विश्व-ब्रह्माण्डबारे किरात धर्म गुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ले प्रलय, युद्ध, महामारी र दैवी प्रकोपको जोखिम उच्च रहेको भविष्यवाणी गरेका छन्। विश्व युद्ध र अशान्तको चपेटामा पर्न सक्ने सम्भावनालाई विश्व शान्ति तथा मानव एकताको आवश्यकता रहेको उनले जनाएका छन्।
उनले पृथ्वीमा प्रलयले मानव जीवन असम्भव हुने हुँदा चिन्ताको विषय भएको दोहोर्याएका छन्। शान्ति अत्यन्त आवश्यक रहेको बताउँदै ‘कुराले भन्दै मात्र आएको थियौँ, यसपटक भने विश्व शान्ति तथा मानव एकताको लागि पूजासमेत लगाइएको छ। तर, सेवा चाहिँ अलिकति थोरै मात्र लागेको छ’ गुरुले भनेका छन्।
‘पृथ्वीको उपचार पुग्यो भने मानव रहन्छ, मानव रहे, जनता रहन्छ, जनता रहे, नेता रहन्छ, राष्ट्र, राष्ट्रपति, प्रधानमन्त्री, राजा रहन्छ मुलुक र विश्व रहन्छ। पृथ्वी नै रहेन भने हामी कोही रहँदैनौ,त्यसैले पृथ्वीको उपचारमा सबैको ध्यानाकर्षणको समय आएको छ,’ गुरुले भविष्यवाणीमा बताएका छन्।
‘अहिंसा, हत्या धेरै भयो भने पृथ्वीमा विनाश सुरु हुन्छ। विज्ञानले गरेको आविष्कार सँगै विनाशको पनि सुरुवात हुन्छ। युद्धले अशान्ति, हिंसा मानव विनाशको संहार सुरु गर्छ, त्यहीबाट महामारी उत्पन्न भएर विनाशको प्रलय शुभारम्भ हुने समेत प्रस्ट्याएका छन्। पृथ्वीमा आयु विनाशले बढ्दैन घट्छ,’गुरु लिङ्देन भन्छन्।
देश विदेशबाट गुरूवाणी सुन्न माङसेबुङ आइपुगेका किरात तथा गैर किरात धर्मावलम्बीहरू माझ भविष्यवाणीमा बोल्दै गुरु लिङ्देनले विश्व युद्धमा छिटै होमिन सङ्केत समेत गरेका छन्। ‘यो राम्रो सङ्केत होइन,’ उनले भनेका छन्। त्यस्तै उनले दोस्रो महामारी आउने चेतावनी दिएका छन्।
भविष्यवाणी गर्दै प्रलय हुने सम्भावना उच्च जोखिम रहेकोले यसको उपाय गर्न सकिएन भने बाँच्न नसकिने सचेत गराएका छन्। गुरु लिङ्देनले सबैलाई ध्यानाकर्षण गराउँदै भने,‘एक दीन मलाई विश्वले प्रश्न सोध्नेछ, त्यो बेला आफू निकै कडा रूपमा प्रस्तुत हुनुपर्छ। त्यतिबेला त्यसको जवाफ आफूसँग मात्र भएको उनले बताए।
गुरु लिङ्देनले भविष्यवाणी गर्दै भनेका छन्,‘उत्तर पूर्वी एसिया महादेशमा एक शक्तिशाली नेताको जन्म हुन्छ। त्यो बेला सबै उसको भनाइमा लाग्नुपर्ने समय आउँछ है।’ पटक-पटक दोहोर्याउदै उनले थपे,‘हाम्रो पालामा त कपनी तपाईँहरूको पालामा पक्का ती शक्तिशाली नेता आउँछन्, त्यतिबेला जम्मैले उनको कुरा सुन्नुपर्ने हुन्छ है।’
गुरु लिङ्देनले २०४५ सालमा गरेको पहिलो भविष्यवाणी आधा पुगेको र आधा पुग्न बाँकी रहेको बताएका छन्। महामारी जस्ता प्रकोपहरूबाट बच्न ईश्वरीय अलौकिक शक्तिमा विश्वास गर्नु पर्ने समेत आग्रह गरेका छन्। उनले पूर्व फर्केर युमामाङ (बुढीबोजु)को नाममा धूप बालेर जहाँबाट उत्पत्ति भएका छौ, तिमी त्यतै जाऊँ भनेर सबेरै कोही सँग नबोली युमाको नाममा धूप बाल्नु।’ डाक्टरको उपचार नलाग्ने, महामारीका सङ्केतहरू आउने, अचानक फटाफट मान्छे मर्ने समयहरू आएका छन् है’ उनले भने।
यसै समयमा ठुला वर्षा तथा दैवी प्रकोप जोखिम आइसकेको उनले बताए। सबै सचेत रहन लिङ्देनले भविष्यवाणी सँगै उपदेश दिन पनि आव्हान गरेको स्पष्ट पारे। उनले यसअघि गरेका भविष्यवाणीमा कति प्रतिशत कुरा पुगे र अब हुने सङ्केतका बारेमा छलफल गर्न पनि यो दोस्रोपटक भविष्यवाणी गरेको बताए।
गुरु लिङ्देनले ईश्वरीय शक्ति अलौकिक हुन्छ। सबै सृष्टि ईश्वरीय देन हो। ईश्वरले रचेको र रोजेको ठाउँमा अवश्य केही विशेष हुन्छ, त्यो कुरा बुझ्नुपर्छ भन्दै आफ्ना भक्तजनहरूसँग कुरा राख्दै भने माङसेबुङमा धेरै कुराहरू गर्नु पर्ने काम थाँती नै छ। त्यो पूरा गर्न सबैको ध्यानाकर्षण समेत गरेका छन्। आफूले पृथ्वीको बारे चिन्ता राखेको बताउँदै विश्व शान्ति मानव एकता कायम गर्न लाग्नु पर्ने सबैलाई आव्हान गरेका छन्।
किरात धर्म गुरु लिङ्देनले ३३ वर्ष पछि यो दोस्रोपटक भविष्यवाणी गरेका हुन्। उनले पहिलो भविष्यवाणी २०४९ साल माघ ३ र ४ गते माङसेबुङ भालुटारमा गरेका थिए। किरात धर्मगुरु आमा साँवा पवित्र हाङमा लिङ्देनको हस्तवाहुलीवाट विश्व शान्ति तथा मानव एकताको दीप प्रज्वलन गरेर जेठ २३ गते बिहान ७ बजे भविष्यवाणी महान् समारोहको समुद्घाटन गरिएको थियो।
वाणी हुनु अघि एक हप्तादेखि लगातार विश्व शान्ति तथा मानव एकताको लागि (तामसेप थक यामयाम सेवा) गरिएको थियो। भविष्यवाणीमा छिमेकी मुलुक सिक्किम, भुटान, बर्मा, दार्जिलिङ र मित्रराष्ट्र हङकङ, बेलायत लगायतबाट प्रतिनिधि तथा भक्तजन र शुभचिन्तकहरू उपस्थित भएका थिए।
माङसेबुङ इलाम किरात हाङसाम मुजोत्लुङ माङहिम (मन्दिर)परिसरमा भएको उक्त भविष्यवाणीमा नेपालका विभिन्न स्थानहरूबाट किरात-गैर-किरात धर्मावलम्बीहरूको भीड लागेको थियो।
तस्बिर : योगेश लावती र भूपेन लिम्बू
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.