काठमाडौं-इरानसँग युद्ध चर्कँदै गएपछि नेपालले इजरायलमा कामदार पठाउन बन्द गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार युद्धको स्थित थप विकराल बन्न सक्ने भएकाले तत्कालका लागि इजरायलमा कामदार पठाउन स्थगित गरिएको हो।
युद्धका कारण केयर गिभरको रूपमा इजरायल जान लागेका ३५ जना नेपाली कामदार रोकिएको विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले जानकारी दिए। इजरायलमा विमानस्थल नै बन्द रहेको अवस्थामा कामदार पठाउने स्थिति नरहेकाले अर्को सूचना जारी नभएसम्म उनीहरूलाई रोकिएको उनले बताए।
भिसा सम्बन्धी सबै तयारी सकेर बसेका नेपाली कामदारलाई इजरायलबाट अवस्था सामान्य बनेको खबर आउने बित्तिकै पठाइने उनले बताए।
६ दिनदेखि इरान र इजरायलबीच एक अर्काले आक्रमण जारी राखेपछि अधिकांश मानिसहरू आफ्नो देश फर्कन थालेका छन्। चीन र भारतले आफ्ना नागरिकहरूलाई उद्धार गरेको छ भने जर्मनीले तत्काल इजरायल छाड्न आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।
नेपालले पनि आफ्ना नागरिकहरूलाई स्वदेश फर्कन चाहे उद्धार गर्ने बताएको छ। त्यसकालागि अनलाइनमा फाराम भर्नुपर्नेछ। इजरायलस्थित नेपाली राजदूतावासले आफ्नो फेसबुक पेजमा उक्त अनलाइन फारमको लिङ्क उपलब्ध गराएको छ।
इरानले बिहीबार बिहान साँढे १० बजेसम्मका लागि सबै खाले उडानहरू रद्द गरेको छ। इजरायलमा कुनै पनि भेला तथा सभा सम्मेलन गर्न रोक लगाइएको छ भने विद्यालय र अन्य शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गरिएको छ।
एकपछि अर्को हवाई आक्रमण
इरान र इजरायलबीच छैटौँ दिन पनि युद्ध भइरहेको छ। बुधवार बिहान इजरायलले इरानको राजधानी तेहरानमा एकपछि अर्को हवाई आक्रमण गरेको छ।
इजरायलका रक्षामन्त्री इजरायल क्याट्सले इरानी सरकारको आन्तरिक सुरक्षा मुख्यालय ध्वस्त पारेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत इरानको सरकारी अड्डाहरूमा आक्रमण तीव्र पारेको जानकारी दिए।
इजरायली आक्रमणमा अहिलेसम्म ५८५ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २६ जना घाइते भएका छन्। इरानको जवाफी आक्रमणमा २४ जना इजरायली नागरिकको मृत्यु भएको छ।
इरानका सर्वोच्च नेता अयातुल्ला अलि खामेनेईले इजरायलसँग युद्ध सुरु भएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत खामेनेईले इजरायलले कडा मूल्य चुकाउनुपर्ने बताउँदै कुनै पनि दया नदेखाउन चेतावनी दिए।
इरानले इजरायलतर्फ २५ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। इजरायलले पनि ५० भन्दा बढी विमानहरूबाट तेहरानको हतियार उत्पादन केन्द्रहरूमा आक्रमण गरेको छ।
मङ्गलवार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’बिना सर्त आत्मसमर्पण’ गर्न इरानलाई भनेका थिए। ट्रम्पले खामेनेई कहाँ कहाँ लुकेका छन् भन्ने थाहा पाएको तर अहिले उनलाई नमार्ने बताएका थिए।
ट्रम्पको भनाइलाई काउन्टर दिँदै खामेनेईले कुनै पनि हालतमा आत्मसमर्पण हुन नसक्ने बताउँदै अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका छन्। उनले इजरायललाई सहयोग गर्न अघि बढे अमेरिकामाथि पनि आक्रमण गर्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी राष्ट्रिय टेलिभिजनमार्फत पठाइएको सन्देशमा खामेनेईले अमेरिकाले सुनेर राखोस् – हामी कहिल्यै आत्मसमर्पण गर्ने छैनौँ भनेका छन्। यदि इजरायलविरुद्धको युद्धमा अमेरिकी सेना मिसिएको खण्डमा त्यसको परिणाम गम्भीर हुने उनको चेतावनी छ।
इरानी सरकारले सबै नागरिकलाई आफ्नो मोबाइलबाट ह्वाट्सएप डिलिट गर्न आदेश दिएको छ। इजरायलले ह्वाट्सएपमार्फत इरानीहरूको जानकारी सङ्कलन गरिरहेको इरानको आरोप छ। तर ह्वाट्सएपले भने इरानको आरोप अस्वीकार गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.