‘गणतन्त्रकी पम्फादेवी’ मुद्दाको पेशी तोकियो

‘गणतन्त्रकी पम्फादेवी’ मुद्दाको पेशी तोकियो

2.3k
SHARES

काठमाडौं — संसदमा सुरु भएको वाकयुद्ध अब अदालतको कठघरासम्म पुगेको छ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र स्वतन्त्र सांसद अमरेश कुमार सिंहबीचको विवाद अब गाली बेइज्जती मुद्दामा प्रवेश गरिसकेको छ।

सोमबारका लागि काठमाडौं जिल्ला अदालतमा पाँचौँ पटक पेशी तोकिएको छ। चार पटक पेशी तोकिँदा समेत मन्त्री राणा उपस्थित नभएपछि सुनुवाइ हुन सकेको थिएन। अदालतका अनुसार स्वतन्त्र सांसद सिंहको बयान भने लिइसकिएको छ। सांसद सिंहले सोमबारको पेशीलाई ‘निर्णायक’ हुनसक्ने बताएका छन्।

२०८० जेठ २४ गते परराष्ट्र मन्त्री राणाले काठमाडौं जिल्ला अदालतमा स्वतन्त्र सांसद सिंहविरुद्ध मानहानि, गाली बेइज्जती र क्षतिपूर्ति सम्बन्धी मुद्दा दायर गरेकी थिइन्।

राणाले आफ्नो उजुरीमा सांसद सिंहले संसदमा ‘गणतन्त्रकी पम्फादेवी’ भन्दै सार्वजनिक रूपमा अपमानजनक शब्द प्रयोग गरेको, विभिन्न टेलिभिजन अन्तर्वार्तामा भ्रष्टाचारका कपोलकल्पित आरोप लगाएको र यसमार्फत आफ्नो व्यक्तिगत तथा राजनीतिक छवि नष्ट गर्ने नियोजित प्रयास गरिएको दाबी गरेकी छिन्।

उनले अमरेश सिंहमाथि हदैसम्मको कारबाही र आफूलाई क्षतिपूर्ति प्रदान गरियोस् भनी अदालतमा माग गरेकी छिन्।

पम्फादेवी उपमा र भ्रष्टाचारको आरोप

सांसद सिंहले प्रतिनिधि सभाको बैठकमा २०६३ सालदेखि एउटा पम्फादेवी जन्मिएकी, भ्रष्टाचारमा रजाइँ गर्दै आएकी बताउँदै त्यस पम्फादेवीको सम्पत्ति र कारोबार छानबिन गरिनुपर्ने बताएका थिए।

साथै उनले धितो पत्र बोर्ड, दूरसञ्चार प्राधिकरणजस्ता नियामक निकायहरूलाई निजीकरण गर्ने प्रयासमा आरजु राणाको पहुँच हाबी भएको आरोप समेत स्वतन्त्र सांसद सिंहले लगाएका थिए।

’पम्फादेवी’ राजा वीरेन्द्रकालीन समयमा रानी ऐश्वर्यदेवीलाई सङ्केत गर्न प्रयोग गरिएको राजनीतिक उपमा हो। पत्रकारिता र अभिव्यक्तिमा प्रत्यक्ष नाम उल्लेख गर्न नसकिने बेला ’पम्फादेवी’ को रूपमा आलोचना गरिन्थ्यो। यही उपमालाई दोहोर्‍याउँदै सांसद सिंहले राणालाई लक्षित गरेका थिए।

उनले यसलाई ‘राजनीतिक सत्ताको संरक्षणमा हुने अपारदर्शी भ्रष्टाचारको प्रतीक’ भन्दै आरजु राणामाथि आरोप तेर्स्याएका थिए। सांसद सिंहको अभिव्यक्ति संसदमा मात्र सीमित रहेन।

उनले विभिन्न टेलिभिजन अन्तर्वार्तामा समेत आरजुलाई राष्ट्रिय भाउजूको संज्ञा दिँदै भ्रष्टाचारी भनेका थिए,“काँग्रेसमा तालीवान्हरूको जमात छ। काँग्रेस भ्रष्टाचारको जननी भएको छ। देशमा नयाँ नयाँ पम्फादेवीहरू जन्मिरहेका छन्।”

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि मिडिया जगत्मा व्यापक बहस चर्किएको थियो। सांसद सिंहका अभिव्यक्तिपछि मन्त्री राणाले कडा प्रतिकार गरेकी थिइन्।

“पछिल्ला दिनहरूमा मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने नियोजित प्रयास भइरहेको छ। निराधार, तथ्यहीन आरोपमार्फत मेरो मानमर्दन गर्ने अभिव्यक्ति अस्वीकार्य छन्।”

आरजुले यस विषयलाई मिडियामा ठाउँ नदिन अनुरोध गर्दै अदालतमार्फत न्याय खोज्ने बाटो रोजिएको बताएकी थिइन।

सोमबारको पेशीमा आरजु अदालतमा उपस्थित हुन्छिन् कि हुँदैनन् भन्ने चासो छ। यदि पेशी सारियो भने अदालतको धारणा, मुद्दाको गम्भीरता र राजनीतिक प्रेरणाको सम्भाव्यताको सम्बन्धमा थप प्रश्न उठ्नेछन्।

समाचार शेयर गर्नुहोस्
2.3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.