कहिल्यै आफ्नो शरीरभित्रै आफूलाई चिन्न नसकेको पीडा, समाजले थोपरिएको पहिचानलाई अस्वीकार गर्दै आफ्नै स्वरूपको स्वीकारोक्ति—यही आत्मसंघर्षको दैनिकी भोगेका व्यक्ति हुन्, सम्झना केसी। उनी केवल तेस्रोलिंगी समुदायकी प्रतिनिधि पात्र होइनन्, उनी परिवर्तनको एउटा सशक्त नाम हुन्—एक प्रतिरोध, एक चेतना, एक माता।
एक समयको काठमाडौँको सडक छेउको अपमानित अस्तित्वबाट आजको नेतृत्वदायी भूमिकासम्मको उनको यात्रा कुनै साधारण वृत्तान्त होइन—यो सङ्घर्ष, साहस र स्वाभिमानको गहिरो आख्यान हो।
सम्झनाको बाल्यकाल विद्यालयको हेला, छिमेकको गालीगलौज, घरभित्रको निराशा र राज्यको मौनताले भरिएको थियो। टोलले “अलग” भन्यो, आफन्तले चिन्दिन भने, कानुनले चिनेन। उनी भन्थिन्, “शरीर भित्रको म बुझिन, तर बाहिरका नजरले मलाई झन् पराए बनायो।”
आज उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला उपाध्यक्ष हुन्। यति मात्र होइन, उनी सहयोगी नेपाल नामक संस्थाको कार्यकारी निर्देशकको रूपमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका आवाज बनेकी छन्।
सम्झनाका शब्दहरू, “हाम्रो अस्तित्व अस्वीकार गर्नु भनेको मानवता अस्वीकार गर्नु हो,” समाजलाई घोच्ने तर आवश्यक सवाल हुन्। उनी अब न त लाछीझैँ हेपिने, न मौन बस्ने पात्र। उनी बोल्छिन्, लेख्छिन्, नेतृत्व गर्छिन्—एक तेस्रोलिंगी माताको रूपमा, जसले आत्मसम्मान र अधिकारका लागि लड्न जानेकी छन्।
सहयोगी नेपाल—सपना साकार गर्ने संस्था
‘सहयोगी नेपाल’ संस्थामार्फत उनले समलिङ्गी, तेस्रोलिंगी लगायत सम्पूर्ण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि कानुनी साक्षरता, सीपमूलक तालिम, मनोसामाजिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आइरहेकी छन्।
धूप बनाउने, साना उद्यम सञ्चालन गर्ने सीप सिकाएर उनले समुदायका सदस्यहरूलाई आत्मनिर्भर बनाउने बाटो खोलिरहेकी छन्। “हामीलाई कोहीले सहारा दिएन, हामी आफैँ एक–आपसमा सहारा बन्यौँ,” उनको भनाइ छ।
जसपा नेपालको विधानमा लैङ्गिक तथा यौनिक विविधताको सम्मान र समावेशिताको स्पष्ट नीति उल्लेख छ। अन्य पार्टीहरूले जुन कुरा केवल नारामा बोले, जसपाले त्यसलाई विधिमा उतारेको छ। सम्झना भन्छिन्, “विधानमा नाम लेखिनु भनेको चुनावी गफ हैन, त्यो सङ्घर्षको मान्यता हो।”
उनको कार्यालयमा जसपाका शीर्ष नेताहरूको आगमनले समुदायप्रति संवेदनशीलता र सहकार्यको सङ्केत दिएको छ। यसले राजनीति र यौनिक अल्पसङ्ख्यक समुदायबीचको दूरी घटाएको छ।
अहिले पनि सम्झना दाजु–भाइ, दिदी–बहिनीहरूसँग सानो सहयोग सङ्कलन गरेर आफ्नो कार्यालय सञ्चालन गरिरहेकी छन्। आर्थिक सङ्कट त छ, तर अभावभन्दा ठुलो छ—उनको आकाङ्क्षा।
“हामी भीख होइन, अधिकार माग्छौँ। र त्यो अधिकार लिन सडकदेखि सदनसम्म लड्न तयार छौँ,” उनले आँखा जुधाउँदै भनिन्।
समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी समुदाय नेपालको सामाजिक संरचनामा अवस्थित भए पनि अझै नीतिगत समावेशीकरण अपूरो छ। सम्झना केसीजस्ता नेतृहरूको आवाजलाई साथ नदिएसम्म न समाज न्यायपूर्ण बन्छ, न संविधान साकार।
सम्झनाको सङ्घर्ष केवल एउटा तेस्रोलिंगी व्यक्तिको कथा होइन। यो हजारौँ बेवास्ता गरिएका सपनाहरूको प्रतिनिधित्व हो। यो अस्तित्व, अधिकार र आत्मसम्मानका लागि अग्रपङ्क्तिमा उभिएको अभियान हो—जहाँ सम्झना केसी मात्र पात्र होइनन्, परिवर्तन स्वयं हो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.