टुँडिखेलको त्यो साँझ : जब तेस्रोलिंगीले न्यायको सट्टा हिरासत पाए

टुँडिखेलको त्यो साँझ : जब तेस्रोलिंगीले न्यायको सट्टा हिरासत पाए

2.8k
SHARES

काठमाडौं – सोनाम ल्होसारको साँझ टुँडिखेलमा रौनक छाएको थियो। संस्कृति, पहिचान र विविधताको रङ्गीचङ्गी झल्को दिइरहेको त्यो उत्सवले उपस्थित सबैको मन लोभ्याइरहेको थियो।

तर, चाबहिलबाट ल्होसार मनाउन आएका तीन जना तेस्रोलिंगीहरूका लागि भने त्यो साँझ रमाइलोभन्दा पनि त्रासदीपूर्ण बन्यो—उत्सवको याद होइन, अन्याय र अपमानको कहालीलाग्दो अनुभव बन्यो।

सांस्कृतिक पर्वको साँझ, जसले विविधता र पहिचानको उत्सव मनाउनु पर्ने हो, त्यही साँझ लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले अपमान, हिरासत र अन्याय सहनु परेको छ।

परिवर्तित नाममा प्रस्तुत बिकिसा मोक्तान (१६ वर्ष), सहिष्णु लामा र सुप्रिया गुरुङ तेस्रोलिंगी समुदायका प्रतिनिधि हुन्। उनीहरू पर्वको उल्लासमा सहभागी हुन, कल्चरल ड्रेसमा सजिएर, नाचगान र मेलाको आनन्द लिन टुँडिखेल पुगेका थिए। तर, एक अनपेक्षित घटनाले त्यो साँझ उनीहरूको जीवनमा कहिल्यै नबिर्सिने पीडाको अध्याय थप्यो।

उनीहरूका अनुसार, प्रदीपकुमार श्रेष्ठ नाम गरेका एक व्यक्तिले उनीहरूको अनुमति बिना भिडियो खिच्न थाले। जब उनीहरूले त्यसको विरोध गरे, विवाद चर्कियो। विवादले भिड तान्यो र त्यस भिडमा श्रेष्ठकी श्रीमतीको टाउकोमा सामान्य चोट लागेको बताइयो। चोट गम्भीर थिएन, तर यही आधारमा तीनै जना प्रहरी नियन्त्रणमा परे।

“हामीलाई प्रहरी जनसेवा पुर्‍याइयो,” उनीहरूले पहिचानसँग भने,“तर भनियो—‘तेस्रोलिंगीका लागि छुट्टै कोठा छैन।’ त्यसपछि हामीलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याइयो र रातभर रवि लामिछानेलाई राखिएको भनिएको एक ठुलो हलमा राखियो।”

“साथमा भएका सबै सरसामान जफत गरियो,” उनीहरू भन्छन्, “तर हामीहरूले चोरी गरेको भनिएको केही वस्तु भेटिएन। त्यसपछि हामीमाथि ‘अभद्र व्यवहार’ को मुद्दा दर्ता गरियो।”

उनीहरूले स्पष्ट रूपमा भने—“हामी झगडामा सहभागी थिएनौँ, झगडा छुट्याउने प्रयास मात्र गरेका थियौँ।” तर, उनीहरूलाई सिधै जिल्ला प्रहरी परिसर, काठमाडौं ल्याइयो। राति नै सरसामान जफत गरी मुचुल्का बनाइयो।

“हामीमाथि चोरी, लुटपाट, अभद्र व्यवहारजस्ता गम्भीर आरोपहरू लगाइयो,” बिकिसाले बताइन्, “तर कुनै प्रमाण थिएन। भोलिपल्ट फेरि सोधपुछ गरियो। हामी निर्दोष थियौँ। तर जाहेरीकर्ताको दबाबमा मुद्दा दर्ता गरियो।”

उनीहरूले आरोप लगाए कि नाबालिग रहेकी बिकिसाको उमेर प्रहरीले मनोमानी रूपमा १६ वर्षबाट बढाएर १९ वर्ष उल्लेख ग¥यो। “मैले भनेकी थिएँ— म १६ वर्षकी हुँ, तर प्रहरीले मानेन,” बिकिसाले सुनाइन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको मुद्दामा पनि बिकिसाको उमेर १९ वर्ष उल्लेख गरिएको छ।

“हामीलाई २० दिन हिरासतमा राखियो,” सुप्रियाले भनिन्, “त्यसपछि मात्रै प्रति व्यक्ति १५ हजार धरौटी बुझाएर रिहा भयौँ।” तर, उनीहरूको पीडा त्यत्तिमै सीमित रहेन। जाहेरीकर्ताले जिल्ला प्रशासन कार्यालयमै उपस्थित भई फेरि १ लाख ९१ हजार रुपैयाँ क्षतिपूर्ति माग गरे। “पैसा नदिए पुनः थुनाउँछु,” भन्दै खुलेआम धम्की दिएको उनीहरूको आरोप छ।

“कुनै प्रमाण नभएको, हराएको भनिएका सामान फेला नपरेको अवस्थामा पनि हामीमाथि मुद्दा लगाइयो,” सहिष्णुले भनिन्, “झुटा आरोपले हामीले मानसिक, सामाजिक र आर्थिक पीडा भोग्यौँ।”

‘हामी अपराधी होइनौँ, पीडित हौँ’

तेस्रोलिंगी समुदायका अधिकारका पक्षमा क्रियाशील संस्था ‘मायाको पहिचान नेपाल’को सहायतामा ती तीन जनाले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा न्यायको माग गर्दै निवेदन दर्ता गराएका छन्।

निवेदनमा लेखिएको छ— “हामी अपराधी होइनौँ। झगडामा संलग्न होइनौँ। तर, हामीलाई पक्राउ गरियो। हाम्रो तेस्रोलिंगी पहिचानकै कारण हाम्रो कुरा पत्याइएन। हामीलाई दोषीझैँ व्यवहार गरियो। हामी पीडित हौँ—दोषी होइनौँ।”

यो घटनाले एउटा गहिरो प्रश्न उठाएको छ—समाज र राज्य संयन्त्रले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायप्रति कस्तो व्यवहार गरिरहेका छन्? सामाजिक चेतनाको अभाव, प्रहरी प्रशासनको पूर्वाग्रही दृष्टिकोण, र कानुनी संरचनाको कमजोरीले गर्दा तेस्रोलिंगी पहिचान भएका व्यक्तिहरू दोहोरो अन्यायको सिकार भइरहेका छन्। एकातिर सामाजिक उपेक्षा, अर्कोतिर राज्य संयन्त्रको दमन।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अधिकारीले झुटा आरोपमा सजाय नहुने बताएपछि साहस बढेको उनीहरूले बताए। “प्रशासन कार्यालयका अधिकारीले राम्रो व्यवहार गरिदिनु भयो, डर हराएको छ,”उनीहरूले भने,“नखाएको विष लाग्दैन भन्नु भएको छ,प्रशासन कार्यालयलाई धन्यवाद।”

समाचार शेयर गर्नुहोस्
2.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.