चितवन—मनसुन सक्रिय भएसँगै देशभर वर्षा र त्यसबाट हुने दुर्घटनाको त्रासले पुरानै घाउ चिथोरेको छ। शनिवार चितवनमा भएको दुर्घटनामा एकै परिवारका तीन जनासहित ७ जनाको ज्यान गएको छ भने देशका विभिन्न क्षेत्रमा गत वर्षजस्तै बाढी, पहिरो र आवास गुमाउने त्रास फेरि फर्किएको छ।
चितवनको राप्ती नगरपालिका–३ स्थित खहरे पुलमा बस र इभी गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा सात जनाको ज्यान गएको छ। मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी गाडी र प्रदेश १–०१–००१ख ३५८३ नम्बरको बस ठोक्किँदा मृत्यु भएका अधिकांश इभीमा सवार यात्रुहरू रहेका सशस्त्र प्रहरीले जनाएको छ।
मृतकमध्ये हेटौँडा उपमहानगरपालिका–५ का सरोज पहाडी, उनकी आमा मैयाँकुमारी न्यौपाने र श्रीमती रेनुका कँडेल छन्। रेनुका कँडेल गर्भवती थिइन्। अन्य मृतकमध्ये हटिया–३ का सोमप्रसाद रुपाखेती, रौतहटकी सिता कुमारी, इभी चालक राजु थिङ र सनाखत नभएकी एक महिला रहेका छन्। गम्भीर घाइते ७ मध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो भने अन्य २४ जना अझै भरतपुरका विभिन्न अस्पतालमा उपचाररत छन्।
यो घटना नेपालमा इभी (इलेक्ट्रिक भेइकल) भित्रिएपछि भएको पहिलो दुर्घटना होइन। यसअघि पनि मकवानपुर र सिन्धुलीमा इभी दुर्घटनाले ज्यान लिने घटना भइसकेको छ।
बाढी पहिरोको त्रास
बर्सात सुरु भएसँगै खोल्साखोल्सीमा पानीको बहाव बढेको छ। काठमाडौँको बागमती धमिलो बग्न थालेको छ भने पहाडी क्षेत्रमा खोलानालाको गर्जन फेरि सुनिन थालेको छ। गत वर्ष असोजमा बाढी र पहिरोले घर गुमाएका नागरिक अझै अस्थायी टहरोमै छन्। उनीहरू अझै पनि स्थायी बासको प्रतीक्षामा छन्।
काभ्रेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत वर्ष असोजका बाढी पहिरो पीडितहरूलाई पहिलो किस्ता वितरण गरिएको बताए। पहिलो किस्ताले अस्थायी आवास बनाएका पीडितहरूले स्थायी बसोबासको व्यवस्था गर्न नसकेको अध्यक्ष लामाले जानकारी दिए।
२०७२ को भूकम्प, कोभिड महामारी र हरेक वर्षको बाढी पहिरोले ठुलो जनधनको क्षति गराएको छ। सरकारले नै यो वर्ष बर्सातमा २० लाख नागरिक प्रभावित हुने अनुमान सार्वजनिक गरिसकेको छ। तर, गत वर्ष नख्खुमा हेलिकप्टरसमेत पठाउन नसकेको सरकारप्रति विश्वास देखिएको छैन।
स्थानीय तहका केही प्रयास
विपद् व्यवस्थापनमा स्थानीय तह भने केही सक्रिय देखिन्छन्। कञ्चनपुरको बेदकोट नगरपालिकाले वडा–विपद् समिति गठन गरी समन्वयमा पूर्वतयारी अघि बढाएको उपमेयर तुलसी जोशी बताउँछिन्।
त्यस्तै, दार्चुलाको अपिहिमाल गाउँपालिकाले वडास्तरीय विपद् स्वयंसेवक तालिम सुरु गरेको अध्यक्ष भक्त सिंह ठेकरे बोहरा बताउँछन्। त्रिपाल, म्याट, डोरीजस्ता सामग्री तयारीमा राखेका र वडामा २५–२५ जना स्वयंसेवक तयार पर्दै गरेको उनले सुनाए।
तर सङ्घीय र प्रदेश सरकार अझै सत्ता समीकरणमै व्यस्त देखिन्छन्। विपद् राहतको नाममा ओठे वाचा र आश्वासनमात्र बाँड्ने प्रवृत्ति कायमै छ।
मनसुनसँगै वर्षा आउने निश्चित छ। तर विपद् आउँदा हाम्रो तयारी भने अझै पनि अनिश्चित छ। यही असुरक्षाको पीडादायी कथा चितवनको सडकदेखि पहाडका खोँचसम्म छरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.