काठमाडौं – देशको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस भित्र गुट–उपगुटको राजनीति दीर्घरोगझैं फैलँदै गएको स्पष्ट देखिएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीचको अन्तर्द्वन्द्व र आन्तरिक असहमति खुलस्तरूपमा सतहमा आएको छ।
बैठकमा पहिलो दिन नै संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीका उद्योगपति नेता विनोद चौधरीको भूमिकामाथि प्रश्न उठाएपछि स्थिति तातेको हो। जवाफमा नेता चौधरीले आफूविरुद्ध गुटको नाममा अवरोध सिर्जना नगर्न चेतावनी दिँदै “पार्टीमा योगदान दिन चाहनेहरूलाई गुटको नाममा किनारा लगाउनु अमान्य छ” भन्ने सन्देश दिएका छन्।
बैठकमा सहभागी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पार्टी गुट–उपगुटको चपेटामा परेको बताए। “वरिष्ठ नेताहरूले नै केन्द्रीय बैठकमा व्यक्ति लक्षित टिप्पणी गर्न थाले भने त्यो पार्टीका लागि राम्रो सङ्केत होइन,” सिवाकोटीले स्पष्ट रूपमा औँल्याए।
उनको भनाइसँग मिल्दोजुल्दो स्वर काँग्रेस नेतृ डिला सङ्ग्रौलाले पनि सुनाइन्। उनले पार्टी गुटगत विवादका कारण कमजोर बनेको उल्लेख गर्दै भनिन्, “सरकार संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन सकिरहेको छैन, र नेताहरूको धारणा पनि अलमलिएको देखिन्छ।”
सङ्ग्रौलाले भातृसंस्थाबीचको विवादलाई पनि गम्भीर रूपमा उठाउँदै पार्टी नेतृत्वले तत्काल हस्तक्षेप गरेर समाधान निकाल्नुपर्नेमा जोड दिइन्। बैठक भित्र नेताहरू बहसमा जुटिरहेका बेला सडकमै पार्टीका दातृसंस्थाहरू आमरण अनशनमा बसेका छन्।
अर्का केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीका नेताहरूको अभिव्यक्तिमाथि पनि नियन्त्रण आवश्यक रहेको धारणा राखे। बैठकमा उनले भने, “सदन र बाहिर काँग्रेस सांसदहरूले लक्ष्मण रेखा मिचेर बोल्ने गरेका छन्, पार्टीले त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्ने खालको संयन्त्र बनाउनु जरुरी छ।”
सानेपा बैठकको तेस्रो दिन बुधवार दिउँसो १२ः३० बजे फेरि बैठक बस्ने कार्यतालिका तय भएको छ। १३ वटा विभिन्न विषयमा नेताहरूले धारणा राखिरहेका छन् भने अन्तिम दिन सभापति शेरबहादुर देउवाले सबै विषयमा जवाफ दिनेछन्।
पार्टी भित्रको असन्तुलन, सरकारमा काँग्रेसको भूमिका, भातृसंस्थाको असन्तुष्टि, र साङ्गठनिक बेथिति जस्ता विविध विषय उठ्दै जाँदा काँग्रेसको आगामी यात्रा अझै चुनौतीपूर्ण देखिन थालेको विश्लेषकहरूको बुझाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.