काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी मुद्दाको पेशी फेरि स्थगित भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासमा आइतबार (असार १ गते)का लागि तोकिएको पेशी ‘हेर्न नभ्याइने’ मा परेको छ। अब मुद्दाको अर्को पेशी असार ८ गतेका लागि तोकिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।
थुनामा रहेका र धरौटीमा रिहा भएका सबै अभियुक्तहरू अदालतमा उपस्थित भएका थिए। अपराध पूर्व योजनाबद्ध ढङ्गले सञ्चालन भएको यो प्रकरणमा आरोपितहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौँ रकम असुल गरेका थिए।
यस प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, हिरासतबाटै अवकाश पाएका पूर्वगृहसचिव टेकनारायण पाण्डे, धरौटी बुझाएर तारिखमा रिहा भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाललगायत प्रतिवादीको अदालती प्रक्रिया चलिरहेको छ।
गत जेठ १९ र २७ गते गजेन्द्र बुढाथोकी, दाफुरी शेर्पा लगायतका जाहेरवालाको उजुरीका आधारमा अदालतले १७ जना प्रत्यक्ष साक्षीलाई बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो। तर, एक जना पनि अदालतमा उपस्थित नभएपछि सुनुवाइ प्रभावित भएको छ।
यस प्रकरणमा गजेन्द्र बुढाथोकीको जाहेरीमा सन्दीप रायमाझीसहित ३० जनाविरुद्ध, दाफुरी शेर्पाको जाहेरीमा केशवप्रसाद दुलालसहित ५ जनाविरुद्ध र अर्को जाहेरीमा बेचेन झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दा विचाराधीन छ।
यद्यपि, अपराधमा संलग्न व्यक्तिहरू पक्राउ परे पनि ठगिएका पीडितहरू अझैसम्म न्यायको पर्खाइमा छन्। कतिपय पीडितले भुटानी शरणार्थी बनेर अमेरिका जान आफ्नो सम्पत्ति बेचेर १० लाखदेखि ५० लाख रुपैयाँसम्म तिरेको दाबी गरेका छन्।
भुटानी शरणार्थी प्रकरण : जाहेरवालाको अटेरीले मुद्दा लम्बिने सङ्केत
कतिपयको त अमेरिका जाने नाममा ऋण काढेर घरजमसमेत डुबेको छ। तर अदालतको प्रक्रिया ढिलो हुँदा उनीहरूले न्यायको आशा गुमाउँदै गएको गुनासो गरिरहेका छन्।
न्याय प्रणालीको ढिलासुस्ती र साक्षीहरूको गैरउपस्थिति जस्ता कारणले गर्दा देशकै बहुचर्चित आपराधिक प्रकरणको सुनुवाइ फेरि अलमलिएको छ। नक्कली शरणार्थी प्रकरणमा २७ करोड भन्दा बढी बिगो दाबी गरेर २०८० जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २०८० असार २ गते नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौँ लिएर ठगी गरेको आरोपमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। लक्ष्मी महर्जन र टङ्क गुरुङबाहेक अरू सबैलाई थुनामा पठाउने आदेश दिएको थियो।
अदालतले एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएको थियो।
त्यसैगरी तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि जेल चलान भएका थिए।
बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसीलाई थुनामा पठाउने आदेश भएको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.