काठमाडौं – किशोर किशोरीहरूमा बढ्दो यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न विद्यालय तहबाटै यौन शिक्षा अनिवार्य रूपमा पढाइनुपर्ने आवश्यकता विज्ञ तथा सरोकारवालाहरूले औँल्याएका छन्।
सीप सूचना समाज (सिसो) नेपाल र प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा असार ६ र ७ गते काठमाडौँमा सञ्चारकर्मीहरूका लागि आयोजित दुई दिने ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा यौन शिक्षा अनिवार्य रूपमा पढाइनुपर्ने आवश्यकता औँल्याइएको हो।
सिसो नेपालका कार्यकारी निर्देशक एवम् कार्यक्रमका प्रशिक्षक खुमानन्द सुवेदीले विद्यालय तहमा यौन शिक्षा समावेश गर्न सकेको खण्डमा किशोर अवस्थादेखि नै उत्पन्न हुने धेरै समस्या घट्न सक्ने विश्वास व्यक्त गरे।
उनले भने, “किशोर किशोरीहरूमा जानकारीको अभावले गर्दा अनावश्यक समस्यामा पर्ने, यौन दुर्व्यवहारको सिकार हुने, मानसिक तनाव व्यहोर्ने, र स्वास्थ्यसम्बन्धी जोखिममा पर्ने घटनाहरू दोहोरिरहेकै छन्। कानुनले दिएको अधिकारबारे उनीहरूलाई थाहा छैन। त्यसैले विद्यालयबाटै यौन शिक्षा सुरु गरिएमा उनीहरूले आफैँलाई सुरक्षित राख्न सक्छन्।”
सुवेदीले यौन र प्रजनन स्वास्थ्य शिक्षा अध्यापन गराउनका लागि विद्यालयमा छुट्टै शिक्षकको दरबन्दी व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत अघि सारे। उनले अन्य विषयमा जस्तै स्वास्थ्य शिक्षा विषयमा पनि योग्य जनशक्ति आवश्यक भएकाले यसको प्रभावकारी रूपमा अध्यापन गर्न सकिने बताए।
उनले साङ्गीतिक कार्यक्रम अनिवार्य विषय बनाइराख्दा स्वास्थ्य शिक्षा भने ऐच्छिक राखिनु मनासिब नहुने बताए। “यौन शिक्षा अनिवार्य बनाइनुपर्छ। कानुनले व्यवस्था गरेका अधिकारका बारेमा युवा तथा किशोर किशोरीलाई केही जानकारी छैन,”उनले भने,“पाठ्यक्रममा आधारित बृहत्तर यौनिकता शिक्षा आवश्यक छ।”
यौन तथा प्रजनन स्वास्थ्यका विज्ञ डा. खेमबहादुर कार्कीले यौन स्वास्थ्य सबैका लागि जीवनभर उपयोगी विषय भएको बताए। उनले भने, “यौन आवश्यकता सबैलाई हुन्छ, तर समाजमा यसबारे सहज रूपमा बोल्न सकिने अवस्था छैन। बालबालिका र किशोर किशोरीहरूमा विशेष रूपले यसको असर देखिन्छ।”
डा. कार्कीले हालको अस्वस्थ जीवनशैली, मानसिक तनाव, गरिबी, नशालु पदार्थको प्रयोग, अनियन्त्रित इन्टरनेट प्रयोगजस्ता कारणहरूले किशोर अवस्थामा यौन सम्बन्धी विकृति र दुर्बलता बढिरहेको बताए। उनका अनुसार विद्यालय र सञ्चारमाध्यमबाट सही जानकारीको पहुँच पुर्याउन सके समस्या न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे।
उनले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आमनागरिकलाई बुझाउन नसक्दा कतिपय घरेलु हिंसा बढेको सुनाए। “अस्वस्थ्यकर जीवनशैलीले पनि मानिसमा यौन दुर्बलताको समस्या बढाइरहेको छ। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सामाजिक सङ्कीर्णता तथा गलत भाष्य व्याप्त छन्, यसलाई चिर्नुपर्छ।”
त्यस्तै, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पदमराज जोशीले सञ्चारमाध्यममा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी समाचार पर्याप्त नआएको भन्दै चिन्ता व्यक्त गरे। “यो अत्यन्त संवेदनशील विषय हो,”उनले भने,“त्यसैले समाचार सङ्कलनदेखि सम्प्रेषणसम्म सम्पूर्ण प्रक्रिया गम्भीर र मर्यादित ढङ्गले गरिनुपर्छ। सञ्चारमाध्यम युवायुवतीहरूका लागि सूचनाको भरपर्दो स्रोत बन्न सक्नुपर्छ।”
जोशीले यो संवेदनशील विषय भएकाले यसबारेमा समाचार सङ्कलन, सम्प्रेषण गर्दा गोपनीयताका साथै भाषामा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यौन तथा प्रजनन स्वास्थ्य विषयमा रिपोर्टिङ गर्दा समुदायस्तरका दृष्टिकोण, सामाजिक कलङ्क, कानुनी प्रावधान र स्वास्थ्य सेवामा पहुँचजस्ता पक्षहरूमा अझ खोजमूलक ढङ्गले प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको स्वास्थ्यका विषयमा पनि विज्ञ तथा सरोकारवालाहरूले अभिमुखीकरण गराए।
समलिङ्गी विवाह दर्ता हुन थालेको तर, पछिल्लो समय लिङ्ग परिवर्तनका विषयमा दुई समुहबीच विवाद देखिएको बताइयो। विवाह गरिसकेका, बच्चाको बुबाको लिङ्ग परिवर्तन गर्नु कति उचित कति अनुचित छलफलको विषय भएको सहभागीहरूले बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको एउटा एकताबद्ध आवाज आएमा काम गर्न सबैलाई सहज हुनेमा जोड दिइयो।
अभिमुखीकरणमा सहभागी सञ्चारकर्मी ज्योति पन्थीले भने,“हामीकहाँ अझै पनि यौन स्वास्थ्यलाई व्यक्तिगत वा लाजको विषय ठान्ने गरिन्छ तर, यसको प्रत्यक्ष असर जनस्वास्थ्य, महिला अधिकार, र किशोर मनोविज्ञानसँग जोडिएको हुन्छ। पत्रकारिता मार्फत हामी यसलाई समावेशी र सुरक्षित संवादको विषय बनाउनेतर्फ लाग्नुपर्छ।”
नेपालको संविधानले सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको कार्यान्वयनमा शैक्षिक संस्था र सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने कार्यक्रमका सहभागीहरूको निष्कर्ष थियो।
सिसो नेपालका अनुसार, पछिल्लो समय किशोर किशोरीहरूमा अवाञ्छित गर्भ, यौनजन्य रोग, यौनजन्य हिंसा, मानसिक तनावलगायतका समस्या बढ्दो क्रममा छन्। तीमध्ये धेरै समस्याको जरो ‘सूचनाको अभाव’ हो।
विद्यालय तहमै यौन शिक्षा समावेश गर्नु, अभिभावक तथा शिक्षकलाई समेत अभिमुखीकरण गर्नु, सञ्चारमाध्यमलाई प्रभावकारी भूमिका खेल्न सक्षम बनाउनु र कानुनी तथा नीतिगत तहमा स्पष्टता ल्याउनु अहिलेको प्रमुख आवश्यकता रहेको विज्ञ तथा सरोकारवालाहरूले बताए।
अभिमुखीकरणमा धनुषा, महोत्तरी, बाँके, बर्दिया, कालिकोट, डोल्पा,जुम्लालगायत जिल्लाका सञ्चारकर्मीको सहभागिता थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.