काठमाडौं – नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजोमा समस्या आएपछि उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए। प्रत्यारोपण सफलतापूर्वक जेठ ८ गते सम्पन्न भएको अस्पतालले जनाएको छ।
यो उपलब्धि नेपालको प्रत्यारोपण सेवामा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ। कलेजो प्रत्यारोपण विश्वकै जटिल शल्यक्रियामध्ये एक मानिन्छ, जसका लागि विशेषज्ञहरूको ठुलो र समन्वित टोली आवश्यक पर्छ। कार्कीको प्रत्यारोपणमा कलेजो दाताको शल्यक्रियामा झन्डै ९ घण्टा र प्राप्तकर्ताको शल्यक्रियामा करिब १३ घण्टा लागेको थियो।
उक्त प्रत्यारोपण भारतको अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा सम्पन्न भएको हो। कलेजो प्रत्यारोपण सफल भएसँगै बिरामीको मिर्गौलाको कार्यसमेत सुधार देखिएको अस्पतालले जनाएको छ।
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभाग प्रमुख डा. उमिदकुमार श्रेष्ठका अनुसार बिरामी कार्कीको कलेजो र मिर्गौला दुवै खराब भइसकेको अवस्था थियो। उनलाई पेटमा पानी जम्ने, बेहोस हुने, रक्त वान्ता हुनेजस्ता गम्भीर लक्षण देखा परेका थिए। यसअघि उनी भारतसम्म उपचारका लागि गएका थिए तर अवस्था जटिल भएका कारण कुनै पनि अस्पतालले सर्जरीको जोखिम लिन चाहेनन्।
“हामीले सुरुदेखि नै रोगको गाम्भीर्यतालाई आत्मसात् गर्दै कलेजोको सफल प्रत्यारोपण गर्यौँ, र अहिले बिरामीको मिर्गौला पनि सुधारोन्मुख अवस्थामा छ,” डा. श्रेष्ठले बताए।
कलेजो दातासमेत रहेका आयुष कार्कीका अनुसार उनीहरूले उपचारका लागि दुई पटक भारतको भ्रमण गरेका थिए तर त्यहाँको सल्लाह चित्तबुझ्दो नलागेपछि अन्ततः नेपालमै उपचार गराउने निर्णय गरेका थिए।
“नेपालमै यस्तो स्तरको अस्पताल रहेछ भन्ने थाहा पाएपछि हामी मेडिसिटी अस्पताल आयौँ। यहाँका चिकित्सकबाट उपचार सम्भव छ भन्ने आश्वासन पाएपछि हामीले बुबाको कलेजो प्रत्यारोपण यहीँ गराउने निर्णय गर्यौँ,” आयुषले भने।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोका अनुसार कलेजो प्रत्यारोपण अस्पतालमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको हो। “हामीसँग आवश्यक सम्पूर्ण विशेषज्ञसहितको मल्टिडिसिप्लिनरी टोली भएकाले यस्तो जटिल सर्जरी सम्भव भएको हो,” डा. महतोले बताए।
उनका अनुसार नेपालमा वार्षिक २०० देखि ३०० जनाले कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता छ। तर उपचार सुविधाको अभावका कारण हरेक वर्ष सयौँ नेपाली बिदेसिन बाध्य छन्। भारतको दिल्लीस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार २०२३–२४ को अवधिमा मात्रै ७० जना नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका थिए।
“हामी नेपालीहरूलाई उपचारका लागि विदेश जान नपरोस् भन्ने उद्देश्यले यो अस्पताल स्थापना गरेका हौँ। यहीँ बसेर पनि विश्वस्तरीय सेवा दिन सकिन्छ भन्ने उदाहरण अहिलेको सफल प्रत्यारोपण हो,” डा. महतोले भने।
नेपाल मेडिसिटी अस्पतालले यसअघि मिर्गौला प्रत्यारोपणमा पनि उल्लेखनीय प्रगति गरेको छ। हालसम्म ४५ भन्दा बढी मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन् भने ५०० भन्दा बढी बिरामीमा हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको अस्पतालको दाबी छ।
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार बिरामीको रोगको प्रकृति निकै जटिल थियो। “हामीले शल्यक्रियाअघि नै सम्भावित जोखिम, प्राथमिकता र प्रक्रिया सबैबारे स्पष्ट रूपमा बिरामी पक्षलाई जानकारी गराएका थियौँ। यसमा अनुभव, धैर्य र समर्पण मुख्य कारक बने,” डा. साहले भने।
नेपाल मेडिसिटीको यो उपलब्धिले अब नेपाली नागरिकले कलेजो जस्ता जटिल अङ्गको प्रत्यारोपणका लागि अनावश्यक रूपमा विदेश जानु नपर्ने सङ्केत दिएको छ। चिकित्सा विज्ञानको अत्याधुनिक सेवा, दक्ष जनशक्ति र समर्पणले नेपालमा नै विश्वस्तरीय उपचार सम्भव छ भन्ने आशा जागेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.