्त्य भयो।
नारायणहिटीबाट निस्किएपछि ज्ञानेन्द्र निर्मल निवास सरे। आफ्नै हठ, जिद्दी र नीतिगत असफलताले उनले गद्दी त्याग्नुपर्यो। दरबारप्रतिको जनविश्वास पुनः प्राप्त गर्नु त टाढाको कुरा, उनी इतिहासमा राणा शासनझैँ आलोच्य पात्र बने।
तर, आज दुई दशकपछि ज्ञानेन्द्र पुनः राजगद्दीप्रतिको आकाङ्क्षामा सक्रिय देखिएका छन्। आन्दोलनको नेतृत्व तय गर्ने र नेतृत्व परिवर्तन गर्ने प्रयासमा उनी लागिरहेका छन्। राजतन्त्र र हिन्दु अधिराज्यको मागसहित उनले आफू समर्थकहरूलाई सडकमा उतारेका छन्।
चैत १५ गते तीनकुनेमा भएको विध्वंस मच्याउने आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको हत्या भइसकेको छ। केही प्रदर्शनकारी घाइते छन्। रोजगारी गुमाएका पीडितको पीडा गहिरिँदैछ। प्रदर्शनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणा, रवीन्द्र मिश्र, दुर्गा प्रसाईँ सहित ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा छ। आरोपीहरूको बयान चलिरहेको छ। तर ज्ञानेन्द्र चुप छैनन्। राजावादी शक्तिलाई उग्र रूपमा एकजुट गरिरहेका छन्।
शक्तिको प्रदर्शनमै केन्द्रित देखिएका ज्ञानेन्द्र जनताको विश्वास जित्नभन्दा बढी समाजलाई विभाजित पार्ने भूमिकामा देखिन्छन्। सडकमा उत्रिएका कमल थापा पत्रकारमाथि गोली चलाउन आदेश दिने एक पात्र हुन्। पदका लागि आफ्ना अघिल्ला प्रतिबद्धतालाई तिलाञ्जली दिनेमा पनि कमल थापाले नै नाम राखेका छन्।
निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा पूर्वगृहमन्त्री कमल थापा प्रहरीको झ्यानाकुटीमा परेका छन्, जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल छ। काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता गरिएको छ भने जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको छ।
राजावादीहरूले घोषित प्रदर्शन रोकेका छन्। दरबार हत्याकाण्ड स्मृति दिवसको बहानामा संयुक्त जनआन्दोलन समितिले कुनै जुलुस वा प्रदर्शन नगर्ने जनाएको छ। वीरेन्द्र, ऐश्वर्यलगायत राजपरिवारका दिवङ्गत सदस्यहरूको स्मृतिमा समितिले मौन धारण गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
समितिले विज्ञप्ति जारी गर्दै सोमबार साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ र आम जनसमुदायलाई सहभागी हुन अपिल गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.