काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पत्रकार सम्मेलन गर्दै परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
यस वर्षको नतिजामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन्। जसमध्ये ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
यसपटक कुल ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी परीक्षा दिएका थिए, जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी थिए।
२०८१ सालको एसईई नतिजाले सुधार देखाएको छ। २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अहिलेसम्मकै सर्वाधिक उच्च पास प्रतिशत हो। यद्यपि, एसईईमा पहिलो पटक यति ठुलो सुधार देखिएको भने होइन। अघिल्लो वर्ष, अर्थात् २०८० सालमा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।
गत वर्षको तुलनामा यसपालि १३.९५ प्रतिशतले पास दर वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष झन्डै ५२ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए भने यसपालि ३८.१९ प्रतिशत मात्र एनजी भएका छन्।
परीक्षा नियन्त्रण कार्यालयले १२६ परीक्षार्थीको परीक्षा रद्द गरेको छ। उनीहरूको परीक्षा अनियमितता, जालसाजी वा परीक्षाको अनुशासन उल्लङ्घनका कारण रद्द गरिएको हो।
ग्रेड वृद्धिका लागि पूरक परीक्षा साउन २९ गतेदेखि सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ। पूरक परीक्षा दिन चाहने विद्यार्थीले बोर्डको तोकिएको समयसीमाभित्र फारम बुझाउनु पर्नेछ।
परिणाम हेर्ने विधि
विद्यार्थी तथा अभिभावकले एसईईको नतिजा विभिन्न माध्यमबाट हेर्न सक्नेछन्। नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइलबाट १६०० डायल गरी निर्देशन अनुसार नतिजा थाहा पाउन सकिनेछ। साथै, “SEE” लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
त्यस्तै, बोर्डको आधिकारिक वेबसाइट लगायतका अन्य साझेदार वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ। नतिजा हेर्दा आधिकारिक स्रोतहरूमा भर पर्न तथा धैर्य अपनाउन बोर्डले आग्रह गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.