काठमाडौं—नेपालमा एचआइभी सङ्क्रमणको अवस्था अझै पनि गम्भीर रहेको पुष्टि भएको छ। सरकारी र अन्तर्राष्ट्रिय संस्थाहरूको ताजा विवरणअनुसार हालसम्म मुलुकभर अनुमानित ३० हजारदेखि ३२ हजार ७३५ जना मानिस एचआइभी सङ्क्रमित रहेका छन्।
यीमध्ये सबैभन्दा बढी सङ्क्रमण दर पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष समलिङ्गी (एमएसएम) र तेस्रोलिंगी (टिजी) समुदायमा देखिएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरूमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७७ हजार ३४० रहेको छ भने तेस्रोलिंगी समुदायमा ३२ हजार ८९५ जनामा सङ्क्रमण पुष्टि भएको छ। ती समुदायका मानिसहरू उच्च जोखिममा रहे पनि लामो समयसम्म उपेक्षित र बहिष्कृत रहँदै आएका छन्।
सङ्क्रमणको अवस्था र जोखिम समूहहरूको वास्तविकता काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो। केन्द्रका जनस्वास्थ्य प्रशासक अस्मिता ओझाका अनुसार, नेपालमा एचआइभी सङ्क्रमणको अवस्था सामान्य जनसङ्ख्यामा नभई विशेष जोखिम समूहहरूमा केन्द्रित छ, जसले यसलाई ‘केन्द्रित महामारी’को स्वरूपमा राखेको छ।
नेपालमा एचआइभी सङ्क्रमणको फैलावटमा सबैभन्दा बढी असर पारेका समुदायहरूमा समलिङ्गी, तेस्रोलिंगी, महिला यौनकर्मी, लागुऔषध प्रयोगकर्ता र विदेशबाट फर्किएका आप्रवासी कामदारहरू पर्छन्।
यी समुदायहरूमा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा बढी रहेको पाइएको छ, जुन सङ्क्रमण नियन्त्रणको दृष्टिले गम्भीर अवस्था मानिन्छ।
एमएसएम र ट्रान्स समुदायका धेरै मानिसहरू अझै पनि खुला रूपमा समाजमा पहिचान दिन सक्दैनन्। सामाजिक अस्वीकार्यता, अपमान र हिंसाको डरले गर्दा उनीहरू यौन सम्पर्कलाई गोप्य राख्छन् र सुरक्षित यौन व्यवहार, जस्तै कन्डम प्रयोग वा नियमित परीक्षण गर्न सक्दैनन्।
तेस्रोलिंगी व्यक्तिहरू भने स्वास्थ्य सेवाको पहुँचमै जान सक्दैनन्। उनीहरूलाई अस्पतालमा अपमानित गरिने, परीक्षण केन्द्रमा अस्वीकार गरिने वा उनीहरूको यौनिकता र पहिचानकै कारण अपमान हुने गुनासोहरू बारम्बार सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा एचआइभीको सङ्क्रमण चुपचाप फैलिँदै गएको देखिन्छ।
राष्ट्रिय यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्कले पुष्टि गरेको छ कि महिला भन्दा पुरुषमा सङ्क्रमण दर दोब्बर रहेको छ। यो अवस्था पनि समलिङ्गी, तेस्रोलिंगी समुदायमा सङ्क्रमण दर उच्च हुनुले देखाएको हो।
साथै, पछिल्लो वर्ष मात्रै ६१४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ५६९ जनाको मृत्यु एड्ससँग सम्बन्धित कारणले भएको छ।
नेपालमा हालसम्म एचआइभी सङ्क्रमित गर्भवती महिलाको सङ्ख्या २ सय २७ जना रहेको छ। उनीहरूलाई सङ्क्रमण सिधै नवजात शिशुमा सर्न नदिनको लागि उपचारको व्यवस्था भइरहेको केन्द्रले जनाएको छ।
महिला यौनकर्मीहरूमा पनि सङ्क्रमणको जोखिम उच्च छ। यौन व्यवसायमा संलग्न १ लाख १५ हजार ९१९ जनामा एचआइभी परीक्षण गरिएको छ। धेरैजसो अवस्थामा ग्राहकद्वारा कन्डम प्रयोगमा अस्वीकार, आर्थिक मजबुरी, सामाजिक तिरस्कार र स्वास्थ्य सेवाको पहुँच नहुँदा सङ्क्रमणको जोखिम बढेको छ।
त्यस्तै, सुई प्रयोग गरेर लागुऔषध लिने व्यक्तिहरू ४४ हजार ३५० जना छन् भने कारागारमा रहेका २७ हजार ८३९ जना कैदीहरूमा पनि सङ्क्रमण परीक्षण गरिएको छ।
गोपनीयताको अभाव
स्वास्थ्य सेवामा काम गर्ने धेरैजसो कर्मचारीहरू अझै पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र जोखिम समूहप्रति संवेदनशील छैनन्।
समलिङ्गी वा तेस्रोलिंगी समुदायका व्यक्तिहरू अस्पताल वा परीक्षण केन्द्रमा जाँदा उनीहरूको पहिचानकै कारण प्रश्न, अपमान, वा प्रत्यक्ष इन्कार भोग्नुपर्ने अवस्था देखिएको छ।
यस्ता व्यवहारले सङ्क्रमित वा जोखिममा रहेका व्यक्तिहरू स्वास्थ्य सेवा लिनेभन्दा लुक्न थालेका छन्, जसले सङ्क्रमण फैलिने चक्रलाई अझ बलियो बनाइरहेको छ।
सरकारले यसअघि विभिन्न नीतिगत प्रतिबद्धता जनाएको भए पनि नीतिहरू कागजमा सीमित रहेका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, यौन व्यवसायी वा सुई प्रयोगकर्ता समुदायका लागि लक्षित बजेट भए पनि निकास प्रक्रिया ढिलो, कार्यक्रमहरू प्रभावहीन, र दिगो संरचना अभाव देखिएको छ।
एआरटी सेवाको सङ्ख्या सीमित भएकाले सङ्क्रमितहरूलाई नियमित औषधि पाउन कठिन हुने गरेको छ। अझै पनि धेरै सङ्क्रमितहरू डाटा प्रणालीबाहिर छन्, जसले समग्र सङ्क्रमण अवस्थाको मूल्याङ्कन गर्नै कठिन बनाएको छ।
यो समस्या अझै गम्भीर
सङ्क्रमण दर नियन्त्रण गर्न कानुनी, नीतिगत र औषधीय उपाय पर्याप्त छैनन्। सामाजिक संरचनामा परिवर्तन आवश्यक छ। समलिङ्गी–तेस्रोलिंगी समुदायले सम्मानजनक जीवन जिउन पाउनु मानवअधिकारको विषय हो।
तर, उनीहरू आज पनि पारिवारिक बहिष्कार, रोजगारीबाट वञ्चित, सार्वजनिक अपमान र स्वास्थ्य सेवामा अपमानको सिकार भइरहेका छन्।
नेपालको संविधानले स्वास्थ्यमा पहुँच, भेदभावरहित सेवा र गोपनीयताको अधिकार प्रत्याभूत गरे पनि व्यवहारमा त्यो लागू नहुनुले सङ्क्रमण नियन्त्रण अभियान कमजोर भएको विज्ञहरू बताउँछन्।
नेपालमा एचआइभी सङ्क्रमणको अवस्था यद्यपि सामान्य जनसङ्ख्यामा फैलिएको छैन, तर जोखिममा रहेका समुदायमा गहिरो रूपमा जरा गाडेर बसेको छ। यो केवल स्वास्थ्यको होइन, सामाजिक न्याय, समानता र मानवअधिकारको गम्भीर सवाल हो।
यदि सङ्क्रमणको शृङ्खला तोड्न सक्नुपर्छ भने, औषधि मात्र होइन-सम्मान, सेवा पहुँच, सामाजिक स्वीकृति र कानुनी सुरक्षा दिन सक्नुपर्छ। अन्यथा, सङ्क्रमण दर घटाउने सपना अझै पर रहनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.